पानीका मुहान संरक्षणमा महिला



बैतडी, (नेस)
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ सेराका महिलाहरुले गाउँमा रहेको पानीको मूहान संरक्षणका लागि पहल थालेका छन् । सुख्खायामको समयमा पानीको मूहान सुक्ने भएकाले मूहानको माथि पट्टी महिलाहरुले रिचार्ज पोखरी निर्माण गरेका हुन् ।

सुख्खायाममा मूहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले मूहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी कार्कीले जानकारी दिनुभयो । पानीको मूहान संरक्षण गरेमात्रै आफूहरुले दूषित खानेपानीबाट मुक्ति पाउने भएकाले आफूहरु रिचार्ज पोखरी निर्माणमा जुटेको उहाँले बताउनुभयो । नवज्योती महिला सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरुले मिलेर पानीको मूहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण गरेको स्थानीय तारा कार्कीले जानकारी दिनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजंगलको दोहन, जथाभावी डोजरको प्रयोग लगायतका कारणले पानीका मूहान सुक्न थालेपछि मूहान संरक्षणमा जुटेको उहाँले बताउनुभयो । पानीको मूहानबाट माटोको ढिस्कोहरुले ड्याम बनाएर रिचार्ज पोखरी निर्माण गरेको स्थानीय भागरथी चुनाराले बताउनुभयो ।

ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाजले तटीय क्षेत्रका बासिन्दाहरुलाई पानीका मूहान संरक्षणका बारेमा जानकारी दिएपछि स्थानीय महिलाहरुले रिचार्ज पोखरी निर्माण गरेको कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्