स्वाइन फ्लुबाट एकको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरगन्जका एक स्थानीयको स्वाइन फ्लुबाट मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका १० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन । १५ दिनदेखि बिरामी परेका कासरियाका शुक्रबार राती भारतको उत्तर प्रदेशको राजधानी लखनउमा उपचारका क्रममा मृत्यु भएको हो।

भारतको इलाहावादमा लागेको कुम्भ मेलाबाट घर फर्किएपछि कसरिया अस्वस्थ्य भएका थिए । मेलाबाट फर्किएका कासरिया वीरगन्जको एक क्लिनिकमा भर्ना भएका थिए । लामो समयसम्म स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत बिहारको राजधानी पटना पुर्याइएको थियो।

कासरियाका भतिजा अमित अग्रवालका अनुसार, पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो। स्वास्थ्य झन् जटिल बन्दै गएपछि कासरियालाई पटनाबाट थप उपचारको लागि दिल्ली लाने क्रममा शुक्रबार राती उनको मृत्यु भएको अग्रवालले जानकारी दिनुभयो ।

स्वाइन फ्लुको उपचार सम्भव नरहेको भन्दै पटना अस्पतालले दिल्ली रेफर गरेको थियो । बाटोमै स्वास्थ्य समस्या देखिएपछि कासरियालाई लखनउ तर्फ लगिएको थियो । कासरियाको शनिवार दिउँसो गृहनगर वीरगन्जको अशोकबाटिका स्थित सम्सानघाटमा अन्त्येष्टि गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले उनले स्वाइन फ्लुकै कारण मृत्यु भएको भनेर परिवारका सदस्यहरुले बताएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्