पीडितलाई सक्दो सहयोग गरौं



हामी नेपालीलाई कहिले प्रकृतिले, कहिले विपद्ले त कहिले नियतिले पटक–पटक अग्निपरीक्षा लिइरहेको छ । नेपालमा सामान्य ठानिएको हावाहुरीले आँधीबेहरीकै रुपधारण गरी बारा, पर्सालगायतका जिल्लामा आइतबार राति वितण्डा मच्चाएको छ । बाराको पर्सौनी, फेटा र सुवर्ण गाउँपालिकाका अधिकांश घरहरु सोत्तर भएका छन् । बारा र पर्सा जिल्लामा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ५ सय बढी घाइते भएका छन् । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् ।

विनाशकारी हावाहुरीका कारण कलैया जिल्ला अस्पताल, वीरगन्जको नेसनल मेडिकल कलेज, नारायणी उपक्षेत्रीय अस्पताल, गण्डकी हस्पिटल, एड्भान्स हस्पिटल, वीरगन्ज हेल्थकेयर युनिटलगायतमा ४ सयजना भन्दा बढीको उपचार भइरहेको छ । ११ जनाको काठमाडौंस्थित त्रि.वि. शिक्षक अस्पतालमा उपचार जारी छ । यति बेला हामी हुरीको वितण्डाले सिर्जना गरेको पीडा र चोट सहन विवश छौं । दर्जनौं व्यक्तिको निधनले एकातर्फ शोक र सन्नाटा छाएको छ भने सयौँ ओत लाग्ने घरसमेत गल्र्याम्म ढलेर क्षतविक्षत भएको दृश्य पनि हेर्न विवश छौं । यस अकल्पनीय विपद्को समयमा शोकलाई शक्तिमा बदलेर घाइतेहरुको उपचार, पीडितहरुको उद्धार र सयौँ घर भत्किएर बिचल्लीमा परेकाहरुको पुनःस्थापना गर्नु आवश्यक छ ।

प्रदेश नं. २ मा भएको यस विपत्तिको सामना गर्न प्रदेश सरकार एक्लैको प्रयासबाट मात्रै सम्भव हुँदैन । उसो त प्रदेश सरकारले मृतकका परिवारलाई जनही ३ लाख रुपियाँ आर्थिक सहायता दिने घोषणा गरिसकेको छ । यति बेला विपद्ले निम्त्याएको दुर्घटनामा ज्यान गुमाउनेका परिवारजन शोकाकूल छन् । बाँचेकाहरु पनि भोकभोकै मर्नुपर्ने नियति आउन नदिन हरेक मनकारी र सहृदयी मन भएका व्यक्ति, संघसंस्था सबैले हरसम्भवको राहत तथा उद्धार गर्नुपर्ने देखिएको छ ।

नेपाली मनहरु एकलाई दुख्दा अर्कोले मलमपट्टी गर्ने संस्कार पनि छ । संघीय सरकारले पनि विपत्तिबाट जनताको मनमा लागेको घाउमा मलम लगाउन विपद् व्यवस्थापन, उद्धार, क्षतिपूर्ति, उपचार तथा तत्काल राहत उपलब्ध गराउन ढिलाइ गर्नुहुँदैन । विगतमा भूकम्प, बाढी–पहिरो, आगलागीजस्ता दैवी विपत्तिमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरुले उद्धार र राहतका निम्ति योगदान गरेका छन् । यसपटक पनि सुरक्षाकर्मीदेखि चिकित्सक, कर्मचारी, स्वयंसेवकहरुले अमूल्य सहयोग गरिरहेका छन् ।

प्रदेश नं. २ को सरकारले विपद् व्यवस्थापनका लागि तत्काल औषधि, खाद्यान्न, त्रिपाललगायतका राहत सामग्रीहरु तथा तत्काल उपचार उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई क्रियाशील गराई परिचालन गर्ने पनि निर्णय गरेको छ । विगतका कमी–कमजोरीहरुबाट पाठ सिक्दै विपद्मा सहयोग उपलब्ध गराउन चाहने व्यक्ति, संस्थाहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिको निगरानीमा प्रत्यक्ष राहत वितरण गर्ने व्यवस्था मिलाउनुपर्छ ।

भूकम्पका बेला नक्कली पीडित र मौका छोप्नेहरुले पीडितका नाममा राहत पाए । अहिले पनि बारा, पर्साको आँधीहुरीको कहर देखाउँदै विदेशमा समेत धमाधम ‘गो फन्ड’मार्फत सहयोग संकलन शुरू भइसकेको छ । सहयोग संकलन गर्ने संस्थाहरु कति वैधानिक हुन् ? संकलित सहयोग कसरी वितरण गर्ने भन्नेसम्बनधी मापदण्ड नभएका कारण मानवीय सहयोगका निम्ति जुटेको सहयोग राशि दुरुपयोग हुने समभावना पनि अधिक हुन्छ । त्यसैले सहयोग गर्न चाहने सरोकारवालाले मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग गरी उद्धार समितिमार्फत पीडितलाई सहयोग गर्नु उचित हुनेछ ।
– दीलिप मगर, काठमाडौं ।

संसार देख्न नपाउनेका लागि
नेपालमा दृष्टिविहीन भएर संसार देख्न नपाएका हजारौँ मानिस छन् । आजको विज्ञान र प्रविधिको युगमा पनि हजारौं व्यक्ति दृष्टिविहीन भएरै बाँच्न बाध्य हुनु अत्यन्त दुःखदायी अवस्था हो । नेपालमा करिब ९ लाख मानिसमा दृष्टिको समस्या रहेको अनुमान छ । प्रतिहजारमा कम्तीमा एकजना दृष्टिविहीन रहेका छन् । नेपालमा मोतीविन्दु, न्यून दृष्टि, जलविन्दु, मधुमेहको असरले हुने डायबेटिक रेटिनोप्याथी, खस्रे रोग, दुर्घटना वा अन्य कारणले आँखामा लाग्ने चोटपटक आदि प्रमुख रहेका छन् । यी समस्या भएकामध्ये धेरैजसोको उपचार हुनसक्ने अवस्था रहन्छ । तर उपचारको अभाव र जनचेतनाको कमीका कारण धेरै मानिस दृष्टिविहीन भएरै बाँच्नुपर्ने नियति छ ।

पछिल्लो समय आँखासम्बन्धी रोगको उपचार सेवा सहज बन्दै गएको छ । केही वर्षयता दक्ष जनशक्ति, आँखा विशेषज्ञको उपलब्धता र प्रविधिका कारण वार्षिक २ लाख बढीको शल्यक्रिया हुने गरेको छ । जसबाट आँखाको समस्या भएका र दृष्टिविहीनले संसार देख्न सक्ने भएका छन् । सामान्य शल्यक्रियाबाटै आँखासम्बन्धी रोग निको भएका छन् । पछिल्लो समय आँखाको नानी प्रत्यारोपणबाट दृष्टिविहीनता भएकाहरुले पुनः दृष्टि पाएका छन् ।

नेपालमा विशेष गरी सन् १९९४ मा आँखा बैंकको स्थापना भएपश्चात् आँखाको नानी प्रत्यारोपण सहज बन्दै गएको हो । नेपालमा हालसम्म करिब १३ हजारजनाले आँखाको नानी प्रत्यारोपण गरी दृष्टि पाएका छन् । चितवनमा पनि नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आँखाको नानी संकलन केन्द्र स्थापना भएपश्चात् ५५ जनाले आँखाको नानी प्रत्यारोपण गरी नयाँ ज्योति पाएका छन् । भीमराज–उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी संकलन केन्द्र स्थापना भएपछि विविध कारणले दृष्टि गुमाएकाहरुले आँखा देख्न पाएका छन् ।

हाम्रो समाजमा अझै पनि मरिसकेपछि अंगदान गर्नुहुँदैन भन्ने धार्मिक परम्परा कायमै छ । तर मरेपछि जलेर, सडेर जाने शरीरका अंगहरु अरुका लागि काम लाग्छ भन्ने चेतना पनि विकसित हुँदै गएको छ । अहिले आँखा दानका अभियन्ता प्रा.डा. सन्दुक रुइत विश्वकै सम्पत्ति बनिसकेका छन् । आँखा दानजस्तो पुण्य अभियानमा सहभागी भएर थुप्रै अभियन्ताले सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

आँखाको नानी दान गर्न चाहनेले जीवित छँदैमा इच्छापत्र दिनुपर्छ । तिलगंगा आँखा अस्पतालको तथ्यांकअनुसार ८० हजारभन्दा बढीले मृत्युपश्चात् आँखा दान गर्ने इच्छापत्र दिइसकेका छन् । बर्सेनि लगभग एक हजारजनाले आँखा दान दिने गरेका छन् । दैनिक सयौं व्यक्तिको मृत्यु हुन्छ । तर तिनको आँखा पनि शरीरसँगै जलेर वा माटोमा कुहिएर जान्छ । मृत्युपश्चात् आँखा र अन्य अंगको दान गर्न सकिन्छ, जसले कुनै व्यक्तिको जीवन लम्ब्याउन र नयाँ जीवन पाउन सक्छ । हरेक गाउँ–छिमेकमा मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्न सके पक्कै पनि दृष्टिविहीनले नयाँ जीवन पाउन सक्छन् । आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तारसँगै मानिसमा आँखा दानको महत्व बुझाउन जनचेतना अभिवृद्धि गर्नु उत्तिकै जरुरी देखिएको छ ।
– नारायण सुनार, चितवन ।

प्रतिक्रिया दिनुहोस्