‘नेयमार भन्दा डेम्बेले उत्कृष्ट’



काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले युवा खेलाडी ओसमान डेम्बेले नेयमारभन्दा पनि उत्कृष्ट खेलाडी भन्दै प्रशंसा गरेका छन् ।

सन् २०१७ मा विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोना छाड्दै पीएसजीसँग नेयमार आबद्ध बनेपछि बार्सिलोनाले उनको स्थानमा बोरुसिया डर्टमण्डबाट डेम्बेलेलाई १०.५ करोड युरोमा बार्सिलोना भित्र्याएको थियो ।

स्पेनिस टिभी टिभीईसँग कुरा गर्दै बार्टोमेउलेले भनेका छन्, ‘नेयमारको बिक्रीबाट प्राप्त रकमले हामीले डेम्बेले र फिलिपे काउन्टिन्होको परियोजना शुरु गरेका हौं ।’ ‘अहिले डेम्बेलेको स्तर नेयमारभन्दा उत्कृष्ट छ । उनी अहिले नेयमारभन्दा राम्रो खेलाडी बनेका छन् र आफूलाई यहाँ घुलमिल गराइसकेका छन् ।’

‘काउन्टिन्हो पनि राम्रो खेलाडी हुन्, उत्कृष्ट छन् र समयसँगै थप राम्रो बन्दै गइरहेका छन् । बार्सिलोनामा खेल्न त्यति सजिलो पनि छैन । उनलाई प्रशिक्षकले पनि विश्वास गरेका छन् । उनीबाट अझै राम्रो फुटबल हेर्न पाउने हामीले अपेक्षा गरेका छौँ ।’

‘उनी बार्सिलोनामा मै रहनेछन् । किनभने उनी फरक खेलाडी छन् । बार्सिलोनालाई फरक खेलाडी चाहिन्छन् ।’ ५६ वर्षीय अध्यक्षले अन्तरवार्ताको दौरान नयाँ सिजन खेलाडीहरुको अनुबन्धको बारेमा पनि कुराकानी गरेका थिए ।

बार्सिलोनाले आयाक्सबाट यसअघि नै फ्रेंकी डि जोङलाई ७.५ करोड युरोमा अनुबन्ध गरिसकेको छ भने बार्टोमेउले क्लबकै डिफेन्डर म्याथिज डी लाइटलाई पनि क्लबले नियाली रहेको खुलासा गरेका छन् । उनले एन्टोनियो ग्रिजमानलाई क्लबले अनुबन्ध गर्ने तयारी नगरेको पनि स्पष्ट पारे । एजेन्सी

प्रतिक्रिया दिनुहोस्