मिति सर्ने रोगै पुरानो



कविरस शर्मा
विश्व खेलकूदका बलिया राष्ट्रको पृष्ठभूमिलाई हेर्ने हो भने प्रतिभावान खेलाडी उत्पादनका लागि नियमित रुपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिन्छ । खेलकूदका प्रतिभाहरु सुगम ठाउंमा मात्र नभई, देशको विकट ठाउंमा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर नियमित रुपमा यस्तो प्रतियोगिता गर्ने गरिन्छ । यो कुनै पनि देशको खेलकूद विकासको लागि अपरिहार्य पनि हो । जसका लागि भौतिक, प्राविधिक र प्राकृतिक अनुकूलतालाई मध्यनजर गरी वार्षिक क्यालेन्डर नै तयार पारेर आयोजनाको मिति तोकिन्छ र गृहकार्य पनि सोही अनुरुप नै गरिन्छ ।

तर नेपालको सन्दर्भमा भने यो अलि पृथक बनेको छ । विदेशमा खेल्नका लागि तयारी होस् वा राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय खेलकूद आयोजना गर्ने विषय नै किन नहोस्, तयारीको गति कछुवाको चालमा हुने गर्छ । अनि सधैंजसो यसले त्रुटि निम्त्याउने गर्दछ । पर्याप्त अभ्यासबिना बिदेशमा खेल्न जाने त समान्य नै बनिसकेको छ । अनि बिना पूर्व तयारी प्रतियोगीता आयोजनाको स्थान र मिति तोक्ने प्रचलनबाट पनि अहिले कोही अनभिज्ञ छैनन् । जसको नतिजा बिभिन्न बहानामा प्रतियोगीता सार्न बाध्य हुन्छ ।


यो नियति फेशन जस्तै बनिसकेको छ । विगतलाई केलाउने हो भने यसको प्रमुख कारण भौतिक पूर्वाधार अभावलाई नै मान्न सकिन्छ । ‘जब राति तब बुढी ताती‘ भने झंै जब आयोजनाको मिति नजिकिन्छ अनि हतार हतारमा पूर्वाधार निर्माणमा विशेष जोड दिइन्छ । अनि यसको परिणाम तोकिएको समयबाट मिति सार्नुपर्ने अवस्था सिर्जना हुन्छ । अनि जति बेला पूर्वाधार तयार गरेर पुनः नयां मिति तोकिन्छ, त्यतिबेला प्राकृतिक पक्षलाई नजरअन्दाज गरिन्छ । वर्षा र ग्रीष्म ऋतु खेलका लागि उपयुक्त मानिन्दैन । तर मंसिरबाट बैशाख सरेको आठौं राष्ट्रिय खेलकूद यसको जल्दोबल्दो उदाहरण बनेको छ ।

पछिल्ला तीन दशकलाई फर्केर हेर्ने हो भने यसरी मिति सर्ने संस्कारले निरन्तरता पाएको नेपाली खेलकूदमा जग जाहेर छ । आसन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता पनि यसबाट अछूटो रहन सकेन । खेल पदाधिकारीहरुको बिभिन्न दावीलाई गलत ठह¥याउँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति पटक–पटक सरेको छ ।


यसअघि मंसिरमा हुने भनिएको प्रतियोगिता माघमा सारिएको थियो । तर माघबाट चैत्रको अन्तिम साता गर्ने ठोकुवा गरिएपनि अहिले २०७६ बैशाखको पहिलो साता गर्ने टुंगो लागेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताको विगतलाई हेर्दा पनि निर्धारित समयमै आयोजना नहुनु पुरानै रोगको निरन्तरता भन्दा फरक नपर्ला ।

नेपालमा वि.सं २०३८ सालमा पहिलो पटक राष्ट्रिय खेलकूद आयोजना भएयता तीन संस्करणमात्र नियमित रुपमा सञ्चालन भएको देखिन्छ । पहिलो संस्करण २०३८ साल भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । त्यसको दुई वर्षपछि पोखरामा दोस्रो संस्करण सम्पन्न भएको थियो । यसैगरी तेस्रो संस्करण पनि निर्धारित समयमै २०४२ साल फागुन २३ देखि चैत १ गतेसम्म वीरगञ्जमा आयोजना भएको थियो । त्यसपछि भने राष्ट्रिय खेलकूदले निर्धारित समयमा निरन्तरता पाउन सकेको देखिँदैन । तेस्रो संस्करण सम्पन्न भएको १३ वर्षपछि मात्र २०५५ साल चैत ८ देखि १४ गतेसम्म नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकूद आयोजना भएको थियो ।

त्यसपछि चौथो र पाँचौ संस्करणको बीचमा पनि १० वर्षको अन्तर रहन पुग्यो । २०५८ साल जेठ २१ गते पाँचौ संस्करणको उद्घघाटन समारोहको लागि सम्पूर्ण तयारी भइसकेको थियो । तर त्यसको दुई दिन अघि राजदरबार हत्याकाण्ड जस्तो अकल्पनीय घटना घटेपछि नयाँ मितिका लागि एक दशक कुर्नुपरेको थियो । पाँचौं संस्करण २०६५ साल चैत २४ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना भएको थियो । पाँचौं संस्करण सम्पन्न भएको तीन वर्षपछि २०६८ साल फागुन १४ देखि २१ गतेसम्म छैटौँ संस्करण सुदूरपश्चिमाञ्चलको कैलाली र कञ्चनपुरमा आयोजना भयो । यसपटक पनि दुई वर्षमा हुनुपर्ने प्रतियोगिताले तीन वर्ष कुर्नुपरेको थियो ।

नेपाली खेलकूदको दुर्भाग्य नै मान्नुपर्छ, छैटौँ र सातौं संस्करणको बीचमा पनि पाँच वर्षको अन्तर रहन पुग्यो । सातौं संस्करण २०७३ साल पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलको विभिन्न ६ जिल्लामा आयोजना भएको थियो । यस अर्थमा २०४२ सालमा सम्पन्न तेस्रो संस्करणपछि राष्ट्रिय खेलकूद निर्धारित समयमा आयोजना हुन सकेको छैन ।

चरम आर्थिक समस्या, राजनितिको प्रत्यक्ष प्रभाव, खेल भावना भएका पदाधिकारीको अभाव, खेल निकायहरुमा राजनितिक दलका कार्यकर्ताको नियुक्तिजस्ता कारणले नेपाली खेलकूदमा प्रतियोगिताको मिति सर्ने समस्या देखिएको हो । राष्ट्रिय खेलकूद नियमित रुपमा आयोजना हुन नसकेको कारण नै नेपालमा प्रतिभावान खेलाडीको अभाव देखिन्छ । अब आठौं संस्करण पनि गत मंसिरबाट माघ र चैत्र हुंदै २०७६ को बैशाखमा सरेको छ ।

खासगरी मुलुकमा २०४६ सालको राजनितिक परिवर्तनपछि राष्ट्रिय खेलकूदको कुनै पनि संस्करण निर्धारित समयमा आयोजना हुनसकेको छैन । यसको मुख्य कारणको रुपमा देशको अस्थिर राजनीति, खेलकूदलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्ने सरकारी नीति, खेलकूद क्षेत्रमा देखिने राजनितिक खिंचातानी, खेल पदाधिकारीको निहित स्वार्थजस्ता विषयलाई लिन सकिन्छ । सरकारले समयमै बजेट उपलब्ध नगराउनु पनि अर्को मुख्य कारण हो । जसको प्रत्यक्ष असर भौतिक पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीले दर्शाउछ ।

बैशाखको पहिलो साता मिति सारिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । आठौं बृहत् राष्ट्रिय प्रतियोगितामा पहिलो पटक गैर आवासीय नेपाली टोलीसहित ७ प्रदेश, तीन बिभागीय टोलीहरुबीच प्रतिस्पर्धा हुनेछ । सुरुमा अञ्चलबीच भएको राष्ट्रिय खेलकूद प्रतियोगिता परिमार्जित हुँदै ५ विकास क्षेत्रबीचको प्रतिस्पर्धामा बदलिएको थियो । जुन सातौं राष्ट्रिय प्रतियोगितासम्म कायम थियो ।

नेपाली खेलकूद इतिहासमा शरद चन्द्र शाह सदस्य सचिव हुँदाको समय स्वर्णिम कालको रुपमा हेरिन्छ । उनको सक्रियतामा नेपालमा राष्ट्रिय खेलकूद प्रतियोगिताको सुरुवात भएको हो । नेपालमा पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना भएको पनि तीन दशक पार गरिसकेको छ । नेपालमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना हुन थालेको ३७ वर्ष बितिसक्दा पनि हालसम्म केवल ७ वटा संस्करण मात्र आयोजना हुन सकेको छ ।

यसरी पटक–पटक आयोजनामा हुने विलम्बले प्रतियोगिताको मिति सारिनुको पछाडि विविध कारण हुनसक्छ । तर त्यसले खेल हुने स्थानको मौसमको हेक्का नै नराखि आयोजनाको नयां मिति तय गर्नाले खेलाडीहरुको प्रदर्शनमा के–कस्तो असर पर्न सक्छ भनेर सरोकारवालाको ध्यान जान सकेको देखिंदैन । मंसिरमा गर्ने भनिएको प्रतियोगिता बैशाखमा गर्नाले प्रदेश नं ५ का कतिपय स्थानको प्रचण्डमा गर्मीको मारमा खेलाडीहरु नपर्ला भन्न सकिन्न । खेलाडीको स्वास्थ्य एउटा संवेदनशील विषय हो । यसप्रति पनि ध्यान जान जरुरी छ । प्रत्येक दुई–दुई वर्षमा राष्ट्रिय खेलकूद आयोजना गर्ने भनिए पनि यथार्थमा त्यस्तो नभएकोले मिति सर्ने रोगलाई पुरानै भन्दा फरक नपर्ला ।

स्वर्ण विजेताको पुरस्कार राशिमा वृद्धि

चैत्र २७ गतेदेखि नै खेल शुरु हुने आठौंको बैशाख ५ गते उद्घाटन भएर ११ गते समापन हुने तालिका रहेको राखेपका सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । उनले आठौंमा स्वर्ण पदकधारी खेलाडीको पुरस्कार राशी बढाइएको बताएका छन् । उनका अनुसार, आठौंमा स्वर्ण पदक विजेताले १५ हजार पुरस्कार पाउने भएका छन् । सातौंमा यो पुरस्कार राशी दश हजार थियो । सामुहिक स्पर्धामा स्वर्ण विजेतालाई सात हजार रुपैया कायम गरिएको छ । सातौमा पाँच हजार थियो । नयां राष्ट्रिय किर्तिमान बनाउने खेलाडीलाई भने २५ हजार दिने निर्णय गरिएको छ ।

प्रदेश नं ५ अन्तर्गत पांच जिल्लामा हुन लागेको आठौं राष्ट्रिय खेलकूदमा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ वटा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । ७ सय ९३ वटा स्वर्ण, ७ सय ९३ वटा रजत र एघार सय २ वटा कांस्यसमेत गरी २ हजार ६ सय ८८ वटा पदकको व्यवस्था गरिएको छ ।

आठौंमा ५ हजार २ सय ११ जना खेलाडीको सहभागिता रहनेछन् । जसमा पुरुष दुई हजार ८ सय २५ र महिला दुई हजार तीन सय ८६ जना हुनेछन् । टिम प्रशिक्षक ६ सय ४० र टिम व्यवस्थापक ४ सय ६१ जना रहनेछन् । आठौंमा खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी, उपसमितिमा रहने पदाधिकारी र अन्य अफिसियल गरी करिब दश हजार जनाको सहभागिता रहने सदस्य सचिव विष्टले जानकारी गराएका छन् । यसैगरी पहिलो पटक २४ खेलाडी एनआरएन टोलीबाट आठौंमा सहभागी हुंदैछन् ।

नेपालगञ्जमा बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आठौंको उद्घाटन गर्ने तयारी भएको छ । आठौंमा ३५ वटा खेलमा प्रतिस्पर्धा हुनेछ । त्यसमा १८ वटा खेल बाँकेमा हुनेछन् । अरु खेल बर्दिया, दाङ, कपिलबस्तु र रुपन्देही जिल्लामा हुनेछन् । तीन वटा खेल भने ५ नम्बर प्रदेश बाहिर हुने तय भएको छ । गल्फ काठमाडौंमा, प्याराग्लाइडिङ पोखरा र स्क्वास ललितपुरमा हुनेछन् । चैत्र २७ गतेदेखि शुरु हुने आठौंमा ११ वटा खेल ११ गतेसम्म चल्नेछन् । १४ वटा खेल भने उद्घाटन अर्थात बैशाख ५ गते अघि नै समापन हुने तय भएको छ ।

सातौंको कमी कमजोरी नदोहोरिउन
सातौं राष्ट्रिय खेलकूद प्रतियोगिता केही कमी कमजोरीका बावजूद पनि सम्पन्न भएका थिए । त्यसैले आठौंमा त्यस्तो त्रुटिहरु नदोहोरिउन भनेर सजगता अपनाउनु जरुरी छ । सातौं राष्ट्रिय खेलकूदका केहि खेलहरुमा विवाद भएका थिए भने केहीमा खेलाडीहरू र खेलसम्बद्ध ब्यक्तिहरुले चरम अनुशासनहीनताको नमूना प्रस्तुत गरेका थिए । यस्तै खेलस्थलको अपुरो अवस्थादेखि खेलाडीहरुको वासस्थान र ब्यवस्थापनमा समेत त्रुटिहरु भएका थिए । आवश्यक पूर्वाधारबिना नै प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरु त्यसको प्रत्यक्ष मारमा परेका थिए ।

एकातिर खेल हुँदै, अर्कातिर पूर्वाधार तयार गर्दै गर्दा राष्ट्रिय खेलकुद प्रतियोगिताको गरिमामय साखमाथि नै प्रश्न चिन्ह खडा भएको थियो । नेपाली खेलकुदको उक्त कुम्भमेलामा केही स्पर्धा आवश्यक संरचनाबिनै त्रिपालमुनि सञ्चालन गरिएका थिए । पूर्वाधार अभावकै कारण केहि खेलहरु अँध्यारा कभर्डहल र पालमुनिका कोठामा भएका थिए । यी बाहेक प्रतियोगिता भईरहँदा खेल निष्पक्ष नभएको गुनासो गर्दै खेलाडीले आफ्नो अनुशासन बिर्सेर खेलस्थलमै झै–झगडा र हातपात समेत गरेका थिए । राष्ट्रिय खेलकूदको साख नै धमिल्याउने यस्ता अवाञ्छित क्रियाकलापहरुलाई आठौँमा अंकुश लगाउन जरुरी छ । यस्ता क्रियाकलापलाई निर्मूल पार्न समस्याको मूल कारण बुझी निदान गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्