पर्वतका एउटा मात्रै स्थानीय तहमा बारुणयन्त्र



नेपाल समाचारपत्र, पर्वत ।
गर्मी मौसममा हावाहुरी, आगलागी र डढेलोका घटना बढ्ने समय नजिकिँदै आइरहेका बेला पर्वतमा भने त्यस्ता घटनाबाट क्षति हुन नदिनका लागि आवश्यक बारुणयन्त्रको अभाव रहेको छ । पर्वतका सात मध्ये एउटा मात्रै स्थानिय तहमा बरुणयन्त्र रहेको छ ।
पर्वतको कुश्मा नगरपालिकामा यस अघि नै बारुणयन्त्र रहेपनि अन्य ६ स्थानीय तहमा भने बारुणयन्त्र छैन ।

फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका र पैंयु गाउँपालिकामा बारुणयन्त्र छैन । सरकारले सवै स्थानीय तहलाई बारुणयन्त्र तयारी राख्न निर्देशन दिइरहँदा पर्वतका ६ स्थानीय तह भने विलखबन्दमा छन् ।

‘आगलागीका घटनाबाट जोगिन बारुणयन्त्र सहित तयारी हालतमा बस्नु भन्ने केन्द्र सरकारबाट परिपत्र आएको त छ तर बारुणयन्त्र छैन’ गाउँपालिकाको सभाबाट पनि बारुण यन्त्र सम्बन्धि ठोस निर्णय नभएको मोदी गाउँपालिकाका कार्यकारी अधिकृत कुमानसिं गुरुङले बताए ।

नगरपालिका तथा गाउँपालिकाले आफ्नो सुविधाका लागि धमाधम सवारी साधन र डोजर खरिद गर्ने निर्णय गरेपनि बारुणयन्त्रका लागि भने कुनै पनि तहले गाउँसभाबाट निर्णय गरेको अवस्था छैन ।

आवश्यकता भए पनि स्रोत साधनको अभावमा बारुणयन्त्र खरिद गर्न नसकिएको जलजलाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । अन्य स्थानीय तहमा आगलागी हुँदा कुश्मा नगरपालिका सँगै छिमेकी म्याग्दी, बागलुङ जिल्लाको दमकल गुहार्नुपर्ने अवस्था रहेको छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको कुश्माका नगर प्रमुख रामचन्द्र जोशीले बताए ।

सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति र दमकलको व्यवस्था गर्दा आइपर्ने घटनामा उद्धार र राहतका लागि सहज हुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले अहिले रहेको एकमात्र दमकललाई सबै स्थानीय तहले आपसी समन्वयमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्