जताततै उजाडका पीडा



गाउँहरू उजाड छन् । शहरहरू उजाड छन् । समग्र देश उजाड छ । गाउँ, शहर र देश नै उजाड हुनुको प्रमुख कारण हो वैदेशिक यात्रा । अध्ययनको नाममा वा वैदेशिक रोजगारीका नाममा । युवायुवतीहरू लामबद्ध छन् विदेशिन । सरकारमा बस्नेहरूका लागि प्रिय होला, रेमिट्यान्स आइरहेको छ । रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याइदिँदा राष्ट्रिय बजेट बनाउन सजिलो भएको होला । तर यसले पु¥याएको क्षति अतुलनीय छ । खेती गर्ने मानिस नभएर जमिन बाँझो हुने क्रम बढ्दै गयो । दिन–प्रतिदिन खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने भयो । चौपाया पाल्ने मान्छे छैनन् । मासु पनि विदेशबाट आयात गर्नुपर्ने भयो । विदेश हुनेका पति वा पत्नी शहरतिर पलायन भए, छोराछोरी पढाउने नाममा । गाउँमा अहिले वृद्धवृद्धाहरू मात्रै छन् ।

सुन्दा अप्रिय लाग्छ, युवाहरूको रगतले साटेको पैसाले सरकार अर्थतन्त्र धानिरहेको छ । सरदर दैनिक तीनजना युवाको लास विमानस्थलबाट देशभित्र आउँछ । एउटा मृत्युले ३० जनालाई पिरोल्छ भनिन्छ, यसरी हेर्दा दैनिक सयजना मानिस वैदेशिक रोजगारीको मृत्यु–पीडामा छन् । रोजगारीका क्रममा हुने अंगभंगको अवस्था त अझ विकराल छ । घरबाट टाढिएका युवायुवती लागू औषध र यौन दुव्र्यसनमा फस्ने र यौनरोगका सिकार हुन सक्ने अर्को विकराल अवस्था छ । श्रम गर्न विदेशिएका युवायुवती फर्कन्छन् तर कस्तो अवस्थामा रु कसैले उत्तर दिन सक्दैन । वैदेशिक रोजगारीबाट अंगभंग भएर फर्किएका वा गम्भीर रोगसहित फर्किएकाहरूको व्यवस्थापनमा सरकार गम्भीर देखिँदैन ।

राजनीतिक पार्टीहरूका लागि युवाहरूको उपादेयता केवल आन्दोलनमा झन्डा–डन्डा बोकाउन र निर्वाचनमा मत खसाल्नजस्तो मात्रै देखिएको छ । पार्टीहरूसँग वा विकासका सपना देखाउने सरकारसँग युवाहरूलाई देशमा नै कसरी रोक्ने भन्ने कुनै दृष्टिकोण छैन । अध्ययनका लागि विदेशिने युवाहरूसँग पनि आशा गर्ने ठाउँ देखिएको छैन । विदेशमा पुगेर उच्च शिक्षा हासिल गरेकाहरू पनि विदेशकै रोजगारीमा रमाउन थालेका छन् ।
देशको बारेमा नीति निर्माण गर्ने दायित्व सरकारको हो । देश बनाउने हो भने युवाहरूलाई विदेश निर्यात गरेर देश बन्न सक्दैन । संसारका सबै देशहरू युवाहरूको बलमा मात्रै सम्पन्न भएका छन् । नेपाललाई समृद्ध बनाउने हो भने युवाशक्तिलाई देशमा नै रोजगारी दिन आवश्यक छ । बन्द भएका कलकारखाना खुलाउनुपर्छ । नयाँ उद्योग थपिनुपर्छ । बाँझिएका जग्गा फेरि लहलह धान फल्ने बनाउनुपर्छ । सरकारले गफ होइन, काम थाल्नुपर्छ । यसका लागि प्रमुख काम भनेको देशमा नै रोजगारी सिर्जना मात्रै हुन सक्छ । युवाहरू देशमा नै रोजगार भएमा फेरि गाउँ र शहरहरू गुलजार हुनेछन् । देशको मुहार उज्यालिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्