भारतीय–नेपाली साहित्यका एक धरोहर



मोहन दुवाल

भत्काइदेऊ त्यो पर्खाल असल चीज नछेलियोस्
खोलिहाल आँखाको त्यो पट्टी साँचो कुरा देख्नलाई
तोडिदेऊ चोखो घर, नयाँ निर्माण गर्नलाई।
यस्तै भावना पोख्छन् कवितामा मोहन दुुखुन। कवितामा जीवन पोख्छन्, रीतिका कुरा बक्छन्, यस्तै–यस्तैमा मोहन दुखुनका कविताहरू नेपाली साहित्यमा देखा पर्छन्। भारतीय–नेपाली भाषा साहित्य क्षेत्रमा आफ्नो अस्तित्व देखाउँदै आएका दुखुन धर्म, राजनीति, समाज विज्ञानलगायत कानुनी मर्महरूबारे तार्किक ढङ्गले धाराप्रवाह आफ्नो विचार सम्प्रेषण गर्ने सिपालु कुशल वक्ताको रूपमा पनि परिचित छन्। थोरै व्यक्तिले मात्र राजनीति र साहित्यलाई सँगसँगै काँधमा बोकेर कद्न सक्छन्। मोहन दुखुनले पनि पश्चिम बंगाल क्षेत्रका सिलगुढी, कालिम्पोङमा बसोबास गरेर राजनीति र साहित्यलाई काँधमा बोकेर, पेसाले अधिवक्ता भएर बाँचेको लोभ लाग्दो उदाहरण छ।
राजनीतिलाई सहअस्तित्वमा हुर्काउन सोच्ने यिनी ‘राजनीतिमा सहअस्तित्व अनिवार्य आवश्यकता छ’ भन्ने गर्छन्। त्यस्तै साहित्यिक क्षेत्रमा अमरत्व प्राप्त गर्न राम्रो खालको धेरैले रुचाउने, धेरैका हितका लागि सोचेर कृतिहरू रच्नुपर्ने आफ्नो धारणा राख्दै आएका साहित्यकार मोहन दुुखुन राईको कुलमा जन्मेर भोजपुर, नेपालबाट कालिम्पोङ पैयुँबस्ती पुग्ने पुर्खाकै निम्ति एउटा राम्रो उदाहरण पनि हो। मतवाली कुलकै अपवादकै रूपमा उनले आफूलाई शाकाहारी मात्र तुल्याएनन्, चुरोट, रक्सीलगायत सबै किसिमको कुलतबाट टाढा राखे। कालिम्पोङका बस्तीहरूमा निकै सङ्घर्षका जीवन गुजारिसकेका मोहन दुखुनले के मात्रै दुःख खपेनन्, उनको व्यथा र दर्दका कथाहरू तत्कालीन अवस्थामा धेरैले बुझेनन्। साम्प्रदायिकतामा रम्न सिपालु राजनीतिका फोहोरी खेल खेल्न रुचाउने मठाधीशहरूले उनका विरुद्ध के मात्र षड्यन्त्र गरेनन्, उनको घरलाई बुल्डोजर लगाई भत्काइदिए, उनीमाथि नकचरो ढङ्गले आक्रमण भयो। तर पनि संयमित भएर सबै किसिमका अप्ठ्याराहरूसँग उनी जीवनपर्यन्त, जुझिरहे। यस्तै सङ्घर्ष, अप्ठ्यारोले मोहनलाई दुखुन बन्न प्रेरणा दियो– दुुखुनकै पर्याय भई मोहन राई जीवन क्षितिजमा तैरिरहे।
पश्चिम बंगाल भारतको पैयुँबस्ती, कालिम्पोङमा बाबु जशबहादुर दुुखुन र आमा हस्तमाया दुखुनको कोखबाट वि.सं. २०११ भाद्र (१६ सेप्टेम्बर १९४४) मा जन्मेका मोहन दुखुन पेसाले कालिम्पोङ र सिलगुढीमा अभिवक्ता भई सेवा पुर्याइसकेका कानुनी सेवक हुन्। सी.पी.आर. (भारतीय कम्युनिस्ट पार्टी) का राष्ट्रियस्तरका कार्यकर्ता भई राजनीतिमा संलग्न दुखुन सन् १९८७ देखि १९९१ सम्मका लागि संसद्मा विधायकसम्म भइसकेका व्यक्तित्व पनि हुन्। उनी राजनीतिमा मात्र होइन साहित्यिक सिर्जनामा पनि निकै सक्रिय व्यक्तित्व मानिन्छन्। नेपाली भाषामा महाकाव्यसम्म १९८४ मा नै लेखेर चर्चामा आइसकेका मोहन दुखुनका प्रकाशित पुस्तकहरूमा प्रेम एउटा अभिशाप (कथासङ्ग्रह), बोहोरा (उपन्यास), अन्तजलन (खण्डकाव्य), कर्तव्यता (उपन्यास), मिलनको त्यो साँझ (नाटक), चाँद नरहेको पूर्णिमा (गीतिनाटक), मन्दाकिनी (महाकाव्य), विश्वलाई शान्ति गीत (कविता), नागबेली र सुनाखरीहरू (निबन्ध), परिणति (नाटक) आदि छन्।
‘साहित्य कोरा दृष्टिकोणविहीन दृष्टि होइन। साहित्यमा प्रत्यक्ष वा अप्रत्यक्ष विचारको स्फुरण हुन्छ। विचार कस्तो रोज्ने हो, त्यो त लेखकको आफ्नो विचार हो। धेरैलाई हुने विचार रोज्दा धेरैले मन पराइने हुन्छ’ भनेर आफ्नो विचार पेस गर्न खोज्ने दुखुनले साहित्यमा आफूले पाएको प्रोत्साहनमा गौरव गर्छन्। शुरू–शुरूमा यिनले लोकगीतहरू गाए, टुक्काहरू मिलाए, पछि ठूलो भएपछि देवकोटा र हृदयचन्द्र पढे। पछि उनले पारसमणि प्रधान, रामकृष्ण शर्माबाट प्रोत्साहन पाए। निरन्तर लेख्नुपर्छ भन्ने प्रेरणा पारसमणिबाट र सत्यलाई सत्य र झुटालाई झुटो भन्नुपर्छ भन्ने शिक्षा रामकृष्णबाट पाएको सन्दर्भ बताउने गर्छन्।
सिर्जनामा विश्वास गर्ने मोहन दुखुन। आफ्नो राजनीति र साहित्य सिर्जनाबाट नेपाली नागरिक स्वदेश–विदेश सबैका लागि बुनियादी आवश्यकीय वस्तुहरू गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको परिपूर्तिका लागि प्रयोग होस् भन्न रुचाउँछन्। मोहन दुखुन रङ्गमा रातो र सेतो मन पराउँछन्। सबै थोकमा, सबै सवालमा र सबै क्षेत्रमा नीति निर्धारण गरी कार्यक्रम गर्न रुचाउने उनले जीवनलाई योजनाबद्ध ढङ्गले प्रस्तुत गर्न अथक प्रयास गरेका छन्। मान्छे हुनुको अर्थ खोज्ने हो भने त्यसको दूरी र परिभाषा खोज्नु निकै गाह्रो छ, मान्छेमा चरित्रको उदय हुनुपर्छ, नयाँ–नयाँ खोजी र आविष्कार गर्न सक्नुपर्छ। अनि मात्र मान्छेको अस्मिता खुल्छ भनेर मान्छेको परिभाषा गर्न खोज्ने मोहन दुखुन यसरी साहित्यको परिभाषा लेख्छन्– ‘युवा पिँढी विकृति र विसङ्गतितर्फ मोडिएको छ। यसलाई सचेतता र विकासतर्फ अभिवृद्धि गर्न राजनीतिक सचेतताको खाँचो पर्यो र यसलाई यथार्थवादीरूपले सर्वसाधारणमा पुर्याउन साहित्यको आड लिइन्छ। देशमा देखिएको विकृति र अन्तद्र्वन्द्वलाई कलात्मक हिसाबले, सूक्ष्म दृष्टिकोणले, युग, समय, परिवेश वातावरणलाई एउटा वाङ्मयको धारमा बाँध्ने अर्थमा कुनै फलको आशा नगरीकन गरिने कर्म नै साहित्य हो।’ साहित्य सिर्जनामा जीवन रम्न दिने, जस्तोसुकै आपतविपतमा पनि जीवन भोग्दै बाँच्ने, मान्छेकै लागि विश्वमा शान्ति चाहिन्छ भनी गीत गाउन कम्मर कस्ने मोहन दुखुनको दृष्टिमा सत्यको अस्तित्व कहिल्यै मर्दैन। यतिमात्र होइन, उनको दृष्टिमा सम्पूर्ण धर्ती, सम्पूर्ण प्रकृति मान्छेकै लागि सिर्जित परिवेश हुन्। कवितामा मोहन दुखुन यसरी व्यक्त हुन्छन्–
धरती आफ्नै दूरीमा घुम्छिन् मानिसकै मोहले
वसन्तमा फूल त मानिसकै मायामा फुल्छ।
राजनीतिज्ञ मोहन दुुखुन। साहित्यकार मोहन दुुखुन। अधिवक्ता मोहन दुखुन। यस्तै त्रिवेणीकै संगम हुन् मोहन दुखुन। यति मात्र होइन, नेपाल र भारतकै भाइचारा सम्बन्धका लागि नेपाल र भारतका दूरी वैमनस्यता मेट्नका लागि मोहन दुखुन एक प्रकारका मितेरी साँघु हुन सक्छन्। नेपालका साहित्यकारहरूमा लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाललाई निकै मन पराउने दुखुनले भारतका साहित्यकारहरूमा निराला, महादेवी बर्मा, टैगोर, सुभास मुखोपाध्याय, मुक्तिबोध, मोहन राकेश, बादल सरकार, तेन्दुलकरका साहित्य रुचि राखेर पढ्ने कुरा बताउँछन्। विदेशी साहित्यकारहरूमा विशेषतः सेक्सपियर, वर्डसवर्थ, शेली, बिलियम ब्लाक, ओ हेनरी, गोर्की, तुर्गनेभ, चाल्र्स डिकेन्स, इब्सेन, बनार्ड शाबाट विशेष प्रभावित छन्।
कविता लेखनमा बढी रुचि राख्ने मोहन दुखुनका कविताहरू जीवन उत्सर्गका विम्बहरूझैँ प्रतीत हुन्छ। तापनि दुरुह शब्द–शैली प्रयोगले कहिलेकाहीँ के–के नपुग भएको जस्तो हुन्छ। तर पनि उनका कवितामा सामाजिक असमानताका अप्ठ्याराहरू, आर्थिक विषमताका खराबीहरू, भोक, रोग र भोकग्रस्त जनजीवनका धुकधुकीहरूका भावबोधका झिल्काझिल्कीहरू कलात्मक सौन्दर्यका साथ प्रस्तुत छन्। मानवजीवन सुखी र आनन्दित रहेको हेर्न रुचाउने उनी शोषणहीन र श्रेणीहीन समाज निर्माण गर्ने सिद्धान्तमा आस्था राख्छन्। साहित्यमा कलात्मकता सजाएर मानवतावादी सिद्धान्तलाई स्वीकार गर्ने दुखुनका यी अभिव्यक्तिले उनको दृष्टिकोण साहित्यमा कति यथार्थवादी ढङ्गका छन्, त्यो स्पष्ट हुन्छ।
जीवनमा निकै उकाली–ओरालीका घुम्तीहरू पार गरिसकेका मोहन दुखुन आफ्ना जीवनक्रममा बटुलेका अनुभवहरूकै प्रसङ्गमा जीवनबारे आफ्नो विचार यसरी व्यक्त गर्छन्– ‘दह्रो लक्ष्य लिएर सदैव नथाकी लगातार यात्रा गरिरहनु जीवनमा सफलता प्राप्त गर्ने महामन्त्र हो। थाक्नु, पलायन आउनु, नैराश्य अँगाल्नु, कार्यदेखि हतास हुनु, जीवनको उद्देश्यबाट वञ्चित हुनु बराबर हो। दुःख आउँछ, सुखको अनुभूति छाउँछ तर दुःख र सुखलाई पचाएर अघि लम्किनु नै जीवनमय जिन्दगी भोग्नु हो।’ यस्तै भावनामा जीवन्त छन् मोहन दुखुन।

प्रतिक्रिया दिनुहोस्