रुपन्देहीमा क्षयरोगका कारण २ सय ३८ जनाले ज्यान गुमाए



यमलाल भुसाल, बुटवल ।
प्रदेश नम्बर ५ को रुपन्देही क्षयरोगका विरामी धेरै भएको जिल्लाका रुपमा देखिएको छ । प्रदेश नम्बर ५ मा रहेका १२ जिल्ला मध्ये रुपन्देहीमा क्षयरोगका विरामी धेरै छन् । प्रदेश ५ मा ७ हजार २९ जना क्षयरोगका विरामी पत्ता लागेका मध्ये रुपन्देहीमा मात्र १ हजार ४ सय ८६ जना विरामीहरु रहेको प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशको रुकुममा सबैभन्दा कम ५२ जना विरामी पत्ता लागेका छन् भने रुपन्देहीपछि दाङ्गमा १ हजार १ सय ६४ र त्यसपछि ८ सय ४४ फेला फेला परेको बाँके तेस्रो नम्बरमा रहेको छ । फेला परेका विरामी मध्ये सबैभन्दाबढी १५ देखि २४ उमेरका रहेको निर्देशनालयका निर्देशक दिनेश कुमार चापागाईले जानकारी दिनु भयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७४÷७५ को आकडा अनुसार यो अवधिमा प्रदेश ५ मा २ सय ३८ जनाले ज्यान गुमाएको तत्थ्याङ्क छ । संक्रमित भएका मध्ये मृत्यू हुनेको दर ४ प्रतिशत देखिएको छ । क्षयरोग संक्रमण भएका विरामीमा कपिलबस्तुमा सबैभन्दाबढीले ज्यान गुमाएका छन् । कपिलबस्तुमा क्षयरोगको संक्रमण भएका विरामीमा ४३ जनाले र रुपन्देहीमा १२ जनाले गएको आर्थिक वर्षमा ज्यान गुमाएका हुन् ।

क्षयरोगका विरामीहरु पत्ता नलाग्ने र पत्ता लागेकाहरु उपचारको पहुँचमा आउन नसक्नु ठुलो चुनौती देखिएको निर्देशनालयको भनाई रहेको छ । नेपालमा क्षयरोगका विरामी उपचार सफलताको दर ९१ प्रतिशत रहेतापनि उपचारकै पहुँचमा नआउने र विचमै विभिन्न कारणले औषधी सेवन नगर्दा विरामीको संख्या बढ्ने गरेको बताईएकोछ ।

निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश ५ मा ६ सय ९० क्षयरोगको उपचार केन्द्र, १ सय १५ प्रयोगशाला र ११ वटा जीन एक्सपर्ट केन्द्रबाट क्षयरोगको उपचार तथा निदान सेवा प्रदान गरिदै आएको छ । तरपनि उपचारको पहुँचमा नआउने र निजी स्वास्थ्य संस्थाबाट विरामीले उपचार गर्ने गरेका कारण पनि उपचारमा नियमितता नहुने र समस्या आउने गरेको बताईन्छ । यसैबीच नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेका छन् भने प्रदेश ५ मा ३२ हजार ४ सय ७४ जना क्षयरोगका विरामी पत्ता लागेको निर्देशनालयले दिएको तथ्याङकले देखाएको छ ।

यसैबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले म क्षयरोग रोक्न प्रतिवद्ध छु भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

विश्व क्षयरोग विरुद्धको दिवस मार्च २४ को अवसरमा प्रदेश ५, स्वास्थ्य निर्देशनालयद्वारा बुटवलमा आईतबार गरिएको कार्यक्रममा म क्षयरोग रोक्न प्रतिवद्ध छु भन्दै मन्त्री बरालले सबैको सहयोग सहकार्यबाटमात्र प्रदेशलाई क्षयरोग मुक्त प्रदेश बनाउन सकिने बताउनु भयो ।

उहाँले क्षयरोगको संक्रमणले ब्यक्तिलाई मात्र नभएर समाजका अन्य ब्यक्तिलाई समेत संक्रमणको सिकार गराउने उल्लेख गर्दै संक्रमणलाई कम गर्नका लागि संक्रमित ब्यक्तिले नियमित औषधी सेवन गर्नुनै उपयुक्त हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्