जाने होइन त गाउँको सुन्दरता बढाएको नारच्याङ झरनामा रमाउन !



प्रताप बानियाँ, म्याग्दी ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको नारच्याङ झरनामा पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको हो ।

समुन्द्री सतहबाट १ हजार ४ सय मिटरदेखि १ हजार ७ सय मिटरको उचाइमा नारच्याङ झरना रहेको छ । झरनाको मात्रै उचाई ३ सय मिटरभन्दा बढी छ । मानिसको बासस्थानभन्दा पनि पहिलेदेखि त्यस ठाउँमा झरना रहेको नारच्याङवासीले अनुमान गरेका छन् । आफ्नै खालको विशेषता बोकेको नारच्याङ झरनामा म्याग्दीसहित देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्भने विदेशी पर्यटक पनि नारच्याङमा बास बसेर झरनामा जान्छन् । स्थानीय आमा समूहको भवनमा बास बसेका पर्यटकहरु एकपटक झरनामा पुगेरै फर्किन्छन् ।

नारच्याङ झरनाभन्दा माथि मानववस्ती नभएको हुँदा झरना एकदमै सफा रहेको छ भने झरनाको तल फेदीमा भुमेथानको मन्दिर पनि रहेको छ । झरनाको सुन्दरतासँगै भुमेथानको मन्दिरले थप आकर्षण समेत थपेको छ । हरेक वर्षको जेठ वा असार महिनामा पुजाआजा हुँदै आइरहेको उक्त मन्दिरमा भाकल तथा पुजा गरेमा मनले आँटे, ताकेको र चिताएको काम बन्ने जनविश्वास रहिआएको छ । झरना र मन्दिर जानका लागि त्यहाँसम्म पुग्न विगतमा क्लबको पहलमा गोरेटो बाटो बनाइएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पूर्जाले बताए ।

पछिल्लो समय झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी खिच्नकै लागि भए पनि पर्यटकहरु नारच्याङ झरनामा जाने गरेका छन् । झरनामा पुगेर आसपासका ठाउँमा साइटसिनको निकै मज्जा लिन सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबजारबाट ३ घण्टाको यात्रामा सवारीसाधनमार्फत नारच्याङ झरनामा पुग्न सकिन्छ । वनभोजका लागि पनि मानिसहरु नारच्याङ झरनामा जाने गरेका छन् । विगत केही समययता नारच्याङ झरनाको अवलोकनका साथै घुम्न र रमाउन जाने पर्यटकहरु बढ्दै जान थालेका छन् ।

नारच्याङ झरनाले गाउँको सुन्दरता बढाउनुका साथै गर्मीयामको समयमा सितलता समेत प्रदान गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार झरनाको पानीबाट गाउँमा खानेपानीको आपूर्ति, सिँचाई गरिनुका साथै खोलामा माछा मार्ने गरिएको छ । साइटसिनको आकर्षण बोकेको सुन्दर नारच्याङ झरना बहुउपयोगी रहेकाले पछिल्लो समय फोटोसेसन गर्नेहरु ह्वात्तै बढेको उहाँले जानकारी दिनुभयो । नारच्याङ झरनाले गाउँमा थप रौनकता थपेको हुँदा नारच्याङ गाउँमा नेपाली पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको अध्यक्ष गुरुङको भनाइ छ ।

झरनामा पुगेर प्रकृतिसँगै रमाउन पाउँदा आफूलाई निकै आनन्दको अनुभूति भएको नारच्याङको भ्रमणमा निस्कनुभएका पोखराका अमृत पौडेलले अनुभव सुनाउनुभयो । म्याग्दी जिल्लामा रहेका थुप्रै पर्यटकीय स्थलहरुको विकास र प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ । यता, पछिल्लो समय पर्यटकीयस्थलका रुपमा चिनिएको नारच्याङ झरनाको विकास र प्रवद्र्धन गर्नका लागि योजना बनाएर अगाडि बढिने नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले जानकारी दिनुभयो । झरनासम्म पुग्न पक्की पदमार्ग निर्माण गरिने, रेलिङ हालिने र व्यवस्थित सिँढीहरु बनाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्