रंगशाला बचाउन फुटबल प्रतियोगिता



भद्रपुर ।
जीवनभर खेलकुदमा नै समय दिएर नेपाललाइ चिनाउने खेलाडीहरु एक ठाउँमा जम्मा हुने भएका छन् । ‘उमेरमा राष्ट्रका लागि बुढेसकालमा स्वास्थ्यका लागि भन्दै’ चन्द्रगढी भेट्रान क्लब भद्रपुरले विहीबारबाट मेचीरङ्गशालामा आयोजना गर्ने तेस्रो नकआउट फुटबल प्रतियोगितामा यस्तो जम्काभेट हुने भएको हो ।

सुविधा सम्पन्न रङ्गशालामा फुटबल प्रतियोगिता नगराएर पहुँचका भरमा अन्य चौरमा खेल भइरहेकोले भद्रपुरमा रहेको मेची रङ्गशालालाइ बचाइराख्न प्रतियोगिताको आयोजना गरिएको क्लबका सचिव युवराज ढकालले बताउनुभयो । हालसम्म यो रङ्गशालामा उत्कृष्ट प्रतियोगिता नभएकोले क्लबले वर्षेनि प्रतियोगिता सञ्चालन गराउदै आएको ढकालले जनाउनुभयो ।

नयाँ वर्षको आगमनसँगै पुराना खेलाडीलाइ भाइचाराको सम्बन्ध राख्ने समेत गरी प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक अमित राइले बताउनुभयो । नेपालको पहिलो भेट्रान क्लब भएपनि विभिन्न कारणले मोफसलमा परेको उहाँको भनाइ छ । खेल चैत्र २८ देखि वैशाख ४ गतेसम्म हुनेछ । ३६ वर्षमाथिका जिल्ला भरका ९ र मोरङ्को एउटा गरी १० वटा भेट्रान क्लबले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा बिर्तामोड, धरमपुर, धाइजन, काँकडभिट्टा, राजघाट, लखनपुर, सिभीसी रातो र पूर्वाञ्चल बिर्तामोड टिम रहेका छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ नगद एकहजार र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । विजेता र उपविजेताले क्रमश ५१ र ३१ हजार नगदसहित शिल्ड पाउने भएका छन् । अनुमानित अढाइलाख खर्च लाग्ने जनाइएको छ भने वचत रकम क्लबको स्तरोन्तिका लागि प्रयोग गरिने क्लबले जनाएको छ । रकमको लागि दाताहरुको सहयोग जारी रहेको जनाइएको छ । प्रतियोगिताको उद्घाटन भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठले गर्ने आयोजकले जानकारी दिएको छ । उद्घाटन खेलमा सिभीसी निलो र खुदुनाबारीबिच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्