सामुदायिक विद्यालयमा विद्यार्थीको चाप



विमल विष्ट, डोटी
जिल्लाका निजी विद्यालयमा पढ्ने बिद्यार्थीहरु हिजो आज सामुदायिक बिद्यालयमा भर्ना हुन थालेका छन् । जिल्लामा रहेका सामुदायिक बिद्यालयहरुले निजी बिद्यालयभन्दा राम्रो पढाई दिन थालेपछि उनिहरु निजी छोडेर सामुदायिक बिद्यालयतर्फ आर्कसित हुन थालेको सामुदायिक बिद्यालयका शिक्षकहरुको दाबी छ।

बिगतको भन्दा केही फरक तथा राम्रो पढाई सामुदायिक विद्यालय हुनथालेको र शिक्षाको गुणस्तर पनि राम्रो भएका कारण बिद्यार्थीहरुको आकर्षण बढ्न थालेको भुमीराज माबी सलेनाका पूर्व प्रधानाध्यापक जगतबहादुर बलायरले बताउनुभयो । जिल्लाको शिखर नगरपालिका १ केदारेश्वर माबी कपल्लेकी, आदर्श गाउँपालिका स्थित तलारामा रहेको तलारा माबी,सदरमुकाम सिलगढीमा रहेको पद्मपब्लिक मुक्तीनायरण माबी, दिपायलमा रहेको दिल्पेशवर माबी, जोरायल गाउँपालिका १ मा रहेको घण्टेश्वर माबी जोरायल लागयतका सामुदायिक बिद्यालयहरुमा पछिल्लो समय बिद्यार्थीहरुको चाँप बढ्न थालेको सो क्षेत्रका अभिभावकहरु बताउछन् ।

अन्य निजि स्कुल भन्दा पनि बढी यहाँका सामुदायिक बिद्यालयमा पढाई हुन थालेको भन्दै बिद्यार्थीका अभिभावक तथा बिद्यार्थीहरुको रोजाईमा निजी भन्दा सामुदायिक बिद्यालय पर्न थालेको जोरायल गाउँपालिका–६ का स्थानिय चित्रराज भट्टले बताउनुभयो । अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुको दाबी छ ।

यहाँका केही सामुदायिक बिद्यालयमा प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु सामुदायिक बिद्यालय तर्फ आर्कषित हुन थालेको शिखर नगरपालिका वडान. १ कपल्लेकीका वडाअध्यक्ष खडक शाहीले बताउनुभयो ।
स्थानिय अभिभाबकहरुका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा, तथा बैतडी जिल्लाका बिद्यार्थी समेत यहाँका सामुदायिक बिद्यालयमा पढ्न आउन थालेको आर्दश गाउँपालिमा रहेको तलारा माबीका प्रधानाध्यापक टेकबहादुर सिंहले बताउनुभयो ।

यहाँका सामुदायिक बिद्यालयहरुले पछिल्लो समय आफनो पढाईको गुणस्तरमा सुधार ल्याएसँगै बिद्यार्थी सँख्या पनि बढाउन थालेको दिपायल घोल्तडाका स्थानिय बहादुरे कोलीले बताउनुभयो । निजी बिद्यालयमा पढ्ने बिद्यार्थीहरु धमाधम सामुदायिक बिद्यालयमा पढ्न जानथालेपछि निजी बिद्यालयहरु सञ्चालनमा समस्या हुन थालेको बताईएको छ । पछिल्लो समय यहाँका सामुदायिक बिद्यालयमा अग्रेजी माध्यमबाट पनि पढाई सुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्