भुकम्प पिडित भन्छन्ः पहिलो किस्ता बुझेर ऋण तिर्न पनि पुगेन



सिर्जना पन्त, बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिका भिमगिठेका पञ्चविर थापाले भुकम्प पीडितहरुको आवास निर्माणको लागि आएको पहिलो किस्ताले ऋण पनि तिर्न धौ धौ परेको बताउँछन्। सम्पत्तीको नाउँमा एउटा घरमात्र भएका थापाको परिवारलाई २०७२ साल बैशाख १२ गते गएको भुकम्पले क्षणभरमै पाटीको बास बनायो ।

श्रीमती सहित कहिले विद्यालयको भवनका कक्षाकोठा, कहिले प्रतिक्षालय र कहिले छिमेकीको घरमा बसेर गुजारा गरिरहेका थापाको श्रीमतीको पनि मृत्यु भएपछि अहिले बेसाहारा जस्तै बन्नुभएको छ । छर छिमेकी संग ऋण मागेर घर खर्च र श्रीमतीको काज किरिया गरेका थापाले भुकम्प पीडितको लागि आवास निर्माण गर्न आएको पहिलो किस्ताको ५० हजार ऋण तिरेरै सकिएको बताउँनुभयो ।

‘पचार हजार रुपैयाँले ऋण तिर्न त पुगेन घर कसरी बनाउँने ? पहिलो किस्ताले घर सुरु नगरे पैसा फिर्ता गर्नुपर्छ भन्ने सुनेका थापा भन्नुहुन्छ, विहान बेलुका खाने गाँस छैन मलाई बाँधेर लगेहुन्छ ।’ बडिगाड गाउँपालिकामा मात्रै १ सय ४७ जना भुकम्प पीडित छन् । जसमध्ये १ सय ३३ भुकम्प पीडितहरुको मात्र जिल्ला आयोजना कार्यान्वय ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा सम्झौता भएको छ । सम्झौता भएका १ सय ३३ घरधुरीले आवास अनुदानको पहिलो किस्ता बुझेको भएपनि पहिलो किस्ता बापतकोे ५० हजार रुपैयाँ लिएर घर बनाएका भुकम्प पीडितलाई प्राधिकरणले मापदण्ड विपरित घर निर्माण गरेको मूल्याङकन गरे पछि ३६ घरधुरीले दोस्रो र २२ घरधुरीले तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् भने अधिकाशं भुकम्प पीडितहरु अनुदानको दोस्रो र तेस्रो किस्ता लिनबाट बञ्चित भएका छन् ।

वास्तविक भुकम्प पीडितले तत्काल ऋणधन गरी ओत लाग्ने बास निर्माण गरे पनि अनुदानबाट वञ्चित हुनुपरेको अधिकाशं भुकम्प पीडितहरुको गुनासो छ । सरकारले कहिले मापदण्ड तयार गर्छ भनेर खुल्ला आकाश मुनि बस्न सकिएन बडिगाड गाउँपालिकाका भुवनिश्वर लामिछानेले भन्नुहुन्छ, ‘ओत लाग्नको लागि ऋणधन गरेर बनाएको घर अहिले मापदण्ड पुगेन भनेर भत्काउँनु पर्ने अवस्था हुन लाग्यो ।’

सबैभन्दा धेरै ६ सय ५२ भुकम्प पीडित रहेको जैमिनी नगरपालिकामा ५ सय ९७ जनाले पहिलो किस्ता बुझेकोमा २ सय ८८ जनाले दोस्रो र १ सय २४ जनाले मात्र तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । त्यस्तै ६ सय २२ भुकम्प पीडित रहेको बागलुङ नगरपालिकामा ५ सय ४७ घरधुरीको अनुदान सम्झौता भएर पहिलो किस्ता बुझेको भएपनि २ सय ५७ घरधुरीले दोस्रो र १ सय ८२ ले मात्र तेस्रो किस्ता बुझेका छन् । ३ सय ८९ कुल लाभग्राही भएको गल्कोट नगरपालिकमा ३ सय ४५ घरधुरीको सम्झौता भएको थियो जसमध्ये १ सय २८ घरधुरीले दोस्रो र ६३ घरधुरीले तेस्रो किस्ता बुझेका छन् ।

‘साउ संग व्याजमा ऋण लिएर घर बनायौँ, ब्याजले घरखेत हुने अवस्था भयो’ जैमिनी नगरपालिका–१० राङखानीकी भुकम्प पीडित मनरुपी रानाले भन्नुभयो–‘अनुदान नपाए भएको घरपनि साहुलाई बुझाउनु पर्ने अवस्था हुनेछ ।’ पीडितको खातामा प्राप्त अनुदान रकम समेत प्राधिकरणले रोकेको उनीहरुको दावी रहेको छ । पहिले छिटो घर बनाउनुहोस भन्ने अहिले अनुदान रोक्ने कस्तो प्रवृत्ति हो’ दमेकका भुकम्प पीडित चिन्तमणी परियारले भन्नुभयो–‘सरकारले सबै पीडितलाई समान व्यवहार गर्नुप¥यो ।’

सरकारले कार्यविधि निर्माण हुनुपूर्व निर्माण भएका घरलाई सम्बन्धी स्थानीय तहले प्रमाणिकरण गरी सिफारिस गरेको आधारमा घर बनाई बसोबास गर्ने घरधनीहरुलाई अनुदानको रकम एक मुष्ट तीन लाख उपलब्ध गराउने निर्णय गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख रामाशिष शाहले जानकारी दिनुभयो ।

वास्तविक भुकम्प पीडितले राहत नपाउनु दुःखद हो’ जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले भन्नुभयो ‘जटिल प्रक्रियाको कारण जनताले राहत पाउन ढिलाई भएको छ । ’ समन्वय समितिले सरल र सहज तरिकाबाट पूर्व्निर्माण भएका घरलाई अनुदान उपलब्ध गराउन पहल गरेको पनि बताउँनुभयो । निरन्तरको खबरदारी पछि अनुदान दिने निर्णय भएको छ’ उहाँले भन्नुभयो–‘कार्यविधि निर्माण भए पछि सबैले अनुदान पाउँछन ।’

प्रतिक्रिया दिनुहोस्