बिदेश बाट फर्किएका युवा बाख्रा पालनमा सक्रिय



अमृत अर्याल, स्याङजा ।
विदेशको लामो वसाईबाट आजित भएर गाँउमा नै वाख्रा पाल्न शुरु गरेका स्याङजाका युवाले राम्रो आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १० ढकालडाँडाका ४२ वर्षीय युवा रुक्मागत ढकालले बाख्रा पालन शुरु गरेको पहिलो वर्षमा नै ४ लाख भन्दा वढि आम्दानी गर्न सफल हुनु भएको छ ।

१९ वर्ष विदेशमा काम गर्नुभएका ढकाल स्वदेशमै आफ्नो परिवारसंगै बसेर केहि गरौँ भन्ने भन्ने भावनाका साथ वाख्रा पाल्न शुरु गरेको वताउनु भयो । डेढ वर्ष अगाडिदेखि ढकालले गह्रौँकालिका व्यवसायिक बाख्रा फर्म मार्फत बाख्रा पालन गरिरहनुभएको छ । ८ वर्ष भारत र ११ वर्ष कतारमा वसेर काम गर्नुभएका ढकाललाई सामाजिक सञ्जालमा लेखिएको एक लेखले जिवन परिर्वतन गराईदिएको सुनाउनुहुन्छ । उहाँ भन्नुभन्नुहुन्छ “लेखमा नेपाल जान नपरोस भनेर कुनै एअर होस्टेजले भनेकी थिईन” ढकाल थप्नुहुन्छ “त्यो वाक्यले नै मलाई छोयो र नेपालमै केहि गरौँ भन्ने अठोटका साथ स्वदेश फर्र्किएको हुँ” । उहाँ थप्नुहुन्छ “नेपाल छिटो फर्किएर काम गर्न थालेको भए मैले धेरै प्रगती गर्ने रहेछु । ”

करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा अहिले २९ माँउ र २३ पाठापाठी गरी ५२ बाख्रा रहेका छन् । ढकालले स्थानीय खरी जातका बाख्रा पालन गर्नुभएको छ । बजारीकरणको कुनै समस्या नभएको भन्दै ढकाल भन्नुहुन्छ, “मलाई बजारको कुनै समस्य छैन् घरमा व्यापारी आउनुहुन्छ । वालिङ वजारमा नै मासु खपत हुन्छ ।”

५ वर्ष भित्र नमुना फर्म बनाउने उद्देश्यका साथ लागिरहनुभएका ढकालले नगरपालिकाबाट विउ पुँजीको रुपमा ६५ हजार नगद प्राप्त गरेको बताउनुभयो । नगरपालिकाले विना धितो, विना व्याज किसानहरुलाई विउ पुँजी वितरण गरेको छ । वाख्रा तथा घाँसका वारेमा विविध जानकारी वाख्रा गाँउ अभियानका संयोजक शुसिल अर्यालले दिनेगरेको ढकाल वताउनु हुन्छ ढकाल भन्नुहुन्छ “अर्याल कृषि प्राविधिक समेत भएकाले मलाई निक्कै सहज भएको छ ।”

घाँसको कुनै समस्या नभएको भन्दै ढकालले भन्नुभयो, “बारीका डिल तथा खरबारीमा प्रशस्त घाँस छन्, घाँसको कुनै समस्या छैन् ।” सिद्धार्थ राजमार्ग अन्र्तगत मदिखोलाबाट २ किलोमिटरमा पुग्न सकिने ढकालको फर्ममा प्राविधिक समस्या आईपर्दा पशु सेवा केन्द्रबाट सेवा लिईरहनुभएको छ । ढकाल गुनसो गर्नुहुन्छ, “हामी बाख्रा पालकलाई वास्तविक किसान जस्तो व्यवहार गरिएको मैले पाउँदिन् ।

सरकारले किसानलाई धेरै सेवा, सुविधा दिएका छौँ भन्छ तर हामी जस्तै वास्तविक किसानसमक्ष त्यो सुविधा आउन पाउँदैन् ।” दाना, अन्न, भिटामिनको मुल्य हरेक वर्ष बढ्दै जान्छ तर हाम्रो जस्ताको तस्तै भन्दै ढकाल भन्नुहुन्छ, “दाना ११ सयबाट १५ सय पुग्यो, मासु ७ सयको ७ सय नै छ ।” सानैदेखि कृषितर्फ आकर्षित ढकालले सुन्तला खेति समेत गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “एक एक पैसा जोडेर मैले सानै हुँदा सुन्तलाको विरुवा किनेर ल्याएँ, ति विरुवा अझै छन् । ” ढकाललको सुन्तला बँगैचामा अहिले ३ सय बोट सुन्तला समेत छन् ।

श्रीमती, आमा छोराछोरी गरी ५ जनाको परिवार ढकालले सजिलै कृषि पेशाबाटै चलाईरहनुभएको छ । ढकालले समय समयमा व्यवसायिक सिप अभिवृद्धिका तालीमहरुमा सहभागि हुन सके व्यवसायलाई टेवा पुग्ने बताउनुहुन्छ । एसएलसि सम्मको शिक्षा लिनुभएको ढकालले वास्तविक किसानको पहिचान गरी कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

बाख्रा पालनबाट सन्तुष्ट ढकालले आगामी दिनमा बाख्रा फर्म अझ विस्तार गर्ने सोँचमा हुनुहुन्छ । स्वदेशमै बसेर यसरी कृषि तथा पशुका क्षेत्रमा लागेका जोकोही युवाहरुलाई पनि स्थानीय सरकारले उचित वातावरण, सहुलियत ऋण, प्राविधिक सहयोग उपलब्ध हुनुपर्ने ढकालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्