पर्यटनले जगाएको आशा



नेपालमा कृषि र जलविद्युत्सँगै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ । अर्थतन्त्रको दिगो स्रोत मानिएको आन्तरिक पर्यटनको प्रवद्र्धनले पछिल्लो समय आशा जागृत हुँदै गएको छ । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनले वार्षिक २ लाख पर्यटक भित्र्याएर २ करोड रुपियाँ आम्दानी गर्न सफल भएको छ । हात्ती सयर, जिप सफारी, डुंगा सयरजस्ता सुविधा प्रदान गरेर सो वन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । सौराहा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु कुमरोज वनमा सफारी गर्नु अनिवार्यजस्तै बनेको छ ।

गत एकवर्षमा १ लाख ९२ हजार पर्यटकले भ्रमण गरेबाट पर्यटन पूर्वाधार हुने हो भने सामुदायिक वन पनि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्दो रहेछ भन्ने दृष्टान्त सो वनले प्रस्तुत गरेको छ । पर्यापर्यटनबाट आर्जित आम्दानीबाट वनले पूर्वाधार निर्माण, वन पैदावार संरक्षण तथा स्थानीय समुदायलाई वनसँगको निर्भरता हटाउन आयआर्जनको काम गर्दै आएको छ । पछिल्लो समय घरबास (होमस्टे) पनि पर्यटक आकर्षण गर्ने माध्यम बन्दै आएको छ । सो वनले आवासीय सुविधासहितको मचान (टावर) पनि सञ्चालन गर्दै आएको छ ।

भौगोलिक क्षेत्रफलको हिसाबले सानो मुलुक भए पनि विश्वभर पर्यटकलाई आकर्षण गर्ने मुख्य आधार भनेको नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र जैविक विविधता नै हो । कहिले भूकम्प, कहिले आन्दोलन त हिले नाकाबन्दीका कारण शिथिल बनेको पर्यटन क्षेत्र अहिले भने उत्साहजनकरुपमा तंग्रिन थालेको छ । विशेष गरी भूकम्पपश्चात् अमेरिकी तथा युरोपेली मुलुकहरुले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न र गर्नै परे सावधानी अपनाउन सुझाव दिँदै ‘ट्राभल एड्भाइजरी’ जारी नै गरेका थिए । त्यसयता सन् २०१८ पछि मात्रै पर्यटन क्षेत्रलाई पुनजीर्वित गराउन सक्ने बलियो सम्भावना र आधारहरु खडा भएका छन् ।

विश्वभरका लाखौँ पर्यटकहरुले ट्रिप एड्भाइजरको अध्ययन गरेर नै कुनै देश वा स्थानको भ्रमण गर्ने वा नगर्ने भनेर भ्रमणको गन्तव्य निक्र्योल गर्ने गर्छन् । विश्वका प्रख्यात उत्कृष्ट गन्तव्यमध्ये नेपाल पनि दरिएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटकलाई लोभ्याउन होमस्टे, कलासंस्कृति, बसाइ लम्ब्याउन सघाउने प्याकेजका कार्यक्रमहरुबाट उपलब्धि हासिल हुनसक्छ ।

सर्वप्रथम विश्व पर्यटन बजारलाई आकर्षित गर्न नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश फैलाउन सक्नुपर्छ । त्यो सन्देश नेपाल भ्रमण गर्ने हरेक पर्यटकलाई आतिथ्य सत्कार गर्ने, सकारात्मक सन्देश छोड्ने खालका गतिविधि गर्ने, उनीहरु ग्राहकभन्दा बढी पाहुना हुन् भन्ने सोचाइ राख्ने, उनीहरुलाई भरपूर सहयोग गर्ने, खुशी पार्ने र साथी बनाएर बिदाइ गर्नेजस्ता काममात्रै गर्न सकिए पनि त्यसले दीर्घकालसम्म सकारात्मक छाप छोड्न सक्छ ।

विगतमा पर्यटकहरु गाइडबाटै लुटिने, होटलहरुमा ठगिने, लगेजहरु तानातान गरेर हैरानी दिने, विभिन्न बहानामा सताउनेजस्ता गतिविधि नभएका होइनन् । असल संस्कार र आतिथ्यबाटै संसार जित्न सकिन्छ । अन्तर्राष्ट्रिय जगत्मा फैलिएका नकारात्मक भ्रम र सन्देशहरु चिर्न पर्यटन व्यवसायीदेखि हरेक क्षेत्रले उत्तिकै ध्यान दिन सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा पक्कै पनि फड्को मार्न समय लाग्दैन । पर्यटकहरु दुर्लभ वन्यजन्तु हेर्न, पर्यावरणीय सुन्दरतामा रमाउन, बहुसांस्कृतिक विशेषतामा लोभिन र बसाइँलाई स्मरणीय बनाउन नेपाल आउने भएकाले नयाँ गन्तव्यको प्रवद्र्धन गर्दै स्थानीयस्तरदेखि सरकारले वातावरण सिर्जना गर्न सके पर्यटन क्षेत्रले नयाँ उचाइ लिने आशा गर्न सकिन्छ ।
– मनोज सुन्दास, काठमाडौं ।

पढ्ने वातावरण चाहिन्छ
भ्रूण अवस्थादेखि १८ वर्षसम्मको उमेरलाई बालबालिका मानिएको छ । यद्यपि बालबालिका त्यो अवस्थासम्म मानिन्छ जुन अवस्थासम्म उनीहरूलाई बाबुआमाको आवश्यकता महसुस हुन्छ । लालनपालन आमाबाबुले गर्नुपर्ने हुन्छ । जबसम्म शारीरिक, मानसिकरूपमा बालबालिका पराश्रित हुन्छन्, त्यो उमेर समूहका मानिसलाई बालबालिका मान्नुपर्ने हुन्छ । कति उमेरका मानिसलाई बालबालिका मान्ने भन्ने कुरामा विश्वका मुलुकमा आफ्नै मापदण्डहरू बनाइएका छन् । धनी मुलुकहरूले जबसम्म कुनै मानिस आत्मनिर्भर हुँदैन तबसम्मको उमेरलाई बालबालिका मान्ने गरेका छन् ।

गरिब मुलुकले १४ वर्षको उमेरदेखि वयष्क हुने मान्यता राख्छन् । हाम्रो समाज वर्गीय समाज हो । यस्तो समाजमा श्रमजीवी परिवारका बालबालिकालाई सानैदेखि काममा जोतिनुपर्छ । सम्पन्नशाली परिवारका बालबालिकाले श्रम गर्नु त परै जाओस्, स्कुलमा लैजाने किताब–कापी पनि आफूले उचाल्नुपर्दैन । महँगा विद्यालय, कलेजमा पढाइन्छ । यही फरक हुन्छ वर्गीय समाजमा ।

नेपालको सन्दर्भमा कुरा गर्दा यहाँ पाँच प्रतिशत मानिस धनाढ्य वर्गमा पर्छन् । उनीहरूको रहनसहन बेग्लै प्रकारको हुन्छ । आम्दानी प्रशस्त भएकोले घरमा काम गर्नको लागि नोकरचाकर राखेका हुन्छन् । त्यसरी नोकर चाकरको रूपमा काम गर्नको लागि अति निम्न पुँजी भएका, सर्वहारा वर्ग नै खटिएका हुन्छन् । यसमा साना उमेरका बालबालिका पनि जोतिनुपर्छ । यसरी काममा जोतिँदा उनीहरूलाई पढ्ने मौका मिल्दैन । पढ्न नपाएपछि राम्रो आम्दानी हुने जागिर खान पाउँदैनन् । उच्च ओहोदामा पुग्न पाउँदैनन् ।

३० प्रतिशत मध्यम पुँजीपतिहरू छन् । उनीहरूलाई सामान्य जीवनयापन गर्नको लागि खासै समस्या हुँदैन । बाँकी ६५ प्रतिशत जनताको बस्ने बास र खाने गाँस पनि छैन । कतै सुकुम्बासी बनेका छन् । कतै खोला, नदीका बगरमा छाप्रो हालेर बस्न बाध्य छन् । यी वर्गका मानिसका बालबालिकाको अवस्था अत्यन्तै दयनीय छ । बाबुआमा बिहानै उठेर काममा जानुपर्छ । बालबालिकाले घरमा आइपर्ने काममा हात लगाउनुपर्छ । विद्यालयमा पढ्न जाने समय निकाल्न पाउँदैनन् । गाउँमा रहेका बालबालिकाले दिनभरि गाईबाख्रा चराउन जानुपर्छ । तर अमेरिकामा सरकारी विद्यालयमा पढ्न जाने बालबालिकालाई विद्यालयले नै बिहान खाना खान दिन्छ, दिउँसो नास्ता दिन्छ ।

त्यसैले बालबालिकाले खान पाएनन् भनेर अभिभावकले कुनै चिन्ता लिनुपर्दैन । स्कुलले नै किताब, कापी, झोला, डे«सको व्यवस्था मिलाइदिएको छ । तर नेपालमा शिक्षालाई यति उपेक्षा गरिएको छ कि बालबालिकाले पढून् या नपढून्, कुनै सरोकार हुँदैन । विद्यालयमा विद्यार्थीलाई खाना खाने व्यवस्था मिलाइदिने हो भने मात्र पनि बालबालिका शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने थिएन ।
– मधु उपाध्याय, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्