कुलेन्द्र र मीनाले नचाए सिन्धुलीमाढी



बुद्ध नेपाली/सिन्धुलीमाढी

सिन्धुलीमाढीमा आयोजित प्रादेशिक प्रांगारिक परिकार मेला तथा सिद्धबाबा नव वर्ष आगमन साँझमा शनिबार साँझ पछिल्लो समयका चर्चित लोकदोहारी गायक कुलेन्द्र विक र अर्की चर्चित गायिका मीना निरौलाले सिन्धुलीका दर्शकलाई नचाएका छन्।

कुलेन्द्र र मीनाले नयाँ वर्ष २०७६ को पूर्वसन्ध्यामा आयोजित कार्यक्रम हेर्न आएका दर्शकलाई उपहारस्वरूप आफ्ना गित सुनाउँदै दर्शकलाई नचाएका हुन्। साँझ ८ बजेसम्म चलेको कार्यक्रममा कुलेन्द्र र मीनाले उपस्थित दर्शकलाई निरन्तर नचाउँदै रमाइलो गराएका थिए।

कुलेन्द्रले २०७५ सालमा चर्चामा रहेको लोकगीत सालको पात टपरी हुने हे बरै नहुने सल्लैको, बाटो छेकेर, जिम्बाल बाउको छोरी, रुमाल हल्लाई हल्लाई, नजाउ है सानु पधेंरीमा सहित आफ्ना एक दर्जनभन्दा बढी बहुचर्चित गीत गाउँदा चौरमा धूलो उड्ने गरी दर्शक नाचेका थिए। सालको पात टपरी हुने हे बरै नहुने सल्लैको बोलको गीतलाई दर्शकबाट पटक–पटक वान्स मोर आउँदा कुलेन्द्रले गीत दोहोर्याएर नगाई सुख्खै पाएनन्।

चैत महिनाको गर्मीयाममा कुलेन्द्रले गाएको गीतमा नाचेर पसिना चुहाएका दर्शकले उक्त गीत धेरै पटक दोहोर्याएर गाउन लगाएका थिए। उनले यो गीत मात्रै तीन पटकभन्दा बढी दोहोर्याएर गाए। उनले गाएको गीतमा साथ दिँदै प्रदेश सांसद विनोद खड्कालगायतका अतिथिसमेत छमछमी नाचे।

त्यस्तै गायिका मीना निरौलाले पनि आफ्ना आधा दर्जन हिट गीत सुनाउँदै सिन्धुलीका दर्शकलाई नचाइन्। मीनाले गाएको लुट–२ को ठमेल बजार र पर्वको काले दाइ, चोली अलि छोटो के लाएथेंलगाएतका आधा दर्जन गीतले धेरै दर्शकलाई नचायो।

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र स्थानीय रेडियो सिद्धबाबाको आयोजना तथा बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र काठमाडौं, कृषि ज्ञान केन्द्र सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीको सहआयोजनामा प्रादेशिक प्रांगारिक परिकार मेला तथा सिद्धबाबा नव वर्ष आगमन साँझ आयोजना गरिएको हो। मेलामा विभिन्न खाद्य तथा अर्गानिक उत्पादनका स्टल राखिएको थियो। शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको मेलामा अन्य कलाकारले पनि सांगीतिक मनोरञ्जन दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्