संगीतका योगी शिशिर



विदुर गिरी,
गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी । हो, उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे। यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका छन्। संगीत उनका लागि योग साबित भएको छ।
राप्ती अञ्चलको दाङस्थित लमही नगरपालिकाको बलरामपुर गाउँमा रहेको फूसले छाएको घरमा २०२७ सालमा जन्मेका शिशिरले चौधरी समाजका साथीसँगीसँग हुर्कंदै जाँदा संगीतको योग शुरू गरे। स्थानिय चौधरी समुदायले माघी पर्व मनाउँदा शिशिर उनीहरूसँग भिज्दै गए। बाल्यकालदेखि नै संगीतको लत लागेका शिशिरलाई उनकी आमा पिठ्यँुमा राखेर बोक्दै चाडपर्वमा गीत गुनगुनाउँथिन्।

विस्तारै शिशिरमा संगीतप्रतिको इच्छाशक्ति बढ्दै जाँदा उटपट्याङ खालका लोकगीत गाउन थालिसकेका थिए। उनका गीत सुनेर गाउँका बुढापाकादेखि केटाकेटी र शिक्षकसमेत हास्थे र रमाउँथे। उनले आलु काटे तरकारी त केरा काटे बुंगा, लोखर्केको पुच्छरजस्तो तिम्रो बाउको जुंगाजस्ता पुरानो भाकामा उटपट्याङ शब्द मिसाएर गीत गाउँदा सबैजना मरी मरी हास्थे र उनलाई अभैm गाउन उराल्थे। नेपाली फिल्म निार्मणले गति लिँदै जाँदा उनी फिल्मी गीततिर तानिए। ‘पहिलोपटक कान्छी हेरेर रोए पनि त्यसमा रहेको नारायण गोपालका गीतले मन छुन्थ्यो। हिमालसरी म पग्लिरहेछु सम्हाल मलाई, छोरीको जन्म हारेको कर्म, कान्छी हे कान्छीजस्ता गीतबाट म प्रभावित भएँ। लोक भाकालाई समातिएका र अलिकति मोर्डन फिल्मी गीतले आकर्षित गर्न थाल्यो। रेडियो नेपालबाट मालती मंगले नाटकको गीत सुन्थें। त्यसले पनि मलाई आसाध्यै आकर्षित गर्यो’, शिशिरले बाल्यकाल सेयर गरे– ‘सँगै अम्बर गुरुङको नौलाखे तारा उदाए गीतले मलाई छोयो। म तीनै गीत गुनगुनाउँदै हिँड्थें।’

उमेर सानै थियो, ४/५ कक्षातिर पढ्दै थिए। उनी साथीहरूसँग त्यसमाथि पनि विशेष गरेर चौधरी समुदायका बठिनीया (अविवाहित युवती) सँग बढी हुन्थे। डेढ घन्टा जति हिँडेर वनपाखा जाने क्रममा बाँसुरीका सौखिन उनलाई बठिनियाहरू बासुरी बोक है भन्थे। उनी पनि दंग परेर बाँसुरी बोक्थे र फुक्थे अनि गीत गाइदिन्थे। उनले बजाएको बाँसुरीको धुन र गीत सुनेर बठिनियाहरू उनका लागि दाउराको भारी बनाइदिन्थे। ‘एक दिन यसलाई ठूलो भारी हालिदिएर गाह्रो बनाइदियो भने कस्तो प्रतिक्रिया दिँदो रहेछ भनेर दाउराको भारी ठूलो बनाइदिएछन्। मलाई भारी बोक्न साह्रै गाह्रो भयो, रुनै मन लाग्यो। तर लोग्ने मान्छे हँु यिनीहरूको अगाडि कसरी रोऊँ भनेर रुन पनि सकिनँ। अलि पर पुगेपछि मलाई भारी धेरै नै गाह्रो भयो र मेरो आँखाबाट आँशु खस्न थाल्यो। उनीहरूले टिठ मानेछन् अनि भारी सानो बनाइदिएर माफी मागे’, शिशिरले सम्झिए– ‘चौधरी समुदायका केटाहरूसँग नदीमा माछा मार्न जान्थें। बिदाभन्दा अघिल्लो दिन जमिन खनेर गड्यौला निकालेर कपडामा पोको पारेर राख्थ्यौं। नमरोस् भनेर माटो हाल्थ्यौं। भोलिपल्ट झिसमिसे उज्यालोमा उठेर साथीहरू जम्मा भएपछि माछा बढी पाउने स्थानमा जान्थ्यौं। बल्छीमा माछा धेरै नै पर्थे, अलिकति घरमा तरकारी खान राख्थ्यौं, धेरैजसो माछा बेच्थ्यौं। त्यो बेचेर आफूलाई चाहिने लत्ता कपडा, किताब कापी, बाँसुरी, मादल, गितार किन्थें। स्वाबलम्बी बन्न राप्ती नदीमा डुंगा पनि चलाउँथे, त्यो डुंगा अभैm छ।’

शिशिरले यो सबै दुःख संगीतका लागि गरिरहेका थिए। वाद्यवादनका सामग्री जोरजाम गर्न उनी दुःख र संघर्षलाई पनि सुखपूर्वक स्वीकारीरहेका थिए। ‘दशैंमा ९ दिन रामलीला चल्थ्यो। मैले राम्रो गाउँछु भनेर गाउन स्टेजमा बोलाउँथे, पुरस्कार पनि दिन्थे। म पढेको वनगाउँ जनता माध्यमिक विद्यालयले २/३ वर्षको ग्यापमा अभिभावक दिवस आयोजना गथ्र्यो। त्यहाँ गीत गाउँदा मलाई शिक्षकहरूले नै पुरस्कार दिनुहुन्थ्यो’, शिशिर सम्झँदै थिए– ‘त्यतिबेला ५/१० र बढीमा १५ देखि २० रुपियाँ पुरस्कार पाउँथे।’

गाउँठाउँमा ‘राम्रो गाउने केटो’ भनेर चिनिएका शिशिरले २०४७ सालमा एसएलसी दिएपछि गाउँघरका बुढापाकाले ‘तिमी काठमाडांै गएर गीत गाऊ, तिम्रो स्वर राम्रो छ’ भनेर घचघच्याउनुभयो। सबैले त्यति मात्र भन्नुहुन्थ्यो। तर काठमाडौंको कुन ठाउँ जाने, के गर्ने र कोसँग सिक्ने कसैले केही भन्न सक्नुहुन्नथ्यो। उहाँहरूलाई पनि यसबारे आइडिया थिएन। म मैले रेडियो नेपालमा गीत गाउनै पर्छ भन्ने सोच्थें। एसएलसीको रिजल्ट नआउँदै काठमाडौं आएँ। २०४६ सालको जनआन्दोलनका कारण एसएलसीको रिजल्ट पनि ढिलो आएको थियो’, शिशिरले पुराना दिनको स्मरण सुनाए– ‘म घरको कान्छो छोरो भएकाले मलाई काठमाडौं आउन दिनुहुन्थ्यो। त्यसैले केही भएन भने पेन्टिङ पसलमा काम गर्छु भन्ने सोचले भागेर काठमाडांै आउने निर्णय गरें। म साइन बोर्ड र ब्यानर लेख्ने पनि गर्थें। मानिसहरू यसले राम्रो पेन्टिङ गर्छ, यसलाई काम दियो भने सपोर्ट पनि हुन्छ भनेर मलाई काम दिन्थे। माछा बेचेका, डुंगा चलाएका र साइनबोर्डहरू लेखेबापत आएको पैसा जम्मा गरेर भागेर काठमाडौं आएँ।’ त्यो बेला उनीसँग करिब ३ सय रुपियाँ थियो।

उनी पैसा जोगाउने ध्येयले बाटोमा नास्ता र खाना पनि नखाई साझा बस चढेर काठमाडौं ओर्लिए। ‘त्रिपुरेश्वर आइपुगेपछि छिमेकी गाउँको साथी भेषराज पाण्डे ओर्लिनुभयो र जम्काभेट भयो। उहाँ ठमेलको अस्कल क्याम्पस पढ्नुहँुदो रहेछ। ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। आज मसँगै जाऊँ भनेर आफ्नो डेरामा लानुभयो। मैले उहाँसँग राति अबेरसम्म आफ्नो सपना र उद्येश्य सेयर गरें’, शिशिर विगतमै थिए– ‘यहाँ मेरो आफन्त कोही छैन। दैवले तपाईंलाई पठाएजस्तो भयो भनें। उहाँले धन्दा नमान्नुस्, केही समय मसँग बस्नुस् भन्नुभयो। त्यति बेला खुमबहादुर खड्का यातायातमन्त्री हुनुहुन्थ्यो, साथीले भेटाइदिनुभयो। उहाँसमक्ष साधना गर्नका लागि हार्मोनियमको आवश्यकता छ। तर म रित्तो छु, मसँग पैसा पनि छैन भनेपछि कति पर्छ हार्मोनियम मेरो तर्फबाट किन्नु भनेर १२ हजार रुपियाँ दिनुभयो। अहिले पनि म त्यही हार्मोनियम चलाइरहेको छु। त्यसबाट मैले धेरै गीत रचना गरेको छु र अहिले त्यसैबाट अभ्यास गर्छु।’ शिशिरले थपे– ‘उहाँले रेडियो नेपालमा जागिर वा कोटा खुलेको छ भन्ने पत्ता लगाएर मलाई भन्नुस् म तपाईंलाई त्यहाँ राखिदिन्छु पनि भन्नुभयो। तर त्यो खोजुन्जेल बाँच्नु त पर्यो भनेपछि अहिले सडक विभागको सुपरभाइजरमा डेलिवाइज पारिश्रमिकमा जागिर खाँदै गर्नुस्, अन्त काम पनि खोज्दै गर्नुस भन्नुभयो। ९/१० महिनासम्म सडक विभागमा सुपरभाइजरको जागिर खाएँ। पछि साथी भेषराजले अर्को ठाउँमा दुई जनालाई पुग्ने कोठा लिऔं भन्नुभयो र हामी शंखमूलमा कोठा लिएर बस्न थाल्यौं।’

शिशिरले एसएलसीको रिजल्ट पनि काठमाडौंमै सुने। सेकेन्ड डिभिजनमा पास भएपछि कुन विषय लिएर पढ्दा के हुन्छ भन्नेसमेत नबुझी बानेश्वर क्याम्समा कमर्स लिएर पढ्न थाले। ‘दिमागमा संगीतको भूत बसेको थियो। एकेडेमिक क्वालिफिकेसन पनि बढाउनुपर्छ भन्ने साथीहरूको सल्लाहपछि मर्निङमा क्याम्पस ज्वाइन गरें। तर ५ वटै विषय ब्याक लाग्यो। अब मबाट कमर्स पढ्ने काम हुँदैन भन्ने सोचेर इलहावाद संगीत विश्वविद्यालयको फर्म भरें र तृतीय वर्षसम्म एक्जाम दिएर छोडें। सडक विभागम जागिर खाँदा शनिबार पनि काममा जान्थें। त्यति गर्दँ पनि महिनामा ९ सय आउँथ्यो। त्यही क्रममा स्कुलमा पनि संगीत सिकाउनुपर्यो भनेर डाक्टर डिवाइ पाटिल स्कुल, जुन पछि गएर सीता स्कुल भनेर राखियो त्यहाँ गएँ’, शिशिर संघर्षका कथा सेयर गर्दै थिए– ‘ग्यालेक्सी स्कुलमा आर्ट टिचरको रूपमा मेरो एक जना दाइ हुनुहुन्थ्यो र मैले कतै स्कुलमा म्युजिक टिचरको काम पायो भने गर्न मन लागेको छ भनेको थिएँ। उहाँले मलाई त्यो स्कुलमा जाऊँ, त्यहाँ साइनबोर्ड पनि लेख्नु छ अनि अरू कुरा गरौंला भनेर गयौं। उक्त स्कुलमा साइनबोर्ड पनि लेखिदिएँ र प्रिन्सिपलसँग कुरा पनि भयो। उहाँले ल आउनुुस् भन्नुभयो। काम शुरू भयो, तलब १२ सय थियो, पछि १६ सयसम्म भयो।’

उनले त्यहाँ संगीत शिक्षकका रूपमा २/३ वर्ष काम गरे। तर महँगी बढेको बढ्यै थियो। नजिकैको बागमती स्कुलमा संगीत शिक्षकको पद खाली रहेछ। उनले त्यहाँ पनि पढाउन थाले। दुई ठाउँको तलबले उनलाई अलि आड मिल्यो। ‘त्यसपछि मैले साथी भेषराजलाई तपाईंले मलाई धेरै हेल्प गर्नुभयो। संगीतमा अलि मेहनत पनि गर्नुपर्र्यो, अब म एक्लै संघर्ष गर्छु, योगीकै हिसाबले साधना गर्छु। तपाईंलाई धेरै धेरै धन्यवाद भनेर हाडीगाउँमा सरें। करिब ११/१२ वर्ष त एकदिन पनि नछुटाई भोकल क्लास लिएँ। हाडीगाउँबाट फेरि नजिकै अर्को ठाउँमा सरें। गाईगोठसँग गाँसिएको सटरभित्र एउटा कोठा लिएर भुइँमा सुत्थें। मसँग हार्मोनियम, एउटा ओच्छ्यान र एक जनाको लागि पकाउने र खाने भाँडाहरू थिए। भुइँमा सुत्दा १/२ पटक कन्सुत्लो कानमा पसेर झन्डै बहिरो भइयो। कन्सुत्लो लाग्न थालेपछि त्यहाँको कोठा छोडेर बानेश्वर अँएँ’, उनले सुनाए– ‘बानेश्वर क्याम्पसमा पढाइ शुरू गर्ने बेला नै संगीतकार अम्बर गुरुङसँग संगीत सिक्न शुरू गरिसकेको थिएँ। गाउँमा नौलाखे तारा, मालती मंगले गीतिनाटकको गीत सुनेदेखि नै अम्बर गुुरुङसँग संगीत सिक्छु भनेर निधो गरिसकेको थिएँ। त्यतिबेला मलाई गुरु कति विज्ञ हुुनुहुन्थ्यो थाहा थिएन।

तर सही गुरु छानेछु। गुरुले हरेक ठाउँमा भाग्यमानी मान्छेले दुःख पाउँछ, दुःख भनेकै मानिसलाई माझ्ने चिज हो भन्नुहुन्थ्यो। मेरो कलिलो दिमागमा त्यो कुराले प्रभाव पार्यो। सबै कुरा बुझ्न मलाई लामो समय लाग्यो। संगीत प्लास्टिकको फूलजस्तो हुँदो रहेछ। रगींचगीं छ, तर प्राण छैन। संगीत सिक्न शंखमूलबाट बाँसबारी जान्थें। म गुरुकहाँ भोकल सिक्न गएको थिएँ, तर थाहा नपाउने तरिकाले कलाकार के हो, कस्तो हुनुपर्छ, कर्तव्य के हो, राष्ट्र के हो, धरातलको कुरा र संसारका विश्वप्रख्यात मानिसले दुःखबाट पाएको सफलताबारे धेरै कुरा सिकें।’ उनले सडक विभागको दैनिक ज्यालाका रूपमा मासिक ९ सय पाउँथे। साथीसँग मिलेर बसेकाले खानादेखि भाडासम्मको खर्च आधाआधा तिर्नुपथ्र्यो। ‘साथीको घरबाट खाद्यान्न आउने भएकाले धेरै हेल्प हुन्थ्यो। संगीत सिकेको फि चाहिँ महिनाको २ सय थियो। अन्य खर्चको कारण मलाई २ सय तिर्न पनि गाह्रो भयो। प्राक्टिस त एकछिन मात्रै हुन्थ्यो। एकैछिनमा गुरुलाई कसको अभ्यास कस्तो छ भन्ने कुरा थाहा भइहाल्थ्यो र एउटै कुरा दुई महिनासम्म पनि प्राक्टिस गराउनहुन्थ्यो’, उनको विगतको कथा जारी थियो– ‘पहिले संगीत सिकाउने गरेका दुई स्कुल छोडेपछि रातो बंगला स्कुलमा संगीत सिकाउन थालें। अमर गुरुङको शिष्य हुँ, भोकल सिकाउँछु भनेर सीधैं स्कुल पुगें। त्यहाँ प्रिन्सिपल शान्ता दीक्षित (कनकमणि दीक्ष्ँित) की श्रीमती हुनुहुन्थ्यो। उहाँले छोरा इलम र छोरी हिमालीलाई पनि संगीत सिकाइदिनुस् भन्नुभयो। स्कुल र घरमा संगीत सिकाएको पारिश्रमिकले मलाई अझ बढी राहत भयो। रातो बंगालामा पनि मैले करिब ११ वर्ष संगीत सिकाएँ।’

शिशिरले २०४९ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट दिँदा नै पहिलो गीत रेकर्ड गराएका थिए। ‘त्यो बेला संगीतको बारे थाहा थिएन। र्यान्डम्ली यताउता गरें। दाङको साथी लोकराज गिरीको शब्द लिएँ। गुरु अम्बर गुरुङले चाहिँ तीमीहरू कसैले पनि अहिले नै गीत रेकर्डिङको लागि हतार गर्ने होइन भन्नुभएको थियो। तर मलाई आफ्नो स्वर कस्तो सुनिँदो रहेछ भन्ने मनमा कौतुहलमा थियो। त्यसैले गुरुलाई नभने के फरक पर्छ र भन्ठानेर रेकर्ड गराएको थिएँ। गुरुलाई थाहै नदिई दिलको प्यास म कहाँ गई मेटाउँ भन्ने गीतमा भ्वाइस टेस्ट गराएँ, रेकर्ड पनि गराएँ, किस्सा पनि सुनाएँ। करिब २०५६/०५७ सालतिर कनकजीले तपाईं यति राम्रो गाउनुहुन्छ एउटा एल्बम निकाल्नुस्, म हेल्प गर्छु भन्नुभयो। गीतको रचनाका लागि कनकजीले आफ्नो बुबा कमलमणि दीक्षितलाई चिनाइदिनुभयो। उहाँको रिफरमा भीम विरागलाई फोन गरिदिनुभयो।

उहाँले हुन्छ त भन्नुभयो तर के–के परेर उहाँको गीत गाउने संजोग परेन। उहाँले नै माधव घिमिरे, राजेन्द्र थापाकहाँ जानुस् पनि भन्नुभयो। माधव घिमिरेको मालती मंगलेदेखि नै प्रभाव थियो। मैले उहाँलाई हार्मोनियम बजाएर मालती मंगलेको गीत सुनाएँ। गीत सुनेपछि यति खुसी हुनुभयो कि तपाईंलाई गीत दिनु भनेको मेरो गीतले पनि न्याय पाउनु हो भन्दै उठेर अंगालो नै हालेर उहाँको गीति संग्रह किन्नर किन्नरी कुन गीत मन पर्छ छानेर गाउनूस् भन्नुभयो। हरेक पन्नाका गीत रिपिट गर्दै पढें, कति गीत त मैले बुझ्नै सकिनँ। तै पनि त्यहाँबाट तीन गीत मार्क गरें।

जसमा सारंगी त रेटे पनि, माटै र छोऊ भइदिन्छ फूल र ऐना झ्यालको पुतली थिए।’ शिशिरले आफूलाई गायनमा चिनाउने पहिलो गीत सारंगी त रेटे पनि संगृहित पहिलो एल्बमको किस्सा सुनाए– ‘कनकजीले सहयोग गर्छु भनेबमोजिम २५ हजार रुपियाँ दिनुभएको थियो। मैले गीतकारलाई पैसा नलिन अनुरोध गरें। संगीतकारलाई दिनु परेन। बाँकी एरेन्जमेन्ट, स्टुडियो र बाजागाजाका लागि कनकजीले दिनुभएको पैसा चलाएँ। त्यो पैसाले ३/४ वटा गीतलाई पुग्यो। धेरै दुःख गरेर जोगाएर ९ गीत बनाएँ। यतिका लागि तीन वर्ष लाग्यो। २०५९ सालमा मैले पहिलोपटक एल्बम पहिचान निकालें। त्यो एल्बममा समावेश ३ गीत सारंगी त रेटे पनि, यो देशमा म एउटा मानिस खोजिरहेछु र चौतारीको बरै ढलेछ निकै चल्यो। ती गीत चलेपछि मलाई गीत गाउनका लागि अफर आउन थाल्यो। अरूको कलेक्सन एल्बममा फाट्टफुट्ट गीत गाउने क्रम बढ्दै गयो। मलाई गम्भीर प्रकृतिका सामाजिक धारका, राष्ट्रिय र चेतनामूलक गीतहरूको अफर आउन थाल्यो। कलेक्सन एल्बममा गति गाउने अफर पनि मलाई शक्ति बल्लभ दाइबाट आयो। उहाँको हरेक एल्बममा एउटा न एउटा गीत गाउन दिनुहुन्छ अहिले पनि।’

यसरी शिशिरले सांगीतिक संघर्षलाई अगाडि बढाउने क्रममा करिब ५ सयभन्दा बढी राष्ट्रिय, प्रेम, जीवन, सामाजिक र चेतनामूलक गीत गाए। जसमा ८० प्रतिशत गीत राष्ट्रिय गीत छन् भने त्यसपछि जीवनका गीत धेरै छन्। हार्मोनियम, बाँसुरी, भ्वायलीनजस्ता वाद्यसामग्री बजाउनसमेत पोख्त शिशिरका सारंगी त रेटे पनि, यो देशमा म एउटा मानिस खोजिरहेछु, आमाले घाँस काट्दै गर्दँ, भोकभोकै काम गर्ने कान्छा दाइलाई, हाँस्नलाई ओठ खोलें आँखाभरि आँशु भयो, तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र?, खै कहाँ बग्यो मेलम्ची, माया मारी डाँडापारि, सियोको टुप्पोले, कर्णाली पारि, डोल्पाले चामल पा छैन, पसिना बगाऊँ अब, माया गर्नुको अर्थ, दिन बित्यो बाटो हेर्दै, फुकेर अर्काको दियो, आमाजस्ता गीतहरू लोकप्रिय र श्रवणीय छन्। संगीत सिर्जनमा समेत तल्लीन यिनै शिशिरले हालै आफ्नो छैटौं एल्बमका रूपमा शिशिर नामक एल्बम सार्वजनिक गरेका छन्। ‘मैले नारायण गोपाललाई भेट्न पाइनँ। तर उहाँको संगीतको गीत यसमा गाउने सौभाग्य पाएको छु। सत्यमोहन जोशीको शाश्वत गीत पनि यसैमा छ भने कमलमणि दीक्षितले दरबार हाइस्कुल पढ्दा लेख्नुभएको पुतली कविता, भीम विरागको गीत गाएको छु। गुरु अम्बर गुरुङको संगीतको गीत पनि यसैमा छ’ –शिशिरले सुनाए।

शिशिरले जे जति दुःख र संघर्ष गरे, सबै गीत संगीतकै लागि थियो। तर यति धेरै संघर्षको पहाड पार गर्दा पनि उनी न त आर्थिकरूपले सबल हुन सकेका छन्, न त नयाँ पुस्ताका गायकगायिकाभन्दा अब्बल हुँदाहुँदै पनि चर्चा र देश विदेशका कार्यक्रममा आफूलाई सक्रिय गराउन सकेका छन्। नरम र सोझोपनकै कारण उनी आफूसँग भएको प्रतिभाको तुलनामा छायाँमा त परेकै छन्, अहिलेसम्म पनि डेरामै जीवन गुजार्न बाध्य भएका छन्। ‘छोरीलाई ब्याचलर गराएँ। छोरो एसएलसी दिँदै छ। छोरीलाई अब आफैं संघर्ष गर भनेको छु। घर बनाउन सक्ने गरी कमाएको छैन, तर पनि सन्तुष्ट छु’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्