जेभियर इन्टरनेशनल कलेजका ऋतिक “ए” लेभलमा विश्व प्रथम



काठमाडाैँ ।
जेभियर इन्टरनेसनल कलेज कालोपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ‘ए’ लेभल परीक्षामा विश्व प्रथम भएका छन्। ब्रिटिस काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरिका विद्यार्थीमा जेभियर इन्टरनेसनलका यादवले ‘वल्र्ड टप’ गरेको जानकारी दिइएको हो।

उनले कम्प्युटर साइन्स र फिजिक्समा वल्र्ड टप गर्दै केमेस्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन्। कार्यक्रममा वल्र्ड टप गर्नेसहित विभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जीसीई) कार्यक्रमअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ‘ए’ लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए।

जेभियर इन्टरनेसनलकै विद्यार्थीले यसअघि पनि वल्र्ड टप गरेको सो अवसरमा जानकारी दिइयो। ‘ए’ लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नामसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो। ‘ए’ लेभल संसारभर एउटै शैक्षिक कार्यक्रम हो। यसलाई नेपालको शिक्षासँग तुलना गर्दा प्लस टु सरह मानिन्छ। जसरी दश जोड दुईको कोर्स २ वर्षको हुन्छ, ‘ए’ लेभलको पनि त्यही नै हो। ११ कक्षालाई ब्क् र १२ कक्षालाई एटु भनिन्छ। यी दुवै कोर्ष सकिएपछि विद्यार्थीको ‘ए’ लेभल सकिन्छ।
क्याम्ब्रिज विश्वविद्यालयको जीसीईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ। विश्वका प्रायजसो ख्यातीप्राप्त विश्वविद्यालयमा प्रवेश पाउन ‘ए’ लेभललाई फलामे ढोकाका रूपमा लिए हुन्छ।

‘ए’ लेभलमा ६० वटा विषयमध्ये विद्यार्थीले आफ्नो रुचि, देशको अवस्था सुहाउँदो हुने गरी छानेर पढ्न पाउँछन्। यसको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ।

विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट यसको पठनपाठन हुन्छ। विद्यार्थीले ६० विषयमध्ये कुनै ४ वटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ‘ए’ लेभल पूरा गरेको मानिन्छ, तर विद्यार्थीले चाहे थप विषयमा परीक्षा दिन सक्नेछन्। यसले विश्वविद्यालय शिक्षाका लागि श्रेष्ठता कायम गरेको छ। ‘ए’ लेभल पढेका विद्यार्थीले बेलायत, अमेरिका, क्यानडा र युरोपका सबै मुलुकका विश्वविद्यालयको ४ वर्षे कोर्समा ३ वर्ष मात्र पढे पुग्छ। किनकि ‘ए’ लेभल पास गरेकाहरूले ४ वर्ष पढ्न नपर्ने मान्यता छ।

प्रतिक्रिया दिनुहोस्