प्रदेश–३ को सुरक्षा गोष्ठी शुरु



हेटौंडा ।
गृह मन्त्रालयको आयोजनामा प्रदेश–३ स्तरीय सुरक्षा गोष्ठी हेटौंडामा सुरु भएको छ । सुरक्षाका सम्बन्धमा देखापरेका समस्या र चुनौतीका विषयमा सबै पक्षलाई जानकारी गराउने उद्धेश्यले गोष्ठी आयोजना गरिएको हो ।

प्रदेशस्तरको सुरक्षा गोष्ठीमा चार वटै तहका सुरक्षा निकाय प्रमुखसहितको सहभागिता छ । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथी सुवर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुबेदीलगायतको सहभागिता छ ।

नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आईजीपीहरुले सुरक्षाका विषयमा प्रस्तुतिकरण गरेका छन् । गृह मन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, गृह मन्त्रालयअन्तर्गत् विपद् तथा द्वन्द्व व्यबस्थापन महाशाखाका गरी सात वटा प्रस्तुतिकरण भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा दिनभर प्रस्तुतिकरण र अपराह्न खुला सत्रमा छलफल, अनुभव आदानप्रदान लगायत भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

औपचारिक उद्घाटन गृहमन्त्रीबाट
दुई दिन चल्ने सुरक्षा गोष्ठीमा बुधबार गृहमन्त्री रामबहादुर थापा, प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, गृह सचिव प्रेमकुमार राई, प्रदेश प्रमुख सचिव आनन्दराज ढकाललगायतको सहभागिता हुनेछ । औपचारिक कार्यक्रम उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्ने बताइएको छ ।

प्रदेशका सबै सुरक्षा समिति सहभागी
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपद प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख तथा सेनाका जिल्लास्तरका प्रमुख गरी ६५ जनाको सहभागिता छ । संघीय सुरक्षा निकाय प्रमुख, प्रदेशस्तरका सुरक्षा निकाय प्रमुखको कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ तामाङले बताउनुभयो ।

प्रस्तुतिकरणमा प्रदेशका गृहमन्त्रीलाई बोलाइएन
सुरक्षा गोष्ठी चलिरहँदा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेललाई बोलाइएन । नेपाल सरकारका सुरक्षा निकायका प्रमुखहरुले प्रदेशस्तरकोे सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्ने महत्वपूर्ण कार्यक्रममा सहभागी गराउनुको साटो उद्घाटनको औपचारिक कार्यक्रममा मात्र प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला मन्त्रीलाई बोलाइएको छ ।

बुधबारको कार्यक्रमबारे आफू जानकार नभएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले बताउनुभयो । प्रदेश–३ को समग्र सुरक्षा अबस्था, शान्तिसुरक्षामा देखिएका समस्या र चुनौती समाधानका लागि गर्नुपर्ने कामहरुबारे छलफल गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको हो । स्थानीय सरकार सञ्चालन भइरहेको अबस्थामा गरिएको गोष्ठीले सुरक्षा निकायलाई जिम्मेवारी वहन गर्न स्पष्ट दिशानिर्देश गर्ने बताइएको छ ।

विभिन्न राजनीतिक दल र समूहको आवरणमा हुने अवाञ्छित गतिविधि, सीमा अपराध र शान्तिसुरक्षालाई प्रभावित पार्ने कुनै गतिविधि निस्तेज पार्न सुरक्षा गोष्ठीले स्पष्ट कार्ययोजना बनाउने बताइएको छ ।

सरकारी कार्ययोजना र निर्देशन कार्यान्वयनको अबस्थाबारे पनि यहाँ छलफल हुनेछ । जिल्ला र प्रदेशस्तरबाट समाधान गर्न सकिने समस्या र चुनौती औंल्याएर समाधानका लागि एकीकृत अवधारणा बनाउन पनि गोष्ठीले सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, सामाजिक अपराधी, विकास निर्माणमा वाधा पु¥याउनेलगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएको र शान्तिसुरक्षा, अपराध अनुसन्धान, विपद् व्यबस्थापनलगायत कार्यसँगै सुशासनमा पनि सुरक्षा निकायहरु सुझबुझसाथ आफ्नो तर्फबाट जुट्नुपर्ने बारे गोष्ठीले यसबारे नीति निर्माण तथा तल्लो तहसम्म साझा धारणा बनाउन सहज हुने बताइएको छ ।

मुख्यमन्त्रीबिना ‘सुरक्षा’ गोष्ठी
हेटौंडा, (नेस)÷प्रदेश–३ स्तरीय दुई दिने सुरक्षा गोष्ठी हेटौंडामा शुरु भएको छ । गृह मन्त्रालयको आयोजनामा भएको सुरक्षा गोष्ठीले प्रदेशका १३ वटै जिल्लाको सुरक्षा कसरी मजबुत बनाउने भन्ने मुल उद्धेश्य राखेको छ ।

तर, गोष्ठीमा मंगलबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहभागी गराइएन । प्रदेशस्तरको सुरक्षासम्बन्धि नीति निर्माणसमेत गोष्ठीबाट गरिँदैछ । तर, कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पौडेल नै बेखबर हुनुहुन्छ ।

प्रदेश सरकारका प्रमुखलाई नै सहभागी नगरएर प्रदेशको सुरक्षा कसरी मजबुत बनाउन सकिन्छ भन्ने प्रश्न उब्जिएको छ । प्रदेशस्तरको सुरक्षा गोष्ठीमा मुख्यमन्त्रीलाई नबोलाइएकोमा मन्त्रीहरुले आपत्ति जनाएका छन् ।

प्रदेशभरको शान्तिसुरक्षाको जस÷अपजस मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले लिनुपर्छ । तर, सुरक्षाजस्तो सम्वेदनशील गोष्ठीमा मुख्यमन्त्रीलाई सहभागी नगराउने पक्ष राम्रो नभएको एक मन्त्रीले बताए ।

प्रदेश सुरक्षामा एक अर्ब २१ करोड
प्रदेशको शान्तिसुरक्षा मजबुत बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब २१ करोड खर्च गर्दैछ । सुरक्षाको विषयमा संघीय सरकारले मात्र नभएर प्रदेश सरकारले पनि चासो लिनुपर्ने भएकोले ठूलो रकम खर्च गर्न लागिएको आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो ।

प्रदेश सरकारले १३ जिल्लामा ६० वटा प्रहरीचौकी भवन निर्माण गर्दैछ । विभिन्न प्रहरी कार्यालयका लागि १५ वटा गाडी, ७० वटा मोटरसाइकल खरिद गर्न लागिएको मन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

सुरक्षासम्बन्धि अधिकार दिइएन
प्रदेशका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिचालन गर्ने अधिकार प्रदेश सरकारलाई दिइएको छैन । प्रदेशका प्रजिअ र प्रहरी प्रमुख संघीय सरकारका गृह मन्त्रालयले परिचालन गर्दै आएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई प्रदेशका प्रजिअ र प्रहरी प्रमुखलाई परिचालन गर्ने अधिकार छैन । प्रहरी सरुवा गर्ने अधिकारसमेत नभएको र सुरक्षा निकायहरु प्रदेशमातहत नआएको प्रदेशका आन्तरिक मामिला मन्त्री जम्कट्टेलले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्