आफ्नी छोरीसँग एसइइको परीक्षा दिँदै शान्ता चाैधरी



काठमाडाैँ । प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै हुनुहुन्छ । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नुभएन । अनि खुला विद्यालयमा भर्ना हुनुभयो ।

उहाँ यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै हुनुहुन्छ । “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु ।” उहाँले हाँस्दै भन्नुभयो, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।” उहाँले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाउनुभयो ।

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उहाँकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै हुनुहुन्छ । नेकपा संसदीय दलका सचेतक चौधरीले भन्नुभयो, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।”

बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उहाँको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो ।

प्रतिक्रिया दिनुहोस्