बुद्धकृष्णले छेडे साताैं पटक जिब्रो



पुष्कर बुढाथोकी, भक्तपुर । चैत मसान्तको दिन मध्यपुरठिमीको बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाए पछि सुरु हुने जिब्रो छेड्ने जात्रा सोमबार मध्यान्न सम्पन्न भएको छ । बुद्ध कृष्ण बाग श्रेष्ठले सातौं पटक जिब्रो छेडाउदै जात्रा सकिएको छ ।

बुद्धकृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले उहांको जिब्रो छेडिएको हो । जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर बुद्ध कृष्णले नाट्यश्वरको पूजा गर्नुभएको थियो । यो उपत्यकाको नै एक जिब्रो छेड्ने जात्रा आफैमा साहसिक कार्य गर्ने जात्राको रुपमा लिइन्छ ।

यस भन्दा अघि चार पटक सम्म जिब्रो छोड्नु भएका बुद्ध कृष्णले २०७४ सालदेखि पुनः जिब्रो छेड्न थाल्नु भएको थियो । वर्षौदेखिको परम्परालाई निरन्तरता दिन जिब्रो छेडेको उहाँले बताउनुभयो ।

चैत मसान्तका दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर मध्यान्हमा कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

यसअघि २०६१ सालदेखि २०६४ सालसम्म जिब्रो छेड्नु भएका उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म जिब्रो छेड्नु भयो भने पछिल्ला २ वर्ष पनि पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले यसवर्ष सातौ पटक जिब्रो छेड्नु भएको हो ।

२०६२ साल अगाडि उहाँकै दाजु कृष्णचन्द्र वाग श्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर उक्त परम्परा जोगाउनु भएको थियो । जुजुभाईले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण वाग श्रेष्ठले र १२ वर्ष उहाँका दाजु कृष्णचन्द्र बागश्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु भएको थियो ।

हरेकवर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी भैरब मन्दिर प्राङ्गणमा लिङ्गा्े उठाएपछि हजारौ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहदै आएको छ ।

बोडेको नीलबाराहीसंग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिनसके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहदै आएको छ । हालसम्म को–को व्यक्तिले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि स्थानीय जनाकारहरुका अनुसार पछिल्लो तथ्यांकअनुसार हर्कनर सिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, जुजुभाइ बास श्रेष्ठले ८ र बुद्धचन्द्र बाग श्रेष्ठले ७ पटक जिब्रो छेडिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्