विजयपुर पुल निमार्णमा ध्यान देऊ



पोखराको विजयपुर पुल जीर्ण बनेको छ । करोडौँको लगानीमा बनेको पुल जीर्ण बनेपछि त्यसको मर्मत थालिएको छ । विजयपुर खोलामाथिको यो पुल पोखराको मात्र नभएर गण्डकी र धौलागिरि अञ्चलको प्रवेश द्धार हो । यही पुल हुँदै दैनिक हजारौँ गाडीहरु पोखरा भित्रने र बाहिरिने गर्छन् ।

पोखराको मूख्य नाकामा भएको पुल जीर्ण बनेपछि अहिले सेतीमा वैकल्पिक बाटो बनाइएको छ । पुलमाथिबाट १० टनभन्दा बढी भार बोक्ने ठूला गाडी हिँड्न निषेध गरिएको छ । पुलमा रंगरोगन गर्ने क्रममा पुल जीर्ण बनेको पत्ता लाग्यो । समयमै पुलको अवस्था जानकारी भएकाले ठूलो दुर्घटना हुन पाएन । २०५९ सालमा बोलपत्र आह्वान गरिएको पुल को २०६४ सालमा निर्माण सम्पन्न भयो । बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको पुलको त्यपछि एकपटक पनि मर्मत गरिएन । यो पुलको भारबहन क्षमता र निर्माणको गुणस्तरबारे पनि चर्चा गरिएन । पुल मर्मत होला । तर, पुलको विषयले नेपालको भौतिक संरचना निर्माणमा हुने चरम लापरवाही र भ्रष्टाचारको मुद्दालाई पुनः स्मरण गराएको छ ।

भौतिक संरचना निर्माणमा हुने लापरवाहीको घटना यो पहिलो होइन । निर्माण क्षेत्रमा बदनाम भएको पप्पु कन्ट्रक्सन होस् वा राजधानीको सडक निर्माणका ठेकेदार नै किन नहुन् ? उनीहरुको अनियमितताको कथा लामो रहेको छ । ठेक्का लिएर समयमा सम्पन्न नगर्ने मात्र हैन, गुणस्तरहीन काम गरी राज्यलाई करोडौँको क्षति पु¥याउने निर्माण कम्पनीहरु यहाँ प्रसस्त रहेका छन् । तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा गुणस्तरहीन काम गर्नहरु डण्डका भागिदार बन्नुपर्ने हो । राज्यले यस्तो अपराध गर्नेहरुलाई डण्डित गर्नुपर्ने हो ।

तर, सत्ता र शक्ति केन्द्रका नजिक रहेका उनीहरु जघन्य अपराध गरे पनि मुक्ति पाउँछन्, संरक्षित हुन्छन् । यो नै नेपालको सबैभन्दा ठूलो बिडम्वना हो ।
जबसम्म सत्ता र शक्तिकेन्द्रले गलत काम गर्नेहरुलाई संरक्षण गरिरहन्छन्,निर्माण क्षेत्रमा यस्ता अनियमितताहरु कायमै रहन्छन् । अतः निर्माण क्षेत्रमा देखिएको चरम विकृति अत्यको लागि राजनीतिमा शुद्धिकरण पहिलो र अनिवार्य सर्त हुन आउँछ । विधीको शासनसँगै गलत काम गर्नेहरुलाई दण्डित गर्ने परिपाटीलाई बलियो नबनाउने हो भने यहाँ अझ धेरै पप्पुहरु जन्मन्छन् । राज्यकोषको चरम दुरुपयोग गर्छन् अनि सत्ता र शक्ति रिझाएर राज्यको दोहन गरिरहन्छन् ।

अर्कोतर्फ, भौतिक संरचना निर्माण गर्दा दूरदृष्टिको कमी पनि बिडम्वनापूर्ण रहेको छ । विकशित राष्ट्रहरु कुनै पनि भौतिक निर्माण गर्दा वर्षौँपछि सम्मको लागि सोच्छन् । बहुउपयोगितामा ध्यान दिन्छन् । तर, नेपालमा भविष्यको आँकलन त के एक वर्षपछि के हुन्छ भन्नेबारे पनि सोचिदैन । अन्धाधुन्ध तरिकाले भौतिक संरचना बनाइन्छ । त्यसको उपयोगिता र मर्मतमा समेत ध्यान दिइँदैन । यसको ज्वलन्त उदाहरण भनेका नेपालका ग्रामीण भेगका सडकहरु नै हुन् ।

कुनै नापजाँचबिना बनाइएका कतिपय सडकहरु ‘काल’ बन्नुको कारण यही हो । विजयपुर पुल प्रकरणले भौतिक संरचना निर्माणमा हुने अनियमितता, दूरदृष्टिको अभाव तथा नियमित मर्मत सम्हारको विषयलाई सतहमा ल्याएको छ । राज्य र सरोकारवाला निकायहरुले अब भौतिक निर्माण क्षेत्रमा देखिएका व्यथिति नियन्त्रणमा ध्यान दिनैपर्छ । भौतिक निर्माणमा देखिएका बिकृति अन्त्य हुनैपर्छ ।
– विजय बस्नेत, पोखरा ।

दुर्घटनाको बढ्दो शृङ्खला
पछिल्लो समय सवारीसाधन दुर्घटनाको दर बढ्दै गइरहेको छ । सडकमा हुने सवारी साधन दुर्घटनाका कारण बर्सेनि तीन हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । सवारी साधन दुर्घटनामा परेर राजधानी काठमाडौँमा मात्रै दैनिक दुईजना तथा चितवनमा दुई दिनमा एक जनाले ज्यान गुमाउने गरेका छन् । त्यस्तै, हजारौँ व्यक्ति अंगभंग भएर जीउन बाध्य भएका छन् ।

सडकमा हुने दुर्घटनाले हामीलाई दुखि बनाउँछ दुर्घटनाको कारणको बिषयमा खोज्न सम्बन्धित निकायसँग जोडदार माग पनि गर्छौँ तर कारण खोजी होस वा नहोस् केही समयमा त्यस्ता दुर्घटनाहरु कारण नै पत्ता नलागी सेलाएर जान्छन् । दुर्घटनाका धेरै कारणहरु हुन्छन् । सडकको अवस्था, सवारीको अवस्था, यात्रुहरुको हतारका साथै दुर्घटनाको मुख्य कारण सवारी चालक र सवारी साधनको यान्त्रिक अवस्था हो ।

सडकमा हुने सवारी दुर्घटनामा कमी ल्याउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा सडकमा पुगेर सवारी चालकको स्वास्थ्य जाँच तथा सवारी साधनको यान्त्रिक परीक्षण गरेको छ । जाँचमा सहभागी अधिकांश सवारी चालकहरुमा उच्च रक्तचाप जस्तो समस्या देखा प¥यो । उच्च रक्तचापका कारण मानिसलाई जुनसुकै बेला जस्तोसुकै समस्या देखा पर्न सक्छ । त्यसमा पनि सवारी साधन चलाउने जस्तो संवेदनशिल काम गर्ने कुरामा उच्च रक्तचापले थप असर गरिरहेको हुन्छ । जुन समस्या नै भोलि दुर्घटनाको कारण बन्न सक्छ । दुर्घटनापछि गरिने कयौँ अड्कल बाजीहरुमा कसैले पनि सवारी चालकको स्वास्थ्य अवस्थाका विषयमा जानकारी खोजेको वा राखेको पाईंदैन ।

सवारी चालकमा रहेका स्वास्थ्य समस्या पनि अन्य मानिसहरुका जस्तै स्वास्थ्य समस्या हुन् । जुन स्वास्थ्य समस्याको समयमा उपचार गर्ने होभने सजिलै समाधान खोज्न सकिन्छ । त्यस्तै सवारी चालकको आँखामा कलर भिजनको समेत समस्या देखिने गरेको छ । कलर भिजन समस्या भएका चालकले सवारी साधन हाँक्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ । सवारी चालकमा देखिएको स्वास्थ्य समस्या उपचार गरेर सन्तुलनमा ल्याउन सकिन्छ भने भयानक दुर्घटना हुनबाट बचाउनका लागि समस्या रहेका चालकहरुको उपचार समयमा किन नगर्ने ।

दुर्घटनाको अर्को कारक हो सवारी साधनको यान्त्रिक गडबढी । नियमित रुपमा सवारी साधनहरु चेकजाँच गराएर चलाउने हो भने सवारी साधनको अवस्था राम्रो हुने र दुर्घटना समेत न्यूनीकरण हुने प्रहरीले जनाएको छ । अनुगमन र नियमन गर्ने अधिकार पाएका निकायहरुले यस्ता समस्याहरुमा ध्यान दिँदै कसैको रोजीरोटी नखोसिने गरी दुर्घटनामा कमी ल्याउने खालका क्रियाकपाल सञ्चालन गर्दै मानव स्वास्थ्य माथी गम्भीर हुनु आवश्यक छ ।
– सबिनकुमार दाहाल, बनेपा, काभ्रे ।

प्रतिक्रिया दिनुहोस्