चेन्नाईको कोलकातामाथि जित



नयाँ दिल्ली, (एजेन्सी)
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपरकिंग्सले लगातार जित हात पारेको छ । \

आईतबार भएको खेलमा चेन्नाईले कोलकाता नाइट राइडर्सलाई उसकै मैदान इडेन गार्डेन्समा ५ विकेटले माथ दिएको हो । चेन्नाईले कोलकाताले दिएको १ सय ६२ रनको लक्ष्य ५ विकेटको क्षेतिमा २ बल बाँकी राखी भेटाएको थियो । कोलकाताले निर्धारित २० ओभरमा १ सय ६१ रन बनाएको थियो । महेन्द्रसिंह धोनीसहित ५ ब्याटसम्यान १ सय २१ रनको योगफलमा पवेलियन फर्केको स्थितिमा सुरेस रैना र रवीन्द्र जडेजाले जित दिलाए ।

रैना र जडेजाले नटआउट हुँदै क्रमशः ५८ रन र ३१ रन जोडे । कोलकाताका सुनील नारायण र पियुष चावलाले २÷२ विकेट लिएका थिए । योसँगै चेन्नाई ७ जित हात पारेर १४ अंकसहित शीर्ष स्थानमा अडिग रह्यो भने कोलकाताको ८ अंक छ ।
कोलकाताको ब्याटिङमा क्रिस लिनले सर्वाधिक ८२ रनको योगदान दिएका थिए । चेन्नाईका बलर इमरान ताहिरको बलिङमा अरु ब्याटसम्यान जम्न नसकेपछि कोलकाताले ठूलो लक्ष्य दिन सकेन ।

ताहिरले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिएका थिए । ताहिरले लिनलाई डीप स्क्वायरमा शार्दुल ठाकुरद्वारा क्याच आउट गराएपछि कोलकाताको ब्याटिङको गति ठमिएको थियो । आउट हुन अघि लीनले ७ चौका र ६ छक्का प्रहार गरेर चेन्नाईका बलरलाई तर्साएका थिए ।

अर्को खतरनाक ब्याटसम्यान आन्द्रे रसेललाई पनि ताहिरले नै आउट गरेका थिए । उनले छक्का प्रहार गरेपनि अर्को बलमा क्याच आउट भएका थिए । उनले १० रन मात्रै बनाउन सकेका थिए । दिनेश कार्तिक पनि १८ रनमै सीमित भए । उनलाई ठाकुरले आउट गरेका थिए । शुभमन गिलले १५ रन बनाएर पवेलियनको बाटो लिएका थिए । यो खेलमा चेन्नाईका फाफ डुप्लेसिसले ४ क्याच लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्