एकै गाउँमा पाँच क्रसर, स्थानीयवासी आन्दोलित



उर्लाबारी ।
मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले सडक किनारमै त्रिपाल टाँगेर रिले अनशनसमेत गरिरहेका छन् ।

स्थानीयवासीको आन्दोलनपछि भने सो क्षेत्रमा टिपर सञ्चालनमा अवरोध पुगेको छ । मानवबस्तीसँगै धमाधम क्रसर उद्योग सञ्चालन हुन थालेपछि स्थानीयवासी आजित भएर आन्दोलनमा उत्रिएका हुन् । सो वडाको झारसादी, तीनखोप्रे, चारघरे, खयरबारी बस्ती क्षेत्रमा पूर्वेली र पञ्चेश्वर क्रसर उद्योग सञ्चालनमा रहेका छन् भने महापाथीभरा क्रसर, सिद्धार्थ क्रसर र देवीस्थान मिनिरल्स क्रसर उद्योग सञ्चालनका लागि तयारीमा छन् ।

क्रसर सञ्चालन गर्न राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाइटेन्सन लाइनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट २ किलोमिटर दूरीमा उद्योग रहनुपर्ने सरकारले मापदण्ड तोकिएको छ । तर, यी मापदण्ड यहाँका क्रसर उद्योगले पूरा गरेका छैनन् । खोला र मानवबस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने प्रावधान रहे पनि पूर्वेली क्रसर उद्योग बक्राहा खोलाकै धारमा सञ्चालन गरिएको छ भने पञ्चेश्वर क्रसर उद्योग मानव बस्तीकै बीचमा छ ।

पूर्वेली क्रसर उद्योग सञ्चालन भएको नजिक शारदा माध्यमिक विद्यालय छ । स्थानीयवासीले दुई क्रसर सार्न माग गरिरहँदा उल्टै अरु तीन क्रसर उद्योग त्यही ठाउँमा निर्माणाधीन छन् । क्रसरका कारण आजित बनेका स्थानीयवासीले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । उजुरीको सुनुवाइ नभएपछि स्थानीयवासीले उच्च अदालत विराटनगरमा गत माघ १ गते रिट दायर गरेका थिए । सो रिटको समेत अहिलेसम्म कुनै सुनवाइ नभएपछि स्थानीयवासी रिले अनशन शुरु गर्दै आन्दोलित बनेका हुन् ।

क्रसरका कारण मानवबस्तीसँगै शारदा मावि र नुनसरी आधारभूत विद्यालयमा अध्यापन गराउन असहज भएको छ । विद्यालयको पठनपाठनमा धेरै ठूलो असर गरिरहेको शारदा माविका प्राध्यानाध्यापक सूर्य दाहालले बताउनुभयो । क्रसरका कारण उड्ने धुलो, त्यहाँबाट निस्किने आवाज र ढुवानीका लागि कुद्ने टिपरले अध्यापनमा असहज भएको प्रधनाध्यापक दाहालले बताउनुभयो ।

क्रसरले यस क्षेत्रमा करीब एक हजार घरपरिवारलाई प्रत्यक्षरूपमा असर परिरहेको वडाध्यक्ष मच्छिन्द्र कार्कीले बताउनुभयो । गाउँ नजिकै उद्योग राखिँदा त्यसको आवाजले दैनिक प्रभावित हुनुपरेको स्थानीयवासी प्रेम भण्डारीको गुनासो छ । राति अबेरसम्म उद्योग सञ्चालन हुँदा बालबालिकाको पठनपाठनमा असर परेको स्थानीयवासी तुलसा थापा बताउनुहुन्छ ।

सङ्घर्ष समितिका संयोजक सम्मरबहादुर राईले क्रसर उद्योग स्थापनाले धुलो, उच्च ध्वनि तथा वातावरणीय प्रदुषण बढाएको गुनासो गर्नुभयो । क्रसर उद्योगका कारण बर्खाको समयमा बस्ती नै डुबानमा पर्ने जोखिम रहेको राईले बताउनुभयो ।

यसैबीच स्थानीयवासीले आन्दोलन शुरु गरेपछि मोरङ क्षेत्र नं १ का सङ्घीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसद कुलप्रसाद साम्बा, नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारीलगायतले स्थलगत अवलोकन गर्दै मानव बस्तीकै बीचमा क्रसर उद्योग स्थापना गरिनु मापदण्डविपरीत रहेको जानकारी दिँदै यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभयो ।

आज बिहान सो क्षेत्रको स्थलगत अवलोकन गर्दै सङ्घीय सांसद खतिवडाले एउटै गाउँमा पाँच क्रसर उद्योग सञ्चालनको अवस्था आउनु गम्भीर रहेको भन्दै यस विषयलाई आगामी संसद् बैठकमा राख्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सम्बन्धित निकायबाट यस विषयलाई समाधान गरिएन भने आफू पनि स्थानीयवासीसँगै धर्नामा बस्न तयार रहेको बताउनुभयो । नगर प्रमुख फागोले क्रसर स्थापनाका लागि नगरपालिकाले सिफारिश नदिएको उल्लेख गर्दै यस विषयमा स्थानीय तहलाई कुनै अधिकार नरहेकाले काम कारवाही अघि बढाउन नसकिएको जानकारी दिनुभयो ।

स्थानीय जग्गाधनीलाई समेत विनाजानकारी क्रसर उद्योग खोलिएको भन्दै स्थानीयवासीले झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । स्थानीयवासीले समस्या भएका कारण क्रसर उद्योग हटाउन माग गर्दा सञ्चालकले विभिन्न तवरबाट धम्की दिने गरेको गुनासो गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्