प्रधानमन्त्री ओलीले भेरी–बबई डाइभर्सनको ‘ब्रेक थ्रु’ गर्दै



काठमाडौं । प्रधानमन्त्री के पी ओलीले ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना ’ को मंगलबार ब्रेक थ्रु गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली मंगलबार बिहान ९ बजे आयोजना स्थल प्रस्थान गर्दै हुनुहन्छ ।

भेरी नदीको पानी बबई नदीमा खासालेर बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमीनमा सिंचाई सुविधा पु¥याउने आयोजना हो ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना ।’ ‘बहुउद्देशीय आयोजना ’ बाट ४८ मेगावाट विद्युत उत्पादन गरिने लक्ष्य पनि छ । स्वदेशी लगानीमा निर्मित राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत ‘भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गत भेरी नदीको पानी बबई नदीमा खसाल्न १२ किलोमिटर लामो सुरुङ खनिएको छ ।

पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन र तेस्रो चरणमा बर्दिया तथा बाँके जिल्लाका खेतियोग्य जमीनमा सिँचाई गर्ने अयोजनाको विस्तारित लक्ष्य रहेको छ । छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेमा बाँध बाँधेर सुरुङबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा झारिने छ । सुर्खेतको रामघाटस्थित चिप्लेमा बाँध निर्माण पनि शुरु गरिएको छ । भेरी नदीमा बाँध निर्माण र पावरहाउस निर्माणमा ६ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

चनियाँ कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र सिंचाई विभागबीच २०७१ माघमा आयोजना निर्माणको ठेक्का सम्झौता भएको थियो । २०७२ जेष्ठ २१ देखि आयोजना निर्माणको थालनी भएको हो । २०७६ चैत्र १५ भित्र आयोजनाको निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको छ ।

चिनियाँ कम्पनीले १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार १ सय ४१ रुपैयाँ ५२ पैसामा ठेक्का लिइएको थियो । ऊर्जा मन्त्रालयले विद्युत उत्पादन गर्ने र सिंचाई मन्त्रालयले सिंचाईको काम गर्ने आयोजनाको काम बाँडफाँड गरिएको थियो । पछि सिंचाई मन्त्रालय आफैले विद्युत उत्पादन गर्ने कामको पनि जिम्मेवारी लिएकोे थियो ।

प्रतिक्रिया दिनुहोस्