टेम्पोसहित पाँच लाख बराबरको अवैध सामान बरामद




भद्रपुर ।
तस्करीमा संलग्न सवारी साधनसहित ५ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
गण २ झापाबाट खटिएको प्रहरी गस्ती टोलीले झापाको दमक र भद्रपुर नगरपालिका क्षेत्रबाट विभिन्न प्रकारका अवैध सामग्री बरामद गरेको सो कार्यालयले जनाएको छ ।

भारतको डिगल वैङ्कबाट मे १ ह ६५६४ नम्बरको टेम्पोमा राखेर ल्याउँदै गरेको अवस्थामा दमक ८बाट सोमबार विहान सामान बरामद गरिएको डिएसपी ओजिस ओलीले बताउनुभयो ।

शङ्का लागि चेकजाँच गर्दा टेम्पोमा रहेको विभिन्न प्रकारका १० पोका कपडा र भद्रपुरबाट ९७ किलो भारतीय दुध पाउडर ,अमुल नामको ३० किलो घिउ,दुइ बोरा मोटरपार्टस,७६ किलो चियापत्ती,अमुल वटर लगायतका सामान फेला परेकोले अवैध ठहराइ टेम्पोसहित सामान नियन्त्रणमा लिएको डिएसपी ओलीको भनाइ छ । सामान र टेम्पोको अनुमानित ४ लाख ९१ हजार दुइसय १२ रुपैयाँ मूल्य कायम गरिएको उहाले जानकारी दिनुभयो ।

बरामद सामान र टेम्पोलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको मूल्य भन्सारले कायम गरेको उहाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्