राष्ट्रिय तथा सामुदायिक वनमा आगलागी हुनेक्रम बढ्यो



बुद्ध नेपाली, सिन्धुली । आईतवार विहानै देखि वनमा लागेको आगोका कारण गोलन्जोर गाउपालिकाको ६ को कामीवारी, भुत्ताखोला क्षेत्रको बस्तीहरु जोखिममा परेका छन् । आईतवार देखि नै लागेको आगो सोमवार साँझमा फैलिएर गोलन्जोर गाउपालिकाको वडा नं.६ को कामीवारी, भुत्ताखोला क्षेत्रका करिव ३०,३५ घर आगोको उच्च जोखिममा परेका स्थानिय सुदिप कार्कीले बताए ।

प्रहरी, स्थानिय, जनप्रतिनिधि लगाएको सक्रियतामा आगो नियन्त्रण गर्ने प्रयास गरेपनि नियन्त्रण गर्न नसकिएको स्थानिय सुदिप कार्कीले जानकारी दिए ।‘हिजो देखि लागेको आगो हो । विहान सानो देखिएको थियो । निभ्दै जाला भन्ने सोचेका थियौं साँझमा त्यो आगो झन बढ्यो । जोखिममा रहेका घरहरुलाई घेरा बनाएर आगो निभाउने क्रममा छौं’उनले भने ।

यता कमलामाईको कुसुम सामुदायीक वन, पञ्चकन्या समुदायिक वन, खट्टार, डाँडीका सामुदायिक वनमा पनि एक साता यतादेखि आगो लगाी रहेको स्थानियले बताएका छन् ।

गर्मीयाम तथा सुख्खा समय लागेसँगै सिन्धुलीका राष्ट्रिय तथा सामुदायिक वनमा आगोलागी हुनेक्रम बढेको छ । सुख्खा मौसम सुरु भएसँगै स्थानियले घास पलाउछ भन्दै आगो लगाउने, वन्यजन्तुको शिकार र घाँस दाउरा गर्न गएकाहरुले वनमा आगजनी गर्ने गरेका हुन सक्ने जिल्ला वन कार्यालय सिन्धुलीको अनुमान छ ।

आगो नियन्त्रणमा उपभोक्ता समिति उदासिन

अहिले चुरे क्षेत्रका जंगल, महाभारत क्षेत्रका जंगल सहित जिल्लाका नौ वटै स्थानिय तहका वनमा डडेलो लागेको जिल्ला वन कार्यालय सिन्धुलीका प्रमुख भिम कालीकोटेले बताए । जिल्लाका सबै ठाउँका वनका डडेलो लागेको छ । उनले भने ‘जिल्लाका सवै वनमा डडेलो लागेको छ । नियन्त्रणका लागी कर्मचारी पनि खटाएकाछौं । वन उपभोक्ता समितिलाई पनि अनुरोध गरका छौं तैपनि नियन्त्रण हुन सकेको छैन्’ उनले भने ।

वनमा लागेको आगोका कारण वनका स–साना विरुवा, रुख जलेर नष्ट हुनुका साथै जंगली जनावर प्रभावित भएका छन् । वन कार्यालयले जंगलमा आगो नलगाउन प्रचार प्रसार गरे पनि बसेनि सिन्धुलीका जंगलमा आगलागी हुने गरेको छ ।

वन संरक्षण गर्न भनेर जिल्लाका वडा पिच्छे नै र कतिपय वडामा चार पाँच वटा सम्म सामुदायिक वन उपभोक्ता समितिको गठन भएपनि ती उपभोक्ता समितिहरुले बनमा लाग्ने डडेलो नियन्त्रण गर्न तदारुक्ता देखाएको देखिदैन ।
अहिले सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सवै जसो सामुदायिक बन क्षेत्र भित्रनै डडेलो लागि रहेको छ । बनमा लागेको डडेलोकै कारण कतिपय गाउँ, घरमा समेत आगलागि हुने जोखिम बढेको छ । हाल सिन्धुलीका प्रायजसो वनमा डडेलो लागेको भएपनि कति वनमा डडेलोले क्षति भयो भन्ने एकिन तथ्याँङ आईनसकेको जिल्ला वन कार्यालय सिन्धुलीका प्रमुख कालीकोटेले बताए ।

स्थानीय वन उपभोक्ता समितिहरुले सर्तकता मात्र अपनाए पनि डडेलो नियन्त्रणमा आउने भए पनि त्यसो हुन सकेको पाईदैन । जंगलमा डडेलो लगाउने कार्य गैर कानुनी भए पनि सिन्धुलीमा डडेलो लगाउने ब्यक्तिको पहिचान र कारबाही भने अहिले सम्म हुन सकेको छैन् ।

 

 

प्रतिक्रिया दिनुहोस्