नेपाललाई सान्त्वना जित



काठमाडौं, (नेस)
दुई खेल हारेर पहिल्यै बाहिरिसकेका दुई टोलीबीचको भिडन्तमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बाजी मारेको छ ।

मंगलबार म्यानमारमा भएको टोकियो ओलम्पिक २०२० एशिया क्षेत्रअन्तर्गत महिला फुटबलको दोस्रो चरणको छनोटमा नेपालले इन्डोनेसियालाई २–१ गोलअन्तरले हराएको हो । नेपालको जितमा नेपाली महिला फुटबलकी चर्चित स्ट्राइकर सावित्र भण्डारीले दुबै गोल गरिन् । उनले १–१ बराबरीलाई अस्विकार गर्दै ८९औं मिनेटमा गोल गरेकी थिइन् ।

यसअघि सावित्राले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा अग्रता राखेकी थिइन् । इन्डोनेसियाकी बेइक अमियाटन सालिहाले दोस्रो हाफ शुरु भएलगतै गोल गरेर खेल १–१ बराबरीमा पु¥याएकी थिइन् । धन्न खेल सकिन एक मिनेट बाँकी हुँदा सावित्राले गोल गरेपछि नेपालले जित हासिल गर्न पाएको थियो ।
यस समूहबाट आयोजक टोली म्यानमार टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको तेस्रो चरण छनोट चरणमा पुगेको छ । भारतसँग ३–३ बराबरी खेलेको म्यानमार गोलभिन्नताको आधारमा तेस्रो चरणमा पुगेको हो ।

दुबै टोलीले २ जित र १ बराबरीको नतिजासँगै ७÷७ अंक जोडेका थिए । तर म्यानमारले इन्डोनेसियालाई ६–० ले हराउँदा भारत पछि परेको थियो । नेपाल दुई खेल हारेर एक जित हात पार्दै ३ अंकमा सीमित भयो भने इन्डोनेसियाले तीनै खेलमा हारको सामना गरेको थियो ।

नेपालले यसै प्रतियोगिताअन्तर्गत पहिलो चरणको खेलमा सानदार प्रदर्शन गरेको थियो । म्यानमारमै आयोजित उक्त पहिलो चरणमा नेपालले आयोजक टोली र भारतलाई १–१ बराबरीमा रोकेको थियो । यद्दपि नेपाल तेस्रो स्थानमा रहे पनि समग्रमा उत्कृष्ट तेस्रो टोली बन्दै नेपाल दोस्रो चरणको लागि छनोट भएको थियो । तर दोस्रो चरणमा पहिलो चरण झै नतिजा निकाल्न नेपालले सकेन । पहिलो खेलमा म्यानमारलाई ३–१ ले नतिजा सुम्पेको नेपाललाई भारतले समेत सोही गोलअन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्