तीन जिल्लामा ट्रिपरलाई ‘टाइम कार्ड’ लागू



विराटनगर, (नेस)
प्रदेश १ का प्रमुख ती जिल्ला मोरङ सुनसरी र झापामा सोमबारदेखि टिपरलाई टाइमकार्ड लागू गरिएको छ । मोरङको केही स्थानमा आईतबार नै टाइमकार्ड लागू गरिएता पनि सुनसरी र झापामा भने सोमबारदेखि टाइम कार्ड लागू गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहर कार्यालय इटहरीले जनाएको छ ।

तिव्र गतिमा गुड्ने टिप्परको गति कम होस् र दुर्घटना न्युनिकरण होस् भन्नका लागि यो अभियान संचालनमा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ । टाइमकार्डका लागि झापा, मोरङ र सुनसरीमा १ हजार २ सय वटा पासबुक आकारको टाइम कार्ड वितरण गरिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए । सुनसरी र झापामा भन्दा मोरङमा सबैभन्दा बढी टिपर रहेको अनुमान ट्राफिक प्रहरीको छ ।

मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिपर चल्ने गरेको मोरङ ट्राफिक प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । टाइम कार्ड लागूभएपछि निर्धारित समयभन्दा पहिले चालकले टिप्पर लगेमा वा ल्याएमा कारवाही गरिनेछ । यसको कार्यान्वयनपछि टिप्परको कारणबाट भईरहेको दुर्घटना न्युनिकरण भएर जाने ट्राफिक प्रहरीको भनाई छ । समय भन्दा चाँडो पुगेमा वा गएमा पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिने छ भने दोस्रो पटक पुनः नियमको उल्लंघन गरेमा कारवाहीको दायरा बढाउने प्रहरीले जनाएको छ ।

‘टाइम कार्ड’ लाग भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छाप समेत लगाउनेछ । मोरङको हकमा पहिलो चरणमा ट्राफिक प्रहरीले मोरङको भाउन्ने देखि शुरु हुने टिप्पर विराटचौकसम्म ९ किलोमिटरको दुरी पार गर्न २० मिनेटको समयसिमा दिएको छ । भाउन्ने देखि हिडेको टिपर २० मिनेट भन्दा अगाडी नै विराटचौक पुगे ट्राफिकको कारवाहीमा पर्नेछ । यसरी हिँडेका टिप्परहरु हरेक चोकमा निगरानीमा पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्