न्यायाधीशको छनोट र असन्तुष्टिका आवाज



कमलप्रसाद इटनी
न्यायाधीश त्यस्तो महत्वपूर्ण पद हो जसमा आसीन व्यक्तिले सत्य–असत्य र न्याय–अन्यायलाई राजहंशले दूध र पानी छुट्याएजस्तै गरी छुट्याउन सक्नुपर्दछ । यसरी छुट्याउन सक्छ भन्ने विश्वास पनि गरिन्छ । इन्साफसम्बन्धी महत्वपूर्ण जिम्मेवारी बहन गर्ने क्रममा आफ्नो अन्तष्करणबाट नै न्याय÷अन्याय छुट्याउन सक्ने साहस र शक्ति न्यायाधीशमा रहेको हुन्छ । न्यायाधीशमा हुने निष्पक्षता, शुद्धता, सक्षमताजस्ता गुणहरुलाई आधार मानेर नै न्यायाधीशको पदलाई एउटा प्रतिष्ठित पदको रुपमा मानिन्छ ।

यही शुद्धता, निष्पक्षता र सक्षमताको विश्वासमा प्रतिष्ठित पदको रुपमा रहेको न्यायाधीशलाई विभिन्न देशहरुमा माई लर्ड, योर लर्डसिप, योर अर्नर आदि आदरार्थी शब्दहरुले सम्बोधन गर्ने गरिन्छ भने हामीकँहा न्यायाधीशलाई श्रीमान् शब्दले सम्बोधन गरिने प्रचलन रहेको छ । न्यायाधीशलाई भगवान्लाई जस्तै यति पवित्र शब्दको सम्बोधनबाट पुकार गर्नुको पछाडि विभिन्न कारण छन् । प्रथमतः न्यायाधीशले आफूसमक्ष प्राप्त विवादलाई स्वतन्त्र, निष्पक्ष र निर्भिकरुपमा समाधान गरी अन्यायमा परेकालाई न्याय दिने महत्वपूर्ण कार्य गर्दछ । साथै न्यायाधीशले न्यायसम्पादनको क्रममा आफ्नो र अर्काको भन्दैन । यसै गरी न्यायाधीशले कुनै किसिमको दबाबमा काम गर्दैन । यिनै विश्वासले गर्दा न्यायाधीशलाई सम्मानपूर्वक सम्बोधन गरिन्छ ।

एउटा न्यायाधीशसँग लाखौं मानिसको न्याय प्राप्तिको भविष्य जोडिएको हुन्छ । न्यायपालिकाको भविष्य र न्यायपालिकाको पवित्रता न्यायाधीशमा नै निर्भर रहेको हुन्छ । एउटा न्यायाधीशसँग नागरिकको न्याय प्राप्तिको आशा र राष्ट्रको भविष्य जोडिएको हुन्छ । त्यही न्यायाधीश खराब भइदियो भने न त नागरिकले न्याय प्राप्तिको अनुभूति गर्न सक्छन्, न न्यायपालिकाको स्वतन्त्रता र राष्ट्रको गरिमा नै उँचो हुन सक्छ । तर महत्वपूर्ण जिम्मेवारी बोक्ने सम्मानित र पवित्र पदको रुपमा रहेको न्यायाधीशको नियुक्तिको विषयमा यहाँ जहिल्यै विवाद हुने गरेको पाइन्छ ।

न्यायाधीश खराब भइदियो भने न त नागरिकले न्याय प्राप्तिको अनुभूति गर्न सक्छन्, न न्यायपालिकाको स्वतन्त्रता र राष्ट्रको गरिमा नै उँचो हुन सक्छ । तर महत्वपूर्ण जिम्मेवारी बोक्ने सम्मानित र पवित्र पदको रुपमा रहेको न्यायाधीशको नियुक्तिको विषयमा यहाँ जहिल्यै विवाद हुने गरेको पाइन्छ ।

हामीकहाँ न्यायाधीशको नियुक्ति र सिफारिसकोे जिम्मेवारी पाएको न्यायपरिषद्ले न्यायाधीशको छनोट एवं नियुक्ति गर्दा पटक–पटक विवाद हुने गरेको पाइन्छ । यसरी विवाद आउनुको मूल कारण न्यायाधीश चयन गर्दा राम्रा मानिसभन्दा पनि हाम्रा मानिसको खोजी गरी नियुक्ति गरिने गलत परिपाटी नै हो । विगतमा भएका नियुक्तिलाई लिएर भएका विरोधका थुप्रै दृष्टान्तहरु सबैका सामु छर्लंग रहेका छन् । केही समयअगाडि प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको न्यायपरिषद्ले उच्च अदालतमा ८० जना न्यायाधीशको नियुक्ति गर्दा न्यायपरिषद्का सदस्यहरु बीचमा नै एकमत हुन नसकी केही सदस्यले बैठक छाडेर हिँडेको र मध्यरातमा न्यायाधीशको चयन गरियो भनी व्यापक विरोध भएको थियो । जुन नियुक्तिसम्बन्धी विवाद सर्वोच अदालतमा परी खारेज भइसकेको छ ।

त्यस्तै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि न्यायाधीश नियुक्ति प्रकरणमा विवादमुक्त रहन सकेनन् । विगतमा जस्तै यसपटक पनि सर्वोच्च अदालत र उच्च अदालतका लागि न्यायाधीशको सिफारिस एवं नियुक्तिलाई लिएर थुप्रै असन्तुष्टिहरु पोखिएका छन् । व्यापकरुपमा विरोध भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको न्यायपरिषद्ले नियुक्तिका लागि सिफारिस गरेका न्यायाधीशहरुलाई लिएर व्यापक विरोधहरु आएका छन् । हाल भएको न्यायाधीश छनोटसम्बन्धमा केही कानुन व्यवसायी वृत्तबाट पिरोध आएको छ भने न्यायपालिकाका कर्मचारीहरु र पूर्वन्यायाधीश समाजबाट समेत विरोधका विज्ञप्ती जारी भएका छन् ।

स्वयं न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनबाट समेत व्यापक विरोधका आवाजहरु आए । न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनबाट त न्यायाधीशको नियुक्तिका लागि संसदीय सुनुवाइसम्बन्धी व्यवस्था नै हटाउनुपर्ने, न्यायपरिषद्को संरचनालाई परिवर्तन गरी परिषद्भित्र न्यायाधीशहरुको बाहुल्यता हुनुपर्ने, न्यायाधीश नियुक्ति गर्दा कुनै राजनीतिक दलमा नलागेका स्वतन्त्र व्यक्तिलाई नियुक्ति गर्नुपर्ने जस्ता विषयमा जोड दिँदै घोषणापत्रसमेत जारी गर्ने काम भयो ।

न्यायाधीश नियुक्तिका क्रममा राजनीतिक दलको भागवण्डाका आधारमा र आफ्ना नजिकका मानिसहरुलाई नियुक्ति गर्ने गलत परम्परा विगतका दिनदेखि नै नभएको भने होइन । यही गलत परम्पराकै कारण इमानदार, दक्ष र सक्षम व्यक्तिहरु धेरै पछि पर्दै आएका छन् । नियुक्तिमा कुनै निश्चित मापदण्ड तय गरिँदैन । दक्षताभन्दा पनि अनुहार हेरेर नियुक्ति गरिने परिपाटीको कारण पनि हरेकपटकको नियुक्तिमा विवाद आउने गरेको पाइन्छ । हुन त एउटा पवित्र संस्थामा प्रतिनिधित्व हुने व्यक्तिको जीवनका सकारात्मक र नकारात्मक दुवै पक्षको बारेमा चर्चा हुनु सामान्य हो तर सधैँ न्यायाधीश नियुक्तिको विषयमा ठूलो मतभेद र विवाद आउनु भने राम्रो मान्न सकिन्न ।

 

। दक्षताभन्दा पनि अनुहार हेरेर नियुक्ति गरिने परिपाटीको कारण पनि हरेकपटकको नियुक्तिमा विवाद आउने गरेको पाइन्छ । हुन त एउटा पवित्र संस्थामा प्रतिनिधित्व हुने व्यक्तिको जीवनका सकारात्मक र नकारात्मक दुवै पक्षको बारेमा चर्चा हुनु सामान्य हो तर सधैँ न्यायाधीश नियुक्तिको विषयमा ठूलो मतभेद र विवाद आउनु भने राम्रो मान्न सकिन्न ।

 

मुख्य कुरा न्यायाधीश नियुक्तिको जिम्मेवारी पाएका व्यक्तिहरुले पनि नियुक्तिका क्रममा राम्रा मान्छेलाई पाखा लगाएर हाम्रा मान्छेलाई अवसर प्रदान गर्ने कार्य गर्नुहुँदैन । राजनीतिक गन्ध आउने गरी नियुक्ति गरिनेजस्तो विगतदेखिको खराब परम्परालाई उनीहरुले त्याग्न सक्नुपर्दछ । नियुक्तिको विरोधमा उत्रनेले पनि विरोधलाई आफ्नो निहित स्वार्थको खेल बनाउनु कदापि उचित हुँदैन । अक्षम व्यक्तिलाई नियुक्ति गरिएकोमा भएको विरोधलाई स्वीकार गर्न सकिन्छ तर आफू पर्न नसकेर वा आफ्नो निकटको मान्छे नपरेर गरिएको विरोधलाई कदापि स्वीकार गर्न सकिन्न ।

न्यायाधीशको नियुक्तिका विषयमा हामी कहाँ मात्र होइन अन्य देशहरुमा पनि विवाद हुने गरेको पाइन्छ । विगत केही महिनाअगाडि मात्र अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानाको नियुक्तिको क्रममा थुप्रै विरोधहरु आएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका ब्रेट क्याभानाको सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ भइरहँदा अदालतबाहिर उनको विरोधमा नाराबाजी चलिरहेको थियो ।

यसै गरी सन् १९७३ मा भारतको सर्वोच्च अदालतमा कृष्ण आएरलाई न्यायाधीश नियुक्त गर्दा त्यहाँका सर्वोच्च अदालत बार एसोसिएसनका सोली सोराब्जीलगायत करिब १५० जना कानुन व्यवसायीहरुले विरोध गरेका थिए । कृष्ण आएरको विरोध गर्नुको मुख्य कारण उनी माक्र्सवादी कम्युनिस्ट विचारधारा पृष्ठभूमिका रहेछन् । भित्री रहस्य यही भएकाले नै उनलाई नियुक्ति गर्नुहुँदैन भनेर विरोध आएको थियो । तर न्यायाधीश कृष्ण आएरले आफ्नो कार्यकालमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट सम्पादन गरी आफूलाई भारतको सर्वोच्च अदालतको अब्बल न्यायाधीशको रुपमा चिनाउन सफल भएका थिए । कृष्ण आएरको महत्वपूर्ण योगदानलाई कसैले बिर्सन सक्तैन । तिनै कृष्ण आएरको विरोध गर्नेहरुले नै पछि पछुतो मान्नुपर्ने अवस्थासमेत आयो ।

कुनै व्यक्ति न्यायाधीश हुनुअगाडि कुनै न कुनै राजनीतिक विचारधारासँग आस्था राख्न सक्छ, कुनै राजनीतिक दलसँग नजिक हुन सक्छ । त्यसलाई अन्यथा मान्न सकिन्न । जब त्यस्तो व्यक्ति न्यायाधीश हुन्छ, तत्पश्चात् उसबाट हुने कार्यमा कुनै राजनीतिक स्वार्थ झल्कनुहुँदैन । हिजो जुनसुकै राजनीतिक विचारधारासँग आस्था राख्ने भए पनि न्यायाधीशजस्तो पवित्र पदमा आसीन भएपछि न्यायाधीशले कुनै भनसुन र दबाबमा परेर होइन, स्वतन्त्ररुपमा आफ्नो कार्यसम्पादन गर्नुपर्दछ ।

हालै भएको न्यायाधीशको सिफारिसलाई लिएर विरोध भइरहँदा प्रधानन्यायाधीशले सिफारिस भएका व्यक्तिलाई हिराको संज्ञा दिनुभएको छ । न्यायपालिकाले हिरा पाउनु गौरवको कुरा हो तर हिराको गुण आफू टल्कन्छ, अरुलाई टल्काउँदैन । न्यायपालिकालाई त्यस्तो हिराको आवश्यकता पर्दछ, जसले आफूलाई होइन, न्यायपालिकालाई चम्किलो बनाउन सकोस् । साथै स्वतन्त्र न्यायपालिकाको गरिमालाई उज्यालो बनाउन सकोस् । अन्यायरुपी अन्धकारमा रुमल्लिएकाहरुलाई न्यायरुपी ज्योतिको माध्यमबाट बाटो देखाउन सकोस्, जसको योगदानको चर्चा गरेर भावी पुुस्ता पनि नथाकून् ।
(लेखक इटनी अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्