के तानाशाह आऊला त ?



दामोदर पौडेल
लोकतन्त्रले लोकतान्त्रिक परिपाटीको संरक्षण गर्ने क्षमता राख्दै राख्दैन । लोकतन्त्रको रक्षा गर्ने जनताले र राजनीतिक दलका नेता र कार्यकर्ताले हो, समाजसेवी र बुद्धिजीवीहरुले हो । दुःखद पक्ष भनेको गरिब देशहरुमा बुद्धिजीवीहरु स्वतन्त्र हुँदैनन् । उनीहरु कुनै दलको नजिक बनेकै हुन्छन् ।

प्रायः पढाइमा वा जागिरमा वा कामको सिलसिलामा उनीहरु दलको प्रभावमा पर्दछन् वा बाध्य हुन्छन् । पछि या त दल सत्तामा गएपछि पद पाइन्छ भन्ने लोभले वा उनीहरु पहिलादेखि नै निष्पक्ष बुद्धिजीवी हुँदैनन् । उनीहरुको एकप्रकारले ब्रेन वास नै भइसकेको हुन्छ । निष्पक्ष बुद्धिजीवी हुन सक्दैनन्, त्यही कारणले उनीहरुको निष्पक्ष बुद्धिजीवीको अनुहारभित्र पनि धेरैले नदेख्ने गरी दल र स्वार्थ लुकेको हुन्छ । देखाउनको लागि र बुद्धिजीवी गनिएर पद लिन वा दललाई फाइदा हुने कार्य गर्नको लागि उनीहरु समाजसेवी र बुद्धिजीवी भनाउँछन् । उनीहरु त बुद्धि भए पनि दलजीवी हुन् । नेपालमा धेरै बुद्धिजीवी र पेसागत संगठनहरु छन् तर उनीहरुको भित्री ताबेदारी दलहरुसँग नै हुने गरेको छ । उनीहरुमध्ये कतिलाई दलको हितको लागि जे गरे पनि हुन्छ भन्ने भ्रम नै हुन्छ र केहीलाई छद्मभेषीरुपमा निष्पक्ष बुद्धिजीवी बनेको देखाएर दलको भ¥याङ चढ्ने बन्न रहर हुन्छ ।

यसले गर्दा जनतामा बुद्धिजीवीले दिने राय र धारणा पनि विवादित र विभाजित हुन्छन् । उनीहरुका भनाइ जनताले कि विश्वास गर्दैनन्, कि कथित भनाइको विश्वास गरेर भ्रममा परिरहन्छन् । उनीहरु लोकतन्त्र राम्रो हो र दलले गल्ती गरे पनि लोकतन्त्र जोगाउने अभिभारा जनताको हो भन्ने सम्झन पनि सक्दैनन् । गल्ती नेता, कर्मचारी, ठेकेदार आदिले गर्दछन् तर दोष लोकतन्त्रले पाउँछ । प्रचण्डले भनेछन् कि लोकतन्त्र नभए ड्याम–ड्याम विकास गरिन्थ्यो । उनलाई भ्रष्टाचार नगर्न र नगराउन लोकतन्त्रले छेकेको थिएन । उनलाई कुनै विकास गर्न लोकतन्त्रले छेकेको थियो र ? विकास गर्न कसले अवरोध गरेको थियो ?

बरु लोकतन्त्रले गर्दा गरेको गल्ती जनसमक्ष आउने हुँदा भ्रष्टाचार कम भयो होला र विकासमा भएका गल्ती जनसमक्ष आए होलान् । तर लोकतन्त्रले गर्दा नेताहरु अझ बढी खराब बन्न पाएनन् भन्ने सन्देश जनतामा जान सकेको छैन । बुद्धिजीवीमा सुन्दरमणि दीक्षितजस्ता केही निष्पक्ष भएर लागेको देखिन्छ । तर उनीहरुको सक्रियतामा पदको लोभ नभएकोले सधैँ रहन सक्दैन । एउटा ह्वीमलाई उचित किनारा लगाउन मात्र उनीहरुको सहयोग हुन्छ ।

अन्यथा उनीहरुको पेसा अर्कै हुन्छ । पेसागत बुद्धिजीवीहरु त राजनीतिक दलबाटै बुद्धिजीवीको दर्जा र पद पाएर बसेका हुन्छन् । उनीहरुको लागि लोकतन्त्र र जनताभन्दा दलका नेताहरु माथि हुन्छन् र बुद्धिजीवीको नाममा उनीहरुले दलको ताबेदारी गरिरहेका हुन्छन् । शायद सुरेन्द्र केसी, कृष्ण पाहाडीजस्ता केही लोभलाभको आशा नभएका बुद्धिजीवीहरु पनि छन् । तर उनीहरुलाई पनि एउटा–एउटा बिल्ला भिराउन हामी पछि पर्दैनौं ।

कहिलेकाहीँ त सत्तामा बसेर गल्ती गरिरहन्छन् । आफंै लोकतन्त्रले यस्तो गरेको हो भन्छन् । तरल पदार्थको रुपमा हेर्ने हो भने लोकतन्त्र सफा पानीबाहेक अरु के होला र ? त्यसमा थोरै फोहोर फालिदिएर लोकतन्त्र फोहोर हो भन्नेहरु, विष घोलेर विष हो भन्नेहरु र कालो रंग मिसाएर कालो हुन्छ भन्नेहरुले लोकतन्त्रलाई राम्रैसँग दुरुपयोग गर्न सक्छन् ।

वचाउने र संरक्षण गर्ने प्रष्ट माध्यम नभएकोले लोकतन्त्र त्यसै पनि कमजोर नै हुन्छ । तानासाही ब्यवस्था बचाउन पूरै सेना र सुरक्षाकर्मीहरु, तानाशाही स्कुलिङमा फिट गरिएका हुन्छन् । खुसिया ऐजेन्सीहरु देशको मात्र नभएर व्यवस्था र तानाशाहको पक्षमा खटिएका हुन्छन् । तानाशाहको समर्थन गर्नेहरुलाई लाखा र अरुलाई पाखा लगाइन्छ । तर लोकतन्त्रमा सबैलाई बराबर अधिकार हुन्छ । केवल बन्दुक बोकेर जनतालाई नतर्साऊ भन्ने मात्र हुन्छ । भ्रष्ट नेताहरु भएको देश र समाजमा अझै धेरै कमजोर हुन्छ लोकतन्त्र । भ्रष्टहरुले गर्दा लोकतन्त्र भनेको भ्रष्टहरु पाल्ने दोकानजस्तो पनि लाग्न सक्दछ । तर जनता सजग भए भने र नेताहरु इमानदार भए भने लोकतन्त्र आफैं बलियो हुन्छ । कसले सम्झाउने ठूलो समुदायलाई लोकतन्त्र मात्र प्रकाश हो र यसले राम्रा–नराम्रा कुराहरु तथा कार्यहरु सजिलैसँग देखाइदिन्छ र निराकरण गर्न सजिलो हुन्छ भनेर ।

लोकतान्त्रिक व्यवस्था भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने परिपाटी हो भन्नेहरुले त लोकतन्त्रलाई अझै बदनाम गर्दछन् । उनीहरुले लोकतन्त्रको दुरुपयोग पनि गर्दछन् । कहिलेकाहीँ त सत्तामा बसेर गल्ती गरिरहन्छन् । आफंै लोकतन्त्रले यस्तो गरेको हो भन्छन् । तरल पदार्थको रुपमा हेर्ने हो भने लोकतन्त्र सफा पानीबाहेक अरु के होला र ? त्यसमा थोरै फोहोर फालिदिएर लोकतन्त्र फोहोर हो भन्नेहरु, विष घोलेर विष हो भन्नेहरु र कालो रंग मिसाएर कालो हुन्छ भन्नेहरुले लोकतन्त्रलाई राम्रैसँग दुरुपयोग गर्न सक्छन् । लोकतन्त्रको विवशताको उदाहरण त हिटलरले संसद्मा गरेको कार्यले नै देखाउँछ । उनले एउटा कुखुरा संसद्मा ल्याएछन् । उसको प्वाँख तानेर फाल्न थालेछन् । शुरुमा उसले हिटलरलाई टोक्न प्रयास गरेछ ।

उनले कुखुराको प्वाख तान्दातान्दै खुइलिएछ र हिँड्न मात्र मुस्किलले सक्ने भएछ । त्यसपछि उनले कुखुरालाई मकै दिँदै गरेछन् । कुखुरा बिस्तारै उनै हिटलरको पछि–पछि लागेछ । जनतालाई समयमा सजग नगराएमा जनताको अधिकार लोकतन्त्रकै नाममा हिटलरजस्तै सरकारमा जानेले जनताको क्षमतामा कमी ल्याउने काम गर्दछन् वा गर्न सक्दछन् । जनता कमजोर भएपछि जनताका सबै ठूला आकांक्षाहरु फासी चढिसकेका हुन्छन् । अनि जीवन खान र बाँच्नको लागि तड्पने र जसले दिन्छ त्यसैको जय जयकार गर्ने पनि हुन्छ । जनताको पक्षमा बोल्ने कोही हुँदैन र भ्रम एवम् डरको राज हुन्छ ।

यो लोकतन्त्र विरोधीले लोकतान्त्रिक परिपाटी कब्जा गरे पनि हुन्छ । किनकि जनताको शक्ति क्षीण गराउनु तानाशाहीको मुख्य लक्ष्य हो । जनता बलियो बनाउनु लोकतन्त्रको सफलता हो । त्यसपछि निरीह जनता जहाँ शक्ति बढी हुन्छ त्यतै लाग्छन् । लोकतन्त्र फालेर सत्ताधारीहरुले उच्च किसिमको लोकतन्त्र ल्याएको पनि भन्न सक्छन् । निरीह जनता डरले जय जयकार गर्दछन् । ठूला आकांक्षाहरु नेताहरुका गलत नजर नपरे हुने थियो भन्नेमा सीमित हुन पुग्छन् । यद्यपि अन्यायका विरुद्ध संघर्ष भएका छन् । तर धेरै समय अन्यायमा बस्नुपरेको हुन्छ । सामान्यतः जहाँ असीमित शक्ति हुन्छ, उसको गल्तीको विरोध पनि कम हुँदै जान्छ ।

केपी ओलीको लोकतन्त्रप्रतिको आस्था र विश्वासवाट म प्रभावित भएको हुँ । उनले लोकतन्त्रको सुरक्षाको लागि प्रतिपक्षी पनि बलियो नै चाहिन्छ भनेर बारम्बार भनेका छन् । तर योगेश भट्टराईले लोकतन्त्र भद्दा व्यवस्था हो भन्ने प्रचार गरेर तानाशाही चाहना प्रस्ट गरे । प्रचण्डले लोकतन्त्र विकास विरोधी हो भने । के लोकतन्त्र विकास विरोधी र भ्रष्टाचार पक्षधर नै हो त ? लोकतन्त्रको सम्बन्धमा केही सरल सोच भने हुनै पर्दछ । लोकतन्त्र मान्ने र जान्ने जनता र बुद्धिजीवीहरुले पनि केही त सोच्नै पर्दछ । मलाई भनिएको थियो– ‘जसले अरुबाट सिक्दैन, उसले प्रगति गर्दैन वा ऊ लोकतन्त्रवादी र जनपक्षीय हुन सक्दैन । जसले आफ्ना गलत अनुभवबाट सिक्दैन, उसले गल्ती गरिरहन्छ अर्थात् ऊ सच्चा लोकतन्त्रवादी होइन । जसले आवश्यक जानकारी लिँदैन, उसले सही निर्णय लिन सक्दैन । त्यो जानकारी प्रतिपक्षबाट सजिलैसँग प्राप्त हुन सक्छ । जसले सही निर्णय लिँदैन, उसले सही काम गर्न सक्दैन र सही निर्णयको लागि उल्लिखित अन्य सर्तहरु पूरा हुनै पर्दछ, अर्थात् अरुका कुरा सुन्ने, आफ्ना गल्ती सुधार्ने आदि । यी कार्यको लागि लोकतन्त्र अपरिहार्य छ ।’

तानाशाही तानाशाहको लागि आवश्यक छ तर लोकतन्त्र कसको लागि चाहिएको हो त ? यत्ति सोचे धेरै सुधारहरु हुन सक्छन् । लोकतन्त्र त मात्र जनता र दलभन्दा बाहिरका बुद्धिजीवीलाई नै चाहिएको हुन्छ । कांग्रेस तानाशाह बन्यो भने वा कम्युनिस्ट बन्यो भने त उनीहरुलाई चुनावमा जान परेन, कार्यकर्ता र सुरक्षाकर्मीलाई खुशी बनायो भइहाल्यो । कमसे कम जनताले मतले सरकार बदलेजस्तो सजिलो बन्दुक लिन त हुँदैन नि ! तर केही खतरा भने छ । तानाशाही सत्ताधारीहरुलाई पनि तानाशाही यस्तो रोग हो जुनको टाउकोमा तरबार झुन्डिएकै हुन्छ । जंगबहादुरले तानाशाही त ल्याए तर त्यही प्रयोग गरेर उनका बढी नजिकका आफन्तहरुबाट अरु तानाशाहले सत्ता छिने । माओको सत्ताको वैचारिक हैसियत उनको मृत्युपछि तेङले छिने । स्टालिनको सत्ताको विचार ब्रेजनेभ आदिले छिने । कुनै समय सत्तामा बस्नेहरु सत्ताबाट बाहिरिएपछि सम्पत्ति, पद, प्रतिष्ठा त समाप्त भयो नै, खुलेर रुन पनि सकेनन् । पश्चात्ताप गर्ने समय पनि पाएनन् । रुमानियाका चाउचेस्कु त्यसका उदाहरण हुन् ।

क्षणिक लोभमा परेका दलीय तानाशाहहरुले कुनै दुःखद दिन देख्न पर्नेछ । केवल लोकतन्त्रको आवरणमा जनतालाई झुक्याएर सन्तान–आफन्तलाई विदेश पठाउने र पैसा पनि पठाउनेसम्म गर्ने हो भने उनीहरुको लागि ठिक्कै छ । तर जनताले सोच्नुपर्दछ र लोकतन्त्र सदुपयोगको लागि काम गर्नै पर्दछ । गलत गर्नेका विरुद्धमा लाग्नै पर्दछ । किनकि ती सबै प्रकारको बेइमानीले गर्दा लोकतन्त्र त बदनाम भयो नै, हामीले पनि दुःख पायौं । तानाशाह लुकेर हैन, विभिन्न संकेतहरु दिएर आउँछ, सजग हुने हाम्रो दायित्व हो । बरु यो त निरीह लोकतन्त्रलाई गाली गरी–गरी विभिन्न अफवाह, भ्रम तथा डर देखाएर पो आउँछ त ।ं

 

प्रतिक्रिया दिनुहोस्