दुधबाट तिन महिनामा ३१ लाखको कारोबार



धनवीर दाहाल,रुकुम ।
रुकुम पश्चिममा पहिलो पटक स्थापना भएको दुध संकलन केन्द्रले तिन महिनामा ३१ लाखको कारोवार गरेको छ । नागरिक दुग्ध सहकारी संस्थाले तिन महिनामै ३१ लाख ३२ हजार कोे कारोबार गरेको सहकारीका अध्यक्ष धिरन शेर्पालीले बताउनुभयो ।

नागरिक दुग्ध सहकारीका अनुसार, ३९३ दिनको फरकमा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको दूध नेपालगञ्ज पठाइन्छ । जिल्लाका विभिन्न १४ स्थानमा संकलन केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दूध बिक्री वितरण गर्ने गरेको छ ।

गाउँमा किसानले उत्पादन गरेको दूध नियमित रुपमा बिक्री हुन थालेपछि किसानहरु पनि खुशी भएका छन् । कर्णाली प्रदेश सरकार अन्र्तगत भुमि व्यवस्था तथा कृषि मन्त्रालयको सहयोगमा संचालनमा आएको दुग्ध सहकारीको मुख्य मन्त्री महेन्द्रबहादुर शाही, कृषि मन्त्री बिमला के.सी लगाएतले अनुगमन समेत गर्नुभएको छ । मुख्यमन्त्री शाहीले थप व्यवस्थित गर्नका लागी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

सहकारीले यहाँको दूधलाई सहज रुपमा जिल्लाबाहिर निर्यात गर्नको लागि र गाउँगाउँबाट सहकारीमा दूध जम्मा गर्नको लागि तीनवटा गाडीको व्यवस्था गरेको छ । दुई वटा गाडीले गाउँमा उत्पादन गरेको दूधलाई संकलन गर्ने र एउटा चिलिङ् भ्यानले नेपालगन्जमा लिइरहेको छ ।

दैनिक ३ सय ३० जना किसानले उत्पादन गरेको दूध जम्मा हुने गरेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्