‘शुक्लाफाँटा घुम्न जाऔं’ पर्यटन महोत्सव, ३ हजार पर्यटकलाई घुमाउने लक्ष्य



मनोज भट्ट, महेन्द्रनगर ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आन्तरिक र बाह्य पर्यटकहरुलाई निकुञ्जभित्र घुमाउन शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको छ । भीमदत्त नगरपालिकाको संयोजनमा सबै कञ्चनपुरका सबै स्थानीय तह र सरोकारावालाको सहकार्यमा चैत १५ देखि २१ गतेससम्म महोत्सव आयोजना गरिएको छ ।

महोत्सव अवधिभरि दैनिक तीन सयदेखि पाँच सय पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घुमाउने लक्ष्य राखिएको छ । त्यसका लागि दैनिक १० देखि १५ सवारी साधन निकुञ्जभित्र पर्यटकलाई घुमाउने छन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजनाको तयारी सुुरु गरिएको बताए ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य हो, नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी यो महोत्सव आयोजना हुन लागेको छ’ महोत्सव सम्बन्धि जाकारी गराउन मंगलबार भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख विष्टले भने,‘यो महोत्सव सबैको सहकार्य, समन्वय र सहयोगमा हुन लागेको छ, सबै आयोजक छौ, सबैको लक्ष्य शुक्लाफाँटामा पर्यटन प्रवद्र्धन गर्ने भन्ने हो ।’

शुक्लाफाँटा घुम्न जाऔ भन्ने नारा सहित महोत्सव अवधिभरि आन्तरिक र बाह्य पर्यटकलाई उत्प्रेरित गरिने नगर प्रमुख विष्टले बताए ।

भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधार निर्माणको वर्ष घोषणा गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटन हब बनाउन विशेष प्राथमिकता दिएको बताए ।

शुक्लाफाँटा पर्यटन प्रवद्र्धनका लागि गत वर्ष नगर कार्यकालिकाको बैठक शुक्लाफाँटामा गरिएको थियो ।

पत्रकार सम्मेलनमा नाटाका सुदूरपश्चिम प्रदेश संयोजक माया प्रकाश भट्टले शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनबाट निकुञ्जको प्रचार हुने, आन्तरिक तथा बाह्य पर्यटक आउने, स्थानीयको आर्थिक अवस्था सुधार आउने र शुक्लाफाँटालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताए ।

महोत्सव औपचारिक कार्यक्रम गरी उद्घाटन गरिने छ । उद्घाटन कार्यक्रममा जन प्रतिनिधि, राजनीतिक दल, उद्यमी व्यवसायी, पर्यटन व्यवसायी लगायतका विभिन्न क्षेत्रका व्यक्तिलाई समावेश गराइनेछ ।

पत्रकार सम्मेलनमा नगर प्रमुख विष्ट सहित नाटका प्रदेश संयोजक भट्ट, सुदूरपश्चिम प्रदेश उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद पाठक, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थी लगायतका सहभागी भएका छन् ।

स्रोत व्यवस्तापन समितिको संयोजकमा कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, आवाश तथा अतिथि सत्कार समिति संयोजकमा प्रमानन्द भण्डारी, प्रचारप्रसार समितिमा लक्षण तिवारी, मञ्च समारोह व्यवस्थापन समिति संयोजकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन शैलेन्द्र चौधरी र समनवय तथा सोसिएल मार्के्िटङ्ग समिति संयोजकमा माया प्रकाश भट्ट छन् ।

३ सय ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगाको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जमा २ हजार ३ सय ४० बाह्रसिंगा छन् ।

प्रतिक्रिया दिनुहोस्