दिवाना र ललिता सेमिफाइनलमा



कविरस शर्मा, नेपालगञ्ज
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा ९औं महिला बक्सिङ प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

प्रदेश ५ को बांकेस्थित खजुरामा भएको बक्सिङ अन्तर्गत महिला ४८ केजी तौल समूहको खेलमा कर्णाली प्रदेशकी अनु नेपाली क्वार्टरफाइनलमा पुगिन् । आयोजक प्रदेश ५ की रिता धरलालाई ५–० ले पराजित गर्दै उनी अन्तिम आठमा पुगेकी हुन् । यस्तै पुरुष ४९ केजी तौल समूहमा प्रदेश ७ (सुदूर पश्चिम) का भानु विष्टले प्रदेश १ का विशाल राईलाई ४–१ ले पराजित गरे । यसैगरी ५२ केजी तौल समूहमा गण्डकी (प्रदेश ४) का अमिर गुरुङ र प्रदेश ३ का बुद्ध ग्याम्जो लामा क्वाटरफाइलमा प्रवेश गरेका छन् ।

गण्डकीका अमिरले कर्णाली (प्रदेश ६) का जिवन कुमार पुनलाई नकआउटको आधारमा पराजित गरे भने प्रदेश ३ का बुद्धले सुदूरपश्चिम प्रदेशका उत्तम चन्दलाई अंकको आधारमा ५–० ले हराएका थिए ।
त्यसैगरी ५६ केजी तौल समूहमा प्रदेश ५ का नविन घर्ती र नेपाल आर्मीका पुरन सुनुवार अन्तिम आठमा प्रवेश गरे । नविनले प्रदेश ३ का सुजन पौडेललाई तथा पुरनले कर्णालीका जिनेश गुरुङलाई समान ५–० ले हराएका थिए ।

अर्को खेलमा ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बू ईजमले कर्णाली प्रदेशका सागर श्रेष्ठलाई नकआउट गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे । ४९ केजी तौल समूहको खेलमा प्रदेश ३ का मदनकृष्ण डंगोल र पुरुष ६४ केजी तौलमा प्रदेश ४ का सुजन चो चांगी मगरले भने वाकओभर प्राप्त गरि अर्को चरणमा सहजै प्रवेश गरे ।

श्यान्टु र नवितालाई थप स्वर्ण
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४०औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताअन्तर्गत नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले अर्को थप स्वर्ण जितेका छन् ।


शनिबार दाङको घोराही कभर्ड हलमा भएको पुरुष एकल फाइनलमा श्यान्टुले प्रहरीकै प्रदीप रोकालाई ११–१, ११–५, ११–६, ११–५ ले हराएका हुन् । त्यस्तै महिला एकलतर्फ नविताले एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११, १२–१० ले हराएकी थिइन् । दुई सेट लगातार जितेपनि नविताकी नन्द एलिनाले तेस्रो र छैटो सेट जिते आफ्नी भाउजुलाई सहजै स्वर्ण जित्न दिइनन् । श्यान्टु र नविताको यो आठौंमा दोस्रो स्वर्ण हो । अघिल्ला दिन मिक्स डबल्समा दुबैले स्वर्ण जितेका थिए । साथै गत सातौं राष्ट्रिय खेलकुदमा पनि यी खेलाडीले एकलमा स्वर्ण हात पारेका थिए ।

हक्कीमा प्रदेश ५ सेमिफाइनलमा
नेपालगञ्जको मंगलप्रसाद माविको खेल मैदानमा चलिरहेको पुरुष हक्कीमा प्रदेश ५ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश ५ ले शनिबार सुदूरपश्चिम प्रदेशलाई २–१ गोलले पराजित गरेको हो । टोलीका लागि शशी दर्लामी र मनिष गुरुङ्गले गोल गरेका थिए । सुदूरपश्चिमको तर्फबाट भीमदत्त भट्टले एक गोल गरे । दोस्रो खेलमा कर्णाली प्रदेश र प्रदेश १ ले बराबरी खेलेका छन् । तेस्रो खेलमा आर्मीले प्रदेश ३ लाई हरायो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्