‘सन्की राजा खाेज्ने राष्ट्रवादी होइनन्’



शरदचन्द्र दाहाल राष्ट्रिय एकता पार्टीका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि राजनीतिलाई नजिकबाट नियाल्दै आउनुभएका उहाँ पछिल्लो समयमा राजनीति गलत बाटोतिर लागेको बताउनुहुन्छ । राजसंस्थाको आवश्यकता अझैपनि छ भन्दै आउनुभएका उहाँ अहिलेका राजनीतिक दलका नेताहरु अरु कसैबाट परिचालित भएको आरोप लगाउनुहुन्छ ।

राजसंस्थाको महत्वलाई जनताले पनि बुझिसकेको भन्ने दाहाल राष्ट्रिय एकता कायम राख्नका लागि देशका सबै शक्तिबीच छलफल हुनुपर्ने तर्क गर्नुहुन्छ । संविधान निर्माणको बाटो नै गलत भएको भन्ने उहाँ संघीयताले देशमा झन् बिखण्डन ल्याएको र आर्थिक अवस्था कमजोर बनाएको टिप्पणी गर्नुहुन्छ ।

पूर्वराजाको पक्षमा जनमत बढिरहेको देखेर पनि नेताहरु आगामी दिनमा सचेत रहनुपर्छ भन्ने उहाँ राजसंस्थालाई देशको माया भएकाले यति धेरै विध्वंश नहुनेसमेत बताउनुहुन्छ । विभिन्न निर्वाचन वहिष्कार गर्दै आउनुभएका उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी:

अहिलेको राजनीतिक अवस्थालाई कसरी बुझ्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्थालाई म पनि नजिकबाट हेरिरहेको छु । अहिले हाम्रो बोली बिक्न छोडेको छ तरपनि चुपचाप लागेर बसेका छैनौं । देशको नेतृत्व गर्छौं भन्नेहरुले भएभरको साधनस्रोतको दोहन गरेका छन् । जनतालाई मीठा नारा लाएर झुक्याउँदै देश लुट्न पल्केकाहरुका लागि योभन्दा राम्रो वातावरण कुनै पनि हुन सक्दैन ।

हामीलाई देशको माया छ त्यसैले अब थप कुनै प्रकारका संकट नआओस् भन्ने चाहन्छौं । तर राजनीति गर्नेहरुले भने देश झन् बिग्रियोस् र त्यही अप्ठेरो अवस्था देखाएर स्वार्थमा रमाउन पाउँ भन्ने सोचेका हुन्छन् । अहिले जनता पनि चुप लागेका छन्, जनताको दिन आएपछि निस्किन्छिन् । हामी पनि आफ्नो पाराले संगठन गर्दैछौं, देशघाती समूह र तत्वलाई नियालेर बसेका छौं ।

तपाइहरु अहिले सत्तापक्ष कि प्रतिपक्ष ?
साँच्चै भन्ने हो भने अहिलेको प्रमुख प्रतिपक्ष हामी नै हौं । सत्य कुरा भन्न डराउँदैनौं । संसदमा हाम्रो पार्टी नरहेकाले कतैपनि गतिविधि नभएजस्तो लाग्न सक्छ । हामी सडकमा आएको दिन देशघाती बिचार बोकेका सबैलाई खतरा हुन्छ । देशलाई बर्बाद पार्ने र बिक्री गर्ने एजेण्डा हामीसँग छैनन् । केही ढिलो हुनसक्छ तर सबै जनता हाम्रो पछि आउनु वा सँगसँगै एकजुट भएर राष्ट्र बचाउने आन्दोलनमा लाग्नुको बिकल्प छैन ।

अहिले विदेशी बिचार बोक्नेहरुको एउटा समूह छ, हामी स्वदेशी बिचार बोक्छौं । यी दुइबीचको लडाई हो आज । हामी आफ्नै बुद्धि र बिबेकले चल्छौं, सही कुरा गर्छौ, उनीहरुको मालिक अन्तै छ, मालिकले जे भन्छ त्यही काम गर्छन् यो नै प्रमुख समस्या हो । राजसंस्था हुँदा देश यति संकटमा थिएन किनभने राजालाई देशको माया थियो । राजसंस्था पनि बीचमा आलोचित भयो त्यो आफ्नै कारणले हो ।

कसैलाई लाग्न सक्छ हामी अन्धधुन्द राजा मान्छौं र जयजयकार गाउँछौ तर यो होइन । राजा होस् वा जनता सबैले आफ्नो ठाउँमा बस्नुपर्छ, जनतामाथि माथि राजा होलान् तर जनताको साथ र सहयोग नपाएको राजा काम लाग्दैन । राजाको नाम लिएका र पद पाएका कोही सन्की होलान्, कोही कस्ता होलान् , हामीलाई श्रीपेच जोगाएर राष्ट्रलाई निकास दिनु जरुरी छ । अर्को कुरा राजसंस्थाले गरेका गलत काम कारबाहीमा पनि सुधार हुनुपर्छ ।

भनेपछि तपाइको पार्टीको लाइन राजा ल्याउनेमात्र हो ?
हामी त्यसरी अरुको जस्तो हावा कुरा गरेर एकहोरो पछि लाग्दैनौं । तर अहिलेको बस्तुस्थिति हेर्दा राजसंस्थाको बिकल्प छैन । राजालाई देशको माया छ तर नेतालाई भने कसरी यो देश सक्ने र मोज गर्ने भन्नेमात्र दाउ छ । मैले र तैले मात्र मिलेर राजसंस्था ल्याउँछु भनेर कसैले भन्छ भने त्यो सपनामात्र हुनेछ, यसका लागि जनता जाग्नुपर्छ, अहिले हामी तयारीमा छौं, पछि जनता बुझेपछि आफैं आउँछन् ।

संविधानसभाको निर्वाचनपछि संविधान बन्छ र जनताले न्याया पाउँछन् भनियो तर संविधानले जनतालाई झन् विभाजन गरिदियो । जातजाति र भाषाभाषीको नाममा देशमा द्धन्द्ध भयो । संघीयता र धर्म निरपेक्षता नेपालको एजेण्डा थिएन, अरु कसैको एजेण्डा बोकिदिँदा जसले यो व्यवस्था ल्यायो उसलाई नै थाहा भएन यो तन्त्र के हो भन्ने । एकपछि अर्को समस्या बढ्दैछ नेपालमा तत्काल बैकल्पिक बाटो नखोज्ने हो भने अब मुलुकले त्यो चुनौती धान्न सक्दैन ।

स्थानीय तहको निर्वाचनमा नाममा धेरै मानिसलाई जागिर खुवाउने काम भएको छ । उनीहरु जनताप्रति जिम्मेवार छैनन्, पद पाउञ्जेलसम्म सुविधा लिने र राष्ट्रको ढुकुटी दोहन गर्न लागेका छन् । सरकार बनेको झण्डै १४ महिना भयो, १४ वटा काम भएका छैनन् । माओवादीले द्धन्द्ध गरेर १७ हजारको ज्यान लियो, यो बेला पीडित भएकाको कुनै चासो छैन । समग्रमा भन्ने हो नेताको लागिमात्र गणतन्त्र आएको रहेछ भन्ने बुझिन्छ । लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्रका शब्दमात्र मीठा छन् यसले मानिसको जिवन छुन सकेको छैन ।

सरकारले ३ तहबीच समन्वय गर्न सकेको छैन । कर्मचारीहरु गाउँ जान मानिरहेका छैन, सरकारले पनि पठाउन सकेन । कि काममा लगाउन सक्नुप¥यो सरकारले कि बिकल्प दिनुप¥यो । अहिले कोहीप्रति कोही जिम्मेवार बनेको देखिँदैन । हिजो एकजना राजाको विरोध थियो, उनलाई पाल्न सकिएन भनेर गणतन्त्र ल्याइयो तर आज छोटे राजालाई पाल्नुपर्दा देश नराम्ररी आर्थिक, सामाजिक र राजनीतिक द्धन्द्धमा फसेको छ ।

राजनीतिमा अरु कसैको प्रतक्ष्य प्रभाव भएकाले पनि समस्या परेको हो र ?
भन्न मिल्छ कि मिल्दैन त्यो विषय बेग्लै ओ । तर भारत र चीन २ छिमेकी देशले अनेक स्वार्थ ारखेर नेपालमा सधैं समस्या पार्ने र आफ्नोमात्र स्वार्थ सिद्ध गर्ने काम गरेका छन् । यी देशको प्रभाव परेको थाहा पाएर अरुले पनि आँखा गाडेका छन् यसबाट बुझ्न सकिन्छ कि नेपाल हरेक ढंगले कमजोर छ त्यसको फाइदा लिन अरु सिपालु छन् ।

अबको निकास के हो ?
अबको निकास भनेको सबै पक्षबीचको एकता नै हो । कुनै पनि बादको कुरा नगरी राष्ट्रवादको नारालाई लिएर जान सकियो भने नेपाल र नेपालीको लागि न्याया हुन्छ । तर कसैको आदेशपालक भएरमात्र बस्ने हो आगामी दिनमा योभन्दा बढी दुःख पाइन्छ सचेत नेपालीले आजै ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्