घट्दै एसइईको त्रास



हिक्मत नेपाली, दैलेख । आइतवार देखि सुरु भएको एसइई परीक्षा दैलेखमा मर्यादित रुपमा संचालन भईरहेको छ । माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षा दैलेखमा व्यवस्थित र मर्यादित रुपमा संचालन भईरहेको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका अनुसार परीक्षाको पहिलो दिन आइतवार अंग्रेजी र सोमवार नेपाली विषयमा परीक्षा शान्तिपूर्वक सम्पन्न भएको छ । विद्यालय तहको महत्वपूर्ण खुट्किलो मानिने एसइई परीक्षा ग्रेडिङ प्रणाली लागु भईसकेको छ ।

‘विगतमा फलामे ढोका भनिने गरिएको माध्यमिक शिक्षा परीक्षामा परिक्षार्थीका अभिभावकहरु चिट चोराउनकै लागि परीक्षा केन्द्र वरिपरी जम्मा हुन्थे,’ जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख खगेन्द्र बहादुर मल्लले भन्नुभयो ‘ग्रेडिङ लागु भईसकेपछि पनि गत बर्षसम्म परीक्षाको समयमा होलल्ला हुने गरेकोमा यस बर्षको परीक्षा निकै व्यवस्थित र मर्यादित भएको छ ।’ ग्रेडिङ प्रणालीमा रुपान्तरण भएपछि बनेको एसइई परीक्षालाई मर्यादित, व्यवस्थीत र चिटलेस बनाउन आफुले प्रयत्न गरेको उहाँको दाबी छ । एसइई परीक्षामा ग्रडिङ प्रणाली कार्यान्वयनमा आएसंगै विद्यार्थीहरुमा परिक्षाको त्रास कम हुँदै गएको इकाई प्रमुख मल्लले बताउनुभयो ।

‘अभिभावक पनि सचेत हुनुभएको छ, नौमूले गाउँपालिकाका शिक्षा शाखा प्रमुख झलक प्रसाद कोईरालाले भन्नुभयो ‘विगतमा अभिभावकको चिट चोराएर पास गराउनुपर्छ भन्ने मानसिकता थियो, अहिले अभिभावकहरुमा पनि चेतना जागेको छ, त्यसले पनि परीक्षा व्यवस्थीत र मर्यादित भएको हो । परीक्षामा कम नम्बर आएमा ग्रेट बृद्धिको परीक्षा हुने भएका कारण पनि विद्यार्थीहरुमा परीक्षाको त्रास घट्दै गएको भैरब माध्यामिक विद्यालय नौमूले परिक्षा केन्द्रका केन्द्राध्यक्ष नगेन्द्र बहादुर सिंहले बताउनुभयो ।

पास फेलको प्रणाली हटेसंगै विद्यार्थीहरुले आफुलाई सुरक्षित महसुस गर्न थालेको उहँको भनाई छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखले उपलब्ध गराएको तथ्यांक अनुसार यस बर्ष दैलेखमा कुल ५ हजार ३ सय विद्यार्थी एसइईमा सहभागि छन् । जसमध्ये नियमिततर्फ चार हजार ९ सय ५३ छन् । यस्तै ग्रेडबृद्धिका लागि ३ सय ४७ जना विद्यार्थी एसइई परीक्षामा सहभागि छन् । एसइई परीक्षाका लागि दैलेखमा २४ वटा परीक्षा केन्द्र छ । २२ वटा नियमित तर्फको परीक्षा केन्द्र र २ वटा ग्रेडबृद्धिका लागि छुटै परीक्षा केन्द्र रहेको इकाई प्रमुख मल्लले जानकारी दिनुभयो ।

केन्द्राध्यक्षलाई १० हजार पुरस्कार
दैलेखमा एसइई परीक्षा व्यवस्थीत र मर्यादित रुपमा संचालन गर्ने उत्कृष्ठ केन्द्राध्यक्षलाई पुरस्कारको घोषणा गरिएको छ । परीक्षालाई मर्यादित रुपमा संचालन गर्ने केन्द्राअध्यक्षलाई १० रुपैयाँ पुरस्कार दिईने इकाई प्रमुख मल्ले बताउनुभयो । जिल्लामा रहेका २४ वटा परीक्षा केन्द्र मध्ये सबै भन्दा राम्रो, व्यवस्थीत र मर्यादित परीक्षा संचलान गर्ने केन्द्राअध्यक्षलाई रु १० हजार पुरस्कार प्रदान गरिने उहाँको भनाई छ । जिल्ला शिक्षा समितिले मापदण्ड निर्माण गरेर उत्कृष्ठ केन्द्राध्यक्ष छनौट गरी समितिको कोषबाट पुरस्कार दिईने मल्लले जानकारी दिनुभयो ।

सेनेटरी प्याड वितरण
एसइई परिक्षालाई छात्रामैत्री बनाउन दैलेखको महाबु गाउँपालिकाले सेनेटरी प्याड वितरण गरेको छ । परीक्षाको पहिलो दिन आइतवार गाउँपालिकाको स्वास्थ्य शाखाले सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाले छात्रालाई परीक्षाको समयमा महिनावारी भएमा विभिन्न समस्या उत्पन्न हुन सक्ने भन्दै सुरक्षित महिनावारी, सहज रुपमा परीक्षा दिन सकुन भन्ने उद्देश्यले १ सय ४० जना छात्रालाई सेनेटेरि प्याड विरतरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा इन्चार्ज रमेश दशौंदीले बताउनुभयो ।

परीक्षा केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा
यसैविच दैलेखको नौमूले गाउँपालिकाको भैरब मावी नौमूले परीक्षा केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराईएको छ । परीक्षा केन्द्रमा सहभागि विद्यार्थीहरु परिक्षा दिईरहेका बेला विरामी परेमा प्राथमिक स्वास्थ्य सेवा दिन प्राथमिक स्वास्थ्य उपचार सेवा दिइएको हो । प्राथमिक स्वास्थ्य सेवाका लागि नौमूले प्राथमिक स्वास्थ्य केन्द्रका अनमी सिता केसी परीक्षा केन्द्रमा खटिएको केन्द्राध्यक्ष नगेन्द्र बहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्