डोटीका शिक्षा इकाई प्रमुखलाई कालामोसो दलियो



डोटी ।
डोटीको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अनन्त कुमार पौड्याललाई अभद्र व्यवहार गरिएको छ । आइतबार दिउँसो करिब डेढ बजेतिर नेवि संघ सर्मथित युवाहरुको एक समूहले प्रमुख पौड्यालको कार्यकक्षमै गएर अभद्र व्यवहार गर्दै कालोमोसो लगाएका हुन् ।

बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउसो कार्यकक्षमा रहेका पौड्याललाई १०/१२ जनाको एक समूहले अभद्र ब्यबहार सहित कालोमोसो दलेको हो ।

एक प्रत्येक्षदर्शीका अनुसार उनीहरुले प्लाष्टिकको झोलामा कालोमोसो बोकेर आएका थिए । कालोमोसो दले लगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् ।

विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना बाड्दा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै बाँडने गरेको, बिद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाई प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्ती मार्फत उनिहरुले आरोप लगाएका छन् ।

त्यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र विद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप विज्ञप्तीमा लगाईएको छ । नेबिसंघ पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझा लगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोईराला र अरुण पौड्यालको बैङ्क खातानं। विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गर्ने गरेको आरोप लगाईएको छ ।

उक्त आरोप पुष्टी गर्न विज्ञप्तीसंगै पौड्यालले आफ्नो मोबाईलबाट पठाएको म्यासेज समेत टाँस गरिएको छ । यस्तै विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गर्ने गरेको र शिक्षा क्षेत्रमा समस्याको समाधान भन्दा पनि राजनीतिक पूर्वाग्रही भएर काम गर्ने गरेको विज्ञप्तीमार्फत आरोप लगाईएको छ । विज्ञप्तीमा भनिएको छ ‘यस विषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएकाले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट छ ।’

कार्यालयमा भईरहेको अनियमितता छानविन गरी दोषीमाथी कारवाही गर्न दवाव दिन विज्ञप्ती मार्फत सञ्चार जगत र सचेत नागरिकलाई आग्रह गरिएको छ । शिक्षा समन्वय प्रमुख जिल्लालाई कालोमोसो लगाएको कुरा प्रमुख जिल्ला अधिकारी सुवेदीले पुष्टी गर्नुभएको छ । ‘शिक्षक छनौटमा अनियमितता भएको भन्ने बिषयमा विजय जी (बिजयराज ओझा) ले कुरा गर्नु भएको थियो । त्यस बिषयमा हामीले दुवै पक्षलाई राखेर छलफल गरेका थियौं, त्यसको रिजेल्ट अहिलेसम्म पनि सार्वजनिक भएको छैन्’ प्रमुख जिल्ला अधिकारी सुदेवीले भन्नुभयो ।

‘त्यसभन्दा बाहेक अरु कुनै लिखित वा मौखिक जानकारी आएको छैन ।’ उता जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले नौ बुँदे विज्ञप्ती जारी गर्दै कालोमोसो लगाएको जानकारी आएको बताउनुभयो । उहाँले यस विषयमा थप बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्