विक्रम बाबाको मेला सफल बनाऔं



यही चैत्र २२ गते शुक्रबारदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र विक्रम बाबाको भव्य मेला शुरु भएको छ । १५ दिनसम्म सञ्चालन हुने मेलामा यसपटक प्लास्टिकका झोला निषेध गरिएको छ । विक्रम बाबाको पूजास्थल र मेलालाई व्यवस्थित बनाउन राष्ट्रिय निकुञ्ज विभाग, पूजा व्यवस्थापन समिति, मेला आयोजक समिति, स्थानीय निकाय, सुरक्षा निकाय तथा सरोकारवालाबाट प्लास्टिकका झोला पूर्णरुपमा निषेध गर्ने निर्णय भएको छ । मेला परिसरमा जुवातास, मदिरा किनबेच तथा सेवन गर्न पनि पूर्णरुपमा बन्देज लगाइएको छ ।

मेलास्थललाई व्यवस्थित र मर्यादित बनाउन सरोकारवाला निकायले जे–जस्तो आचारसंहिता बनाएको छ, त्यो प्रशंसनीय छ । तर पशुपक्षीको बलि दिने कुप्रथाविरूद्ध भने सरोकारवाला निकाय मौन देखिन्छन् । पशुबलि अन्त्य गर्न विभिन्न संघसंस्थाले आवाज उठाउँदै आएको एकदशक भइसकेको छ । पशुबलिलाई निरूत्साहित गर्न जतिसुकै अभियान चलाइँदै आए पनि यो प्रथा अझै कायमै रहेको पाइन्छ । विक्रम बाबाको मेलामा हरेक वर्ष हजारौँ बोकाको बलि चढाइने गरिन्छ । गतवर्ष पनि एक हजारभन्दा बढी बोकाको बलि चढाइएको थियो । एक्काइसौँ शताब्दीमा आएर पनि प्राणी हत्या गरेर देवीदेवता खुशी हुन्छन् भन्ने भ्रम पाल्नु मूर्खतामात्र हो ।

विक्रम बाबाको पूजास्थलमा बलि नियन्त्रण गर्न निकुञ्ज प्रशासनले विगत वर्षहरुमा आग्रह नगरेको पनि होइन । धार्मिक र सांस्कृतिक पक्षसँग जोडिएको मेलामा पशुपक्षीको बलि चढाउनुको साटो नरिवल फुटाएर, फलफूल चढाएर वा धूपदीप बालेर पनि पूजाअर्चना गर्न नसकिने होइन । पशुबलिका सन्दर्भमा सर्वोच्च अदालतले समेत समयसीमा निर्धारण गरेर पशुबलि उन्मूलन गर्ने कानुन निर्माण गर्न, बलिप्रथा रोक्न प्रचारप्रसार गर्न, बलिलाई निरुत्साहित र निरोधात्मक हुने कार्यक्रम कार्यान्वयन गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
बलि दिने परम्पराबारे सर्वोच्चले ‘धर्म वा परम्पराका नाममा हजारौँ पशुलाई निर्घात हत्या गर्ने सिलसिला आधुनिक सभ्य समाजका लागि सुहाउने विषय होइन । बलि प्रथा एक्काइसौँ शताब्दीको आधुनिक सभ्यताअनुकूलको विषय देखिँदैन । त्यसैले, बलि प्रथामा नियन्त्रण कायम गर्नु, यसलाई रोक्नु र बन्द गर्नु आवश्यक छ’ भनेको छ । न्यायसम्पादन गर्ने सर्वोच्च निकायबाट जारी आदेशको कार्यान्वयन हुन नसक्नु विडम्बनाको विषय हो ।

सर्वविदितै छ, चितवन निकुञ्जभित्र विभिन्न दुर्लभ जीवजन्तु तथा पक्षी संरक्षित छन् । विभिन्न स्थानबाट हजारौँको संख्यामा जनावर र पक्षी लैजाँदा वन्यजन्तुमा रोग सर्ने सम्भावनामात्रै होइन, वातावरण प्रदूषणको जोखिम पनि उत्तिकै रहन्छ । बलि लिएर देवीदेवता खुशी हुने पनि होइनन् । यो त मानिसले आफूअनुकूल व्याख्य गरी आफ्नो स्वार्थका लागि बनाएको कुप्रथामात्रै हो ।

मेलालाई व्यवस्थित गर्न जसरी जुवातास, जाँडरक्सी र प्लास्टिकका सामान निषेध गरिएको छ, त्यसै गरी मेलास्थलमा नरिवल चढाउने व्यवस्था गर्न सके हरेक व्यक्तिको उत्साह झनै बढेर जाने निश्चित छ । मानिस शाकाहारी वा मांसाहारी दुवै हुनसक्छ । आफ्नो इच्छाअनुसार दुवै हुने छुट पनि छ । तर सार्वजनिक मठमन्दिरमा पशुहत्या गरिनु सान्दर्भिक छैन । पशुबलिजस्तै कुप्रथाका कारण हाम्रा हरेक पर्व तथा संस्कृतिहरु समयअनुसार संशोधित हुनुपर्ने आवश्यकता देखिएको हो । अहिले विश्वव्यापीरुपमा पशुअधिकारका सवालमा अभियान चलाइएका छन् । पशुबलि रोक्न सामाजिक संघसंस्था, स्थानीय निकाय, निकुञ्ज प्रशासन तथा स्थानीयवासीको नै ठूलो भूमिका रहन्छ । पर्वहरुलाई व्यवस्थित, परिष्कृत र संरक्षित गर्न पनि पशुबलिजस्तो कुप्रथा हटाउनु जरुरी देखिन्छ ।
– सुदन पोख्रेल, चितवन ।

प्रहरी हाम्रो साथी, सहयोग गरौं
प्रहरी शब्द आउनेबित्तिकै प्रहरीले अपराधसँग सम्बन्धित मान्छेहरुसँग मात्रै सम्बन्ध राख्छ र उसले गर्ने काम भनेकै कमी–कमजोरी गर्नेलाई समाउने, कारबाही गर्ने र दण्ड सजायका लागि अदालतसमक्ष पेस गर्ने भन्ने मानसिकता आइहाल्छ । अझै देशमा चलेको लामो समयको सशस्त्र द्वन्द्वका बेला तर्सिएका आमसर्वसाधारणको मानसिकतामा त्यति बेलाको चित्रण ताजा छ । जुन युद्ध व्यहोरेको पुस्ताको समाप्तिपछि मात्रै त्यो त्रासको तस्वीर मेटिन्छ । प्रहरी हामीले सोचेको जस्तो संगत नै गर्न नहुने संगठन होइन । खराब मानिसका लागि प्रहरी एउटा शत्रु होला तर असल मान्छेका लागि प्रहरी राम्रो साथी पनि हो । शान्ति सुरक्षा, अपराध न्यूनीकरण र रोकथामको प्रमुख जिम्मेवारी प्राप्त गरेको प्रहरी संगठनका गतिविधि नागरिककै शान्ति सुरक्षाको लागि हुने गरेका छन् । आमनागरिकले यो कुरा बुझ्नु आवश्यक छ ।

आममानिसको मानसिकतामा भने प्रहरीसँग टाढा रहनुपर्ने, जोगिनुपर्ने र प्रहरीसँग डराउनुपर्ने भ्रम छ । यसलाई कम गर्नका लागि प्रहरी र नागरिकबीचको दूरी कम गर्न आवश्यक छ । प्रहरीले गर्ने काम नागरिकको हितमा हो भन्ने बुझाइ नहुँदा समय–समयमा प्रहरी र नागरिकबीच द्वन्द्व पनि सृजना हुने गरेको छ, जुन चेतनाको अभावमा हुने कुरा हो । नागरिकसँगको निकट सम्बन्धबाट मात्रै प्रहरीका काम अपेक्षाकृत सफलता हुने निष्कर्षमा पुगेको प्रहरी संगठनले समय–समयमा सर्वसाधारणसँग निकट हुने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समय देशव्यापीरुपमा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रहरी र नागरिकबीचमा रहेको दूरी कम गर्ने एउटा गतिलो माध्यम हुन सक्छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी र विद्यार्थीबीचको दूरी कम गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘प्रहरीसँग एकदिन अभियान चलायो, जसका कारण सानो उमेरका विद्यार्थीले प्रहरीका कामहरुको विषयमा जानकारी पाए ।

बालबालिकाको बीचमा बसेर प्रहरीले आफ्ना काम र नागरिकको सुरक्षाका विषयमा गरेका कुराकानीले बालमस्तिष्कमा रहेको प्रहरीप्रतिको नकारात्मक धारणालाई कम गर्दै सहयोगी भावनाको विकास गर्ने कुरामा शंका छैन । स–साना बालबालिकालाई तर्साउनका लागि आज पनि हामीले प्रयोग गर्ने शब्द भनेको नमाने प्रहरी बोलाउने नै हो । जसका कारण उनीहरुको मानसिकतामा कस्तो असर गरिरहेको छ भन्ने विषयमा हामीले कहिल्यै पनि हेक्का राखेनौं ।

प्रहरीले पछिल्लो समय चलाएको अभियान सकारात्मक छ । जुन अभियानलाई सदरमुकाम र सुगमका केही विद्यालयका बालबालिका जम्मा गरेर मात्रै होइन जिल्लाभरिका प्रतिनिधिमूलक विद्यार्थी जम्मा गर्ने र उनीहरुमार्फत सबै बालबालिकालाई प्रहरी हाम्रो साथी हो भन्ने जानकारी पु¥याउन आवश्यक छ । यसका सथै प्रहरीले सेवा प्रदान गर्दा मुस्कानसहितको सेवा प्रदान गर्नसमेत आवश्यक छ ।
– विजय नेपाल, भरतपुर ।

प्रतिक्रिया दिनुहोस्