दुई बर्षको अवधिमा विकासले गति लिएको छः अध्यक्ष दुलाल



दोलखा जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकाले मुलुकको विकास र समृद्धिको लागि सडक निर्माण, कृषि उत्पादन, पर्यटन प्रवद्धन लगायतका कामहरु गरिरहेको दावि गरेको छ । तर आवश्यक कानुन निर्माणमा समस्या, कर्मचारी अभाव जस्ता कारणले सोचे अनुसारको काम भने हुन नसकेको स्थानीय जनप्रतिनिधिहरुको दावी छ ।

यसै सन्र्दभमा दोलखा शैलुङ गाँउपालिकाका प्रमुख, तत्कालिन नेकपा एमाले दोलखाका सचिव एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भरत दुलालसँग नेपाल समाचारपत्रको लागि चिरञ्जीवी मास्केले गरेको कुराकानीः–

मुलुकमा संघिय गणतन्त्र व्यवस्था सुरु भएर संघ, प्रदेश र स्थानिय तहको निर्वाचन सकिएको पनि दुई बर्ष पुगेको छ, के राजनीतिक दलहरुले विगतमा भन्ने गरेजस्तो सिंहदरवारको अधिकार गाँउमा पुगेको हो ?
विगतको तुलनामा ग्रामीण जनताले गाँउतहबाटै अधिकांश कामहरु छिटो छरितो ढङ्गले सम्पन्न गर्न सकेका छन् । र नयाँ राजनीतिक व्यवस्था अनुसार स्थानिय तहको निर्वाचन सकिएको करिब दुई बर्षको अवधिमा विकास निर्माणका कामहरु विगतको तुलनामा अत्यधिकमात्रामा भएका छन् । फेरि पनि संघिय गणतन्त्र स्थापनाको क्रममा भनिए जस्तो सिंहदरवारको सबै अधिकार गाँउ तहमा पु¥याउन भने सकिएको छैन ।

किन त ? के कारणले सिंहदरवारको अधिकार गाँउतहसम्म पु¥याउन सकिएन ?
पहिलो कुरा त संघिय भावना अनुसार गाँउतहमा सिंहदरवारको सबै अधिकार पु¥याउन संविधानको मर्मलाई बुझेर संघ र प्रदेशको कानुनसंग नबाझिने गरी गाँउ तथा नगरपालिकाको कानुन निर्माण हुनु आवश्यक हुन्छ । तर तीनै तहको निर्वाचन सकिएको एक बर्षको अवधिमा पनि संघ र प्रदेशले कतिपय कानुनहरु बनाई सकेको अवस्था छैन् । संघ र प्रदेशकै सबै कानुन बनि नसकेकोले स्थानिय तहले पनि आफुलाई आवश्यक पर्ने कानुन बनाउन सकिरहेको छैन । अनि कानुन नभएपछि सबै अधिकार प्रयोग गर्ने अवस्था रहदैन । दोस्रो कुरा अहिले पनि स्थानिय तहमा कर्मचारीको अभाव छ ।

शैलुङ गाँउपालिकामा तीस जना कर्मचारीको दरबन्दि हुदा जम्मा तीन जना कर्मचारीले काम गरिरहनु परेको छ । अन्य सथानिय तहको अवस्था पनि शैलुङको भन्दा फरक छ जस्तो लाग्दैन । त्यसैले पनि संविधानको भावना अनुसार सिंहदरवारको अधिकार गाँउतहसम्म पुग्न नसकेको हो ।

दोलखाको शैलुङ गाँउपालिका पर्यटन र कृषि उत्पादनको हिसाबले देशकै प्रमुख पालिका मध्यमा पर्छ । गाँउपालिकाले शैलुङ्को पर्यटन प्रवद्धन र कृषि उत्पादनमा बृद्धिगर्न कस्ता कार्यक्रम गरिरहेको छ ?
पर्यटन होस या कृषि उत्पादन त्यसको मुख्य आधार भनेको सडक नै रहेछ । त्यसैले हामीले पहिलो प्राथामीकता सडक निर्माणलाई नै दिएका छौ । गाँउपालिकाको केन्द्रसम्म जोड्ने प्रवेश मार्गको पिचको लागि प्रदेश र संघमा लविङ भै रहेको छ भने गाँउपालिकाले शाखा सडकहरुलाई प्राथामीकतामा राख्दै सबैठाँउमा सात मीटरको सडक अनिवार्य गरेका छौ । अनि गाँउपालिकाको प्रमुख पर्यटकीय केन्द्र शैलुङलाई रिङ्रोडले घर्ने अभियान समेत सुरु गरेका छौ ।

शैलुङलाई दोलखाको पहिलो पर्यटकीय गन्तव्य र देशको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सडकसंगै होटल सञ्चालन लगायतको कुरामा समेत गाँउपालिकाले सहयोग गर्ने नीति बनाएको छ । त्यसैगरी कृषिलाई प्रवद्धन गर्न ट्याक्टर वितरण जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पहिलो आर्थिक बर्षमा गाँउपालिकाले सुरु गरेको विद्यालय मर्च र शिक्षक मिलान अभियान तथा सडक निर्माण अभियानको क्रममा निक्कै आलोचना भएको थियो अहिले ती विषयमा के काम भै रहेको छ ?
हामीले गाँउ पालिकामा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि विकासको लागि बिभिन्न योजनाहरु सुरु ग¥यौ, त्यस क्रममा केहि विवादहरु भए । विशेषगरी सात मीटर चौडा सडक निर्माण अभियान र विद्यालय मर्च तथा शिक्षक मिलानमा विवाद भएको थियो तर अहिले सबैले त्यो आवश्यक थियो भनेर सहयोग गर्नु भएको छ र अन्य गाँउपालिकाहरुले पनि हाम्रो कामको अनुसरण गरिरहनु भएको छ ।

गाँउपालिकाले गर्ने काममा प्रदेश तथा संघले हस्तक्षप गर्ने गरेका छन् ? या भनौ प्रदेश र संघको कारणले गाँउपालिकालाई काम गर्न अप्ठेरो पो भएको छ की ?
स्थानिय तहको काममा प्रदेश र संघले हस्तषप गर्ने सम्भावना रहदैन र गरेका पनि छैनन् तर मैले माथिनै भनेजस्तो प्रदेश र संघले आवश्यक कानुन बनाई नसकेको र त्यसकै कारण सथानिय तहले कानुन बनाउन कठिनाई हुदा भने काममा केहि समस्या देखिएको छ । अनि संघले आवश्यकता अनुसार कर्मचारी नपठाउदा काममा केहि कठिनाई भएको छ ।

तपाईले बनाउनु भएको योजना तथा कार्यक्रमहरुमा उपप्रमुख, गाँउ कार्यपालिका र वडा अध्यक्षहरुले कत्तिको साथ र सहयोग दिनु भएको छ ?
मैले हरेक योजना आपसि सल्लाह र सुझाबकै आधारमा बनाउने गरेको छु त्यसैले मैले या भनौ गाँउ पालिकाले सुरु गरेको हरेक अभियानमा गाँउ कार्यपालिका र हरेक वडाको पूर्ण साथ र सहयोग रहने गरेको छ ।

तपाई नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेता पनि हुनुहुन्छ काम गर्ने क्रममा पार्टीसंग कत्तिको समन्वय हुने गरेको छ ? की पार्टीले हस्तक्षप गर्ने वा तपाईले पार्टीको निर्देशन नमान्ने अवस्था पो बनेको छ की ?
पार्टी एकिकरण पछि गाँउपालिका स्तरमा पार्टी कमिटीले पुर्णता नपाएको अवस्थामा समेत मैले पार्टीको गाँउपालिकाका नेताहरुसंग बैठक गर्ने, सुझाब लिने र पार्टीको घोषणा पत्र अनुसार आफ्नो योजना निर्माण गर्ने काम गर्दै आएकोले त्यस्तो समस्या भएको छैन् । अहिले पार्टी कमिटीले पूर्णता पाएको अवस्थामा गाँउपालिकाको योजनामा त्यसले थप सहयोग नै पुग्ने छ, समस्या या विवाद रहने छैन भन्ने मेरो अपेक्षा रहेको छ ।

अनि नेपाली कांग्रेस लगायतका विपक्षिहरुसंग सल्लाह गर्ने, सुझाब लिने काम चाहि गर्नु हुन्छ की हुन्न ?
मैले गाँउपालिकाको हरेक योजना निर्माण गर्दा र त्यसलाई कार्यान्वयन गर्दा सबै राजनीतिक दलहरुसंग छलफल, समन्वय र सुझाब लिने गरेको छु । कुनै कुनै कुरामा साथिहरुले राजनीति गर्न खोज्ने अवस्था बाहेक अन्य सबै अवस्थामा सबै राजनीतिक दल र जनप्रतिनिधिहरुको सहयोग पाईरहेको छु ।

प्रतिक्रिया दिनुहोस्