आठौं बक्सिङ प्रतियोगिता सुरु



कविरस शर्मा, नेपालगञ्ज ।
बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा ९औं महिला बक्सिङ प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

शुक्रवारदेखि प्रदेश ५ को बांकेस्थित खजुरामा भएको प्रतियोगिताको महिला ४८ केजी तौल समूहको खेलमा कर्णाली प्रदेशकी अनु नेपालीले आयोजक प्रदेश ५ की रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छन् । यस्तै पुरुष ४९ केजी तौल समूहमा प्रदेश ७ (सुदूर पश्चिम) का भानु विष्टले प्रदेश १ का विशाल राईलाई अंकको आधारमा ४–१ ले पराजित गरे । यसैगरी ५२ केजी तौल समूहमा गण्डकी (प्रदेश ४) का अमिर गुरुङ र प्रदेश ३ का बुद्ध ग्याम्जो लामा क्वाटरफाइलमा प्रवेश गरेका छन् । गण्डकीका अमिरले कर्णाली (प्रदेश ६) का जिवन कुमार पुनलाई नकआउटको आधारमा पराजित गरे भने प्रदेश ३ का बुद्धले सुदूरपश्चिम प्रदेशका उत्तम चन्दलाई अंकको आधारमा ५–० ले हराएका थिए ।

त्यसैगरी ५६ केजी तौल समूहमा प्रदेश ५ का नविन घर्ती र नेपाल आर्मीका पुरन सुनुवार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नविनले प्रदेश ३ का सुजन पौडेललाई तथा पुरनले कर्णालीका जिनेश गुरुङलाई समान ५–० को अंकको आधारमा पराजित गरे । त्यसैगरी ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बू ईजमले कर्णाली प्रदेशका सागर श्रेष्ठलाई नकआउटको आधारमा पराजित गर्दै क्वाटरफाइलमा स्थान सुरक्षित गरेका थिए । पुरुष ४९ केजी तौल समूहको खेलमा प्रदेश ३ का मदनकृष्ण डंगोल र पुरुष ६४ केजी तौलमा प्रदेश ४ का सुजन चो चांगी मगरले भने वाकओभर प्राप्त गरि क्वाटरफाइनलमा प्रवेश गरे ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले दिप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए । उक्त अवसरमा स्वर्ण पदक विजेता खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर प्राप्त गर्ने बताउदै सदस्य सचिव बिष्टले भन्नु भयो,– राखेपले यथासिघ्र वैदैशिक प्रशिक्षणको अवसर मिलाउने छ “बक्सिंगको साख गर्विलो छ, म विश्वत छु नेपालका बक्सरले १३औं सागमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गौरव बढाउने छन् ।”

फोटो ः ४८ केजी तौल समूहको खेलमा आयोजक प्रदेश ५ की रिता धरला निलो पोशाक र प्रदेश ५ की अनु नेपाली प्रतिस्पर्धा गदै ।

प्रतिक्रिया दिनुहोस्