५ नम्बर प्रदेशका सबै स्थानीय तहलाई स्मार्ट कृषि गाउँ बनाउने तयारी



यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ सरकारले कृषि र पशुजन्य उत्पादनमा आत्म निर्भर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा एकएक वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको तिलोत्तमा नगरकोे पश्चिम पहुनी छनौट भएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को (क) अन्र्तगत पर्ने तिलोत्तमा नगरपालिका ६ स्थित पश्चिम पहुनी गाउँ ‘स्मार्ट’ बाख्रापालनका लागि छनोट भएको हो ।

बाख्रा मात्रै पाल्ने गरी स्मार्ट कृषि गाउँका लागि छनोट भएको यो प्रदेशकै पहिलो गाउँ बनेको छ ।

यहाँका ५३ घरधुरीबाट सबैको सामुहिक सहभागितामा पश्चिम पहुनी बाख्रापालन समूह गठन गरी यही आर्थिक वर्ष्भित्रै बाख्रापालन सुरु हुने छ ।

प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यान्वयनका लागि ५० लाख रुपैयाँ प्रदान गर्नेछ भने गाउँका ५३ परिवारले ५० हजारका दरले शेयर लगानी गर्नेछन् । बाख्रापालनका लागि खोर बनाउन, घाँस लगाउन स्थानीय सत्यजित आधारभूत विद्यालयको साढे २ बिघा जग्गा १५ वर्षका लागि समूहले लिजमा लिएको छ ।

यहाँ उन्नत जातका बाख्रा पालनसंगै नश्न सुधार केन्द्र पनि स्थापना गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष देवीप्रसाद भुसालले बताउनु भयो ।

सुरुमा ५ सय बाख्रा पालनबाट सुरु गरी अर्को वर्ष २ हजार र ५ वर्षभित्र १५ हजार बाख्रा पुराउने अध्यक्ष भुसालले बताउनु भयो ।

यो गाउँ तुलनात्मकरुपमा विपन्न वर्गको बसोबास रहेको र विकासमा पछाडि परेको गाउँको रुपमा रहेकाले बाख्रापालनका लागि स्मार्ट कृषि गाउँ कार्यक्रममा छनोट गर्न पहल गरिएको वडा अध्यक्ष सुखदेव न्यौपानेले बताउनु भयो ।
‘यहाँका जनता मेहनती छन, भविष्यमा यो गाउँलाई बाख्रापालनमा देशकै नमूना बनाएर देखाउछौं’अध्यक्ष न्यौपानेले भन्नु भयो ।
बाख्रापालनका लागि आधुनिक खोर निर्माणको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सोमवार शिलान्यास गर्नु भयो ।

मन्त्री गिरीले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारको नौलो र गौरवको आयोजना भएको उल्लेख गर्दै कामको खोजीमा विदेश जानुभन्दा स्वदेशमै कृषि कार्यमा लाग्न प्रदेशका नागरिकलाई आग्रह गर्नु भयो ।

भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बाख्रा किसानको एटीएम भएकाले यसमा लगनशील भएर लागे आर्थिक जीवनस्तरमा सुधार हुने बताउनु भयो ।

प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक एक वटा गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने घोषणा गरी सरकारले २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्