सपना हिरोइनको काम हेयर र मेकअपको



रश्मी थापा
एउटा सिनेमा सफल हुनलाई पर्दामा देखिने कलाकारको जति महत्वपूर्ण भूमिका हुन्छ, त्योभन्दा कम भूमिका हुँदैन पर्दापछाडिका कलाकारको। पर्दामा देखिने कलाकारलाई अझ सुन्दर र सजीव देखाउनमा महत्वपूर्ण भूमिका हुने गर्छ पर्दापछाडिका कलाकारको।

तीमध्येकै एक पर्दापछाडिका कलाकार हुन् ऋतु राना। सिनेमा क्षेत्रमा लामो समयदेखि हेयर डिजाइन र मेकअपको क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाएकी छिन् ऋतुले। १५ वर्षको उमरेमा कलाकार बन्ने उद्देश्यले सिने क्षेत्रमा आएकी ऋतु अन्ततः हेयर ड्रेसिङ र मेकअपमा आकर्षित भइन्। कलाकारितालाई छोडेर यसैमा आफूलाई समर्पित गरिन्।

निर्देशक तथा कलाकार सुवास गजुरेलको भिडियो फिल्म मातृभूमि अभिनयको हिसाबले उनको पहिलो फिल्म थियो। पत्रिकामा कलाकार चाहिएको विज्ञापन हेरेर हिरोइनका लागि अन्तर्वार्ता दिन गरएकी ऋतुले पछि उक्त फिल्ममा हिरोइनको साथी बनेर अभिनय गरिन्।

‘द्वन्द्व निर्देशक एनबी महर्जन दाइले हाम्रो इन्टरभ्यु लिनुभएको थियो। कलकत्ताबाट पार्लरको काम सिकेर काठमाडौं आएर बोरिङ भएर बसिरहेको बेला एक दिन भिनाजु ध्रुवबहादुर क्षेत्रीले पत्रिका ल्याएर कलाकर खोजेको विज्ञापन देखाउनुभयो। त्यही विज्ञापन हेरेर म त्यहाँ पुगेकी थिएँ। म र सारंगा श्रेष्ठ सँगै गएका थियौं। उहाँले के गर्न आउँछ भनेर सोध्नुभयो। हामीले डान्स गर्न आउँछ भन्यौं’, ऋतुले सम्झिइन्– ‘लगत्तै उहाँले क्यासेट प्लेयर खोलेर पिया तुम अब तो आजा भन्ने हिन्दी गीत बजाएर ल नाच भन्नुभयो। हामी केटाकेटीजस्तै थियौं। हिरोइन बन्न पाइन्छ भन्ने आशाले डान्स गर्यौं।

पछि हिरोइनको साथी बनेर अभिनय गर्ने अवसर मिल्यो।’ उनले पछि अर्को एक फिल्ममा शोभित बस्नेतसँग हिरोइनको रूपमा काम गरिन्। युगदेखि युगसम्ममा नायिका कृष्टि मैनालीको साथीको सानो भूमिकामा देखिएकी उनलाई हिरोइनका रूपमा काम गरेपछि कलाकारिताप्रति रुचि भएनछ। ‘फिल्म अरूणिमामा हिरोइनको रोलमा खेल्ने कुरा भएको थियो। पछि निर्माता चिरञ्जीवी बस्नेतले हेयर ड्रेसरको काम गर्छौ भन्नुभयो। म केटाकेटी नै थिएँ र सजिलै हुन्छ भनें’ –उनले हेयर ड्रेसरतिर मोडिएको पाइला सम्झँदै भनिन्।

कलकत्तामा जन्मेकी ऋतु सानै हुँदा नेपाल आएकी थिइन्। ‘स्कुल लेभलको पढाइपश्चात् पढाइलाई निरन्तरता दिन कलकत्ता गएको थिएँ। तर मैले त्यहाँ पढाइभन्दा पनि ब्युटिपार्लरसम्बन्धी कामहरू सिक्न थालें। सानैदेखि दुःख पनि भोगें। त्योअनुुसार अहिले मान्छेचाहिँ चिनें।’ फिल्म अरूणिमाबाट हेयर ड्रेसिङको सुरुआत गरेकी ऋतुलाई मेकअप पनि गर्ने रहर थियो। उनले सुनाइन्– ‘मलाई राम्रो मेकअप गर्न आउँथ्यो, रहर पनि थियो तर त्यतिबेला केटी मान्छेलाई मेकअप गर्न दियो भने बिगार्छन् भन्ने सोच थियो। धेरैलाई मैले मलाई पनि फुल मुभीमा मेकअप गर्न दिनुस् न भन्थें। तर उहाँहरूले तिमी केटी मान्छेले हिरोइनको मेकअप बिगारदिन्छौ।

तिमीहरूको मनमा एक प्रकारको जेलस हुन्छ, त्यसैले हिरोइनको मेकअप बिगारदिन्छौ भन्नुहुन्थ्योे। म त्यस्तो गर्दिनँ न म त आफ्नो कलालाई त्यहीं सिगार्न खोज्छु नि भन्थें। त्यतिबेलाका मेकअप आर्टिस्ट साम्भा डी पाटिल, सन्तु तामाङजस्ता दाइहरूलाई मलाई पनि मेकअप गर्न दिनुस् न भन्थें। उहाँहरू आफूलाई अल्छी लागेको बेला मलाई गर न त भनेर दिनुहुन्थ्यो।’ मेकअप आर्टिस्टको रूपमा काम गर्न नदिइए पनि ऋतु आफूले काम गरिरहेको फिल्मका मेक आर्टिस्टलाई रिझाएर कलाकारको मेकअप गरिदिन्थिन्।

अरूणीमा ,म त तिम्रै हँु, एक नम्बरको पाखे, उपहार, साथी, चोखो माया, कव होइ मिलनवा हमारलगायत लगभग ६० भन्दा बढी फिल्ममा पुरानादेखि नयाँ पुस्तासम्मका दर्जनौं कलाकारका लागि हेयर ड्रेसरका रूपमा काम गरेपछि नृत्य निर्देशक कमल राईले उनलाई हेयर ड्रेसरको साथै मेकअपको काम पनि गर्नुपर्छ भनेर सुझाएका रहेछन्। ‘कमल दाइले तिमीमा भएको प्रतिभालाई किन लुकाएर राखेको, आफूमा भएको प्रतिभा देखाउनुपर्छ भनेर पुस गर्नुभएको थियो। त्यसपछि मैले मेकअप आर्टिस्टको रूपमा पनि काम गर्न थालें। करिब १०/११ वर्षअघि सिक्किममा गएर गायक पवन चाम्लिङको १६ गीतको म्युजिक भिडियोमा हेयर डिजाइनसँगै मेकअपको काम गरें। लगभग ५ वर्ष सिक्किम, कालिङपोङजस्ता भारतका विभिन्न ठाउँमा बसेर आदिबासी, बंगाली तथा नेपाली फिल्महरूमा मेकअप आर्टिस्ट र हेयर ड्रेसरको काम गरें’, उनले सुनाइन्– ‘दार्जिलिङ, सिक्किम तथा कालिङपोङमा कामको सिलसिलामा लामो समय बसेपछि नेपाल फर्केर ऋतुले फागु, म त तिम्रै हो नि, कान्छी ल्याउने रहरजस्ता फिल्ममा मेक आर्टिस्टको साथै हेयर ड्रेसरका रूपमा काम गरें।’

भारतीय शहरमा रहेका काम गर्दाको ऋतुको अनुभव छ– ‘आफ्नो घरमा जस्तो सजिलो वातावरण बाहिर हुँदैन। बाहिर काम गर्दा अरूले जति जे भने पनि हुन्छ हजुर भनेर झुक्नुपर्छ। तर घरमा भनेको त्यस्तो हुँदैन। आफ्नो घरमा घुर्की लाएर फाइट खेलेर, कहिले हाँसेर त कहिले रोएर भए पनि काम गर्न सकिन्छ। नेपाली फिल्म इन्डस्ट्री भनेको मेरो घर हो। त्यसकारण म यहाँ जे पनि गर्न सक्छु तर बाहिर जति नै आँसु आए पनि ट्वाइलेटभित्र गएर रुन्थें।’

लामो समय हेयर ड्रेसर र त्यसपछि मेकअप आर्टिस्टको रूपमा आफ्नो करिअर अगाडि बढाए पनि पारिश्रमिकको सवालमा भने आफू कहिल्यै सन्तुष्ट नभएको ऋतुको भनाइ छ। भन्छिन्– ‘पारिश्रमिकको कुरा गर्नुपर्दा त मलाई सबैले शोषण नै गरेजस्तो लाग्छ। नेपाल बाहिर काम गर्दा घर छोडेर जानुपर्ने हुन्थ्यो। कमाएको पैसा बस्न र खानमा बढी खर्च हुन्थ्यो। तर त्यहाँ खालि हात भने बस्नु पर्दैनथ्यो। काम गरेपछि थोरै आमाउन्ट भए पनि दिनुहुन्थ्यो। नेपालमा भने प्रायः फिल्ममा नातागोता, साथीभाइ र दिदीबहिनी भन्दै यति गर्देऊ न हामी आफ्नै मान्छे भन्नुहुन्थ्यो। मलाई पर्दा उहाँहरू कहिल्यै पनि मेरो नातागोता बनेर अगाडि आउनुभएन। जब काम गर्ने बेला भयो, त्यतिबेला म सधंै उहाँहरूको नातागोता, दिदीबहिनी हुन्थें। यही कारण नेपालमा २ वटा फिल्ममा काम गरेको पारिश्रमिक पाइनँ तर मैले काम गर्न पाएँ, त्यसैमा खुसी छु।’

फिल्म बाबु साहेब र ढुकढुकी ऋतुलाई आफूले काम गरेकामध्ये मन पर्ने फिल्म हुन्। ‘ढुकढुकीको पनि एउटा गीतमा करिश्मा मानन्धर दिदीको गेटअप निकै राम्रो छ। त्यतिबेला त्यो काम निकै राम्रो मानिएको थियो। करिश्मा दिदी र म मिलेर हामी यो गीतमा यस्तो गर्ने ल भनेर सल्लाह गरिरहन्थ्यौं र त्यहीअनुसार काम गथ्र्यौं। रिलको जमाना भएका कारण गेटअप कस्तो देखियो हेर्नका लागि लगभग एक वर्ष कुर्नुपर्यो। करिश्मा दिदीले तैले मेरो कपाल बिगारिदिस्, म नराम्री देखिएँ होला भनिरहनुहुन्थ्यो। यदि नराम्रो दखिएको रहेछ भने तपाईंले मलाई पिट्ने राम्री देखिएको रहेछ भने मैले तपाईंलाई के गर्ने भनेर कुरा गरिरहन्थ्यौं। एक वर्षपछि हेर्दा राम्रो देखिएको रहेछ’, उनले सुनाइन्– ‘मलाई काम गर्न पुराना आर्टिस्टहरूसँगै रमाइलो लाग्छ। त्यतिबेलाका कलाकारहरू व्यावहारिक हुनुहुन्थ्यो। एकअर्कालाई डोमिनेट गरेर बोल्ने चलन पनि थिएन। मलाई काम गर्न सबैभन्दा सजिलो लाग्ने भनेको करिश्मा दिदी हुनुहुन्छ। त्यस्तै गौरी मल्ल, निरुता सिंह, बसुन्धरा भुषाल, मिथिला शर्मा, कृष्टि मैनाली, मेलिना मानन्धर आदिलाई मैले नै हेएर डिजाइन गरिदिनुपर्छ भन्नुहुन्थ्यो।’

ऋतुलाई लाग्छ– ‘कलाकरले आफ्नो भूमिकाबारे बुझ्नु आवश्यक छ। यसो भएमा हामीलाई पनि काम गर्न सजिलो हुन्छ। पहिलेका धेरै हिरोइनमा त्यो गुण पाएको छु। तीमध्ये झरना थापा आफ्नो भूमिकालाई बुझेर अभिनय गर्ने अभिनेतृ हुनुहुन्छ। उहाँले ऋतु दि तपाईंले जस्तो मेकअप गरिदिनुहुन्छ म त्यस्तैमा खुसी हुन्छु भन्नुहुन्थ्यो। तर गाह्रो पनि थियो। कृष्टि मैनाली दिदी भने अलिकति कपाल बिग्रियो भने धुमधडाका गर्नुहुन्थ्यो। अरूलाई त्यसो गरे पनि मलाई भने निकै माया गर्नुहुन्थ्यो।’

फिल्म राम्रो हुनका लागि कलाकारको भूमिकाको साथै मेकअप र हेयर स्टाइल पनि कथावस्तुअनुसार हुनुपर्ने, नभए फिल्म नै हास्यास्पद हुने ऋतु बताउँछिन्। ‘फिल्ममा मेकअप र हेयर स्टाइलले धेरै फरक पार्छ। कुनै कलाकारको शहरीया भूमिका छ भने गाउँले पाराको मेकअप गरेर हुँदैन। त्यसलाई शहरीया नै बनाउनुपर्छ। मानिसको लुकलाई चेन्ज गर्ने भनेको हेएर स्टाइल नै हो। त्यसकारण सिचुयसन बुझेर कलाकारको मेकअप र हेएर स्टाइल बनाउनुपर्छ। तर अहिलेको फिल्ममा मेकअप र हेयरलाई सामान्यरूपमा लिनुहुन्छ जस्तो लाग्छ’ –उनको अनुभव छ।

नेपाली फिल्म क्षेत्रमा काम गर्ने तरिकामा देखिएको परिवर्तनको बारे ऋतुको अनुभव छ– ‘पहिले पहिले डाइरेक्टरदेखि आर्टिस्ट टेक्निसियन सबैजना आफ्नो कामप्रति निकै सिन्सिएर हुनुहुन्थ्यो। त्यतिबेलाको डाइरेक्टरमा कमान्डिङ पावर हुन्थ्यो। टिमका मान्छे डाइरेक्टरसँग हतपत बोल्न पनि डराउँथे।

कलाकारहरू पनि आफ्नो भूमिकाबारे सिरियस हुन्थे। डाइरेक्टर तथा प्रोड्युसरहरू फिल्मको स्क्रिप्ट लिएर मेकअप आर्टिस्ट र हेयर ड्रेसरसँग बसेर मेरो फिल्ममा यस्तो कथावस्तु, क्यारेक्टर छ तिमीहरू कसरी काम गर्छौ त भनेर सल्लाह गर्नुहुन्थ्यो। तर अहिले त्यो चलन हराइसकेको छ।

पहिले मेकअप र हेएर ड्रेसरका लागि चाहिने सामानहरू प्रोड्युसरले नै ल्याइदिनुहुन्थ्यो। अहिले सामानहरू आपैmं किन्नुपर्छ। मेकअप आर्टिस्टले आफ्नै सामान प्रयोग गरेर मेकअप गरिदिनुपर्दा आएको पारिश्रमिकको आधाजस्तो त मेकअपको सामग्रीमै जान्छ।’

प्रतिक्रिया दिनुहोस्