ढुंगा खानीमाथि रंगशाला



सुरेश तामाङ, ललितपुर । खेलकुद विकासलाई टेवा पु¥याउने उद्देश्यले गोदावरी नगरपालिका मिनि रंगशाला निर्माणलाई अगाडि बढाएको छ । नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर टाहाखेलस्थित बन्द अबस्थामा रहेको ढुंगा खानीमा रंगशाला निर्माणको कामलाई तिव्रता दिएको हो ।

बस्ती नजिकैको बन्द अबस्थामा रहेको ढुंगा खानीलाई सदुपयोग गर्दै रंगशाला बन्न लागेपछि स्थानीय खुशी देखिएका छन् । स्थानीय महेश संजेलले बताउनुभयो–‘१० वर्षअघिसम्म ढुंगा खानी चल्थ्यो । स्थानीयलाई अप्ठेरो परेपछि विरोध मार्फत बन्द भयो । अहिले रंगशाला बन्न लागेको छ । धेरै खुशी लागिरहेको छ ।’
गोदावरी–१० मा रंगशाला बन्न लागिएको उक्त खानीलाई पूर्णलालको खानीको नामले परिचित थियो । पछि त्यस स्थानको नाम समेत पूर्णलालको खानी डाँडाको नामले चिनियो ।

हाल उक्त स्थानमा ठूल्ठूला ढुंगााका ककारो देख्न सकिन्छ । भने ढुंगा खानी माथि झार र रुख विरुवाले घेरिएको वन रहेको छ ।

झार उम्रिएको उक्त स्थानमा रंगशाला बन्न लागेपछि स्थानी युवाहरु समेत उत्साहित देखिएका छन् । खेलकुदका लागि गतिलो चौर स्थान नहुँदा यहाँका युवाहरु सानो चौरमा खुम्चिएर फुटवल खेल्न बाध्य थियो । अब त्यस्तो नहुने भएको छ । अव युवाहरु नयाँ बन्ने मिनि रंगशालामा खेल्न पाउने भएको छ ।
‘हामीले चौर नहुँदा बाली काटेको बारीमा केही महिना भाडा तिरेर खेल खेल्न बाध्य थियौँ । अब रंगशाला बनेपछि राम्रै चौरमा खेल्न पाउने भयो ।’, स्थानीय युवा गोविन्द घिमिरेले बताउनुभयो ।

उक्त मिनि रंगशाला सातदोबाटो स्थित चापागाउँ दोबाटोबाट ९ किलोमिटरको दुरीमा पर्दछ । उक्त रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनिसकेको छ । कुल १० हजार ५ सय ५५ वर्ग मिटरको क्षेत्रफलमा उक्त रंगशाला बन्ने नगरपालिकाले जनाएको छ ।

रंगशालामा एथ्लेटिक्स, ड्रेसिङ, रंगशालाको कार्यालय प्रयोजनका लागि समेत भवन बन्ने छ भने १२ हजार७ सय दर्शक अट्ने क्षमताको रंगशाला हुनेछ ।
रंगशालामा ८ ओटा दौडको लागि ट्रयाक समेत बन्ने छ। उक्त रंगशालामा प्रशस्त पार्किङको समेत नगरपालिकाले परिकल्पना गरेको छ । सतहमा मात्रै एक सय २० ओता मोटरसाईकल र ४८ वटा चार पांग्रे सवारी अट्नेछ भने सतह मुनि ३ सय ८० मोटरसाइकल र एक सय १२ चार पांग्रे सवारी अट्ने क्षमताको पार्किङ बन्नेछ । उक्त रंगशाला निर्माण गर्न कुल १ अर्ब ४९ करोड ९५ लाख ५० हजार ८ सय ११ रुपियाँ ९८ पैसा लाग्ने अनुमान गरिएको छ ।

हाल उक्त स्थानमा वाल लगाउने, सम्म पार्ने लगायतका लागि नगरपालिकाले १ करोड र प्रदेश–३ ले १ करोड गरी दुई करोडको काम भईरहेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।

बजेटको व्यवस्थापन पछि रंगशालाको टेन्डर प्रकृयामा जाने नगर प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो। ‘अहिले बजेट कै खोजीमा छौँ । संघ र प्रदेशमा ताकेता गरिरहेका छौँ । बजेटको व्यवस्था हुने बित्तिकै टेन्डर गर्छाैँ ।’, उहाँले बताउनुभयो ।
प्रदेश सांसद चेतनाथ संजेलले रंगशाला निर्माणमा आफ्नो सहयोगहुने बताउनुभयो । ‘आफ्नै आँगनमा रंगशाला निर्माण हुन गईरहेको छ । यसमा मेरो सम्पूर्ण सहयोग हुन्छ ।’, उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्