कलाकार संघको अध्यक्षमा लय र सरिताको दाबेदारी



नेपाल चलचित्र कलाकार संघको रिक्त अध्यक्ष पदमा अभिनेता लय संग्रौला र अभिनेतृ सरिता लामिछानेले उम्मेदवारी दिने भएका छन्।

संघका अध्यक्ष रामकेशर बोगटीको केही अघि एक दुर्घटनामा असामयिक निधन भएपछि रिक्त पदमा संग्रौला र लामिछानेले उम्मेदवारीको घोषणा गरेका हुन्। आगामी चैत २३ गते हुने निर्वाचनमा यी दुईले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

अभिनेता संग्रौलाले प्रेस विज्ञप्तिमार्फत स्व. बोगटीसँग प्रतिस्पर्धामा अध्यक्ष पदमा पराजित भएको स्मरण गर्दै बोगटीले गरेका र अघि सारेका राम्रा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘स्व. रामकेशरजीलाई ८ महिनाअघि नै एक भेटमा तपाईंले संघका लागि राम्रो कार्ययोजना ल्याउनु भएकाले तपाईंका कार्ययोजना पूरा गर्न अर्को कार्यकाल पनि पुनः अध्यक्ष बन्न आग्रह गरेको थिएँ।

आफसोच उक्त खुसी साटासाट गर्न नपाउँदै उहाँको असामयिक निधनले मलाई दुखित तुल्याएको छ। त्यसैले उहाँले थालेका कार्ययोजना साकार पार्ने उद्देश्यका साथ पुनः एकचोटी मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छुु’, संग्रौलाले विज्ञप्तिमा भनेका छन्– ‘म अध्यक्ष भए बोगटीले अघि सारेको संघको भवन निर्माणकार्य एक वर्षभित्र पूरा गराई संघलाई भाडा नतिर्ने अवस्थामा पुर्याउनेछु। कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि मुख्य एजेन्डामा राखेको छु। कलाकारलाई एकताबद्ध बनाउँदै संघको गरिमा र कलाकारको व्यावसायिकतातर्फ संघले गर्नुपर्ने सबै कार्यका लागि सदैव तत्पर रहनेछु।’

बोगटीले कलाकार प्राविधिक तथा निर्माताहरूको लगानीलाई सुरक्षित पार्ने अभियानमा अग्रसर रहन, विभाजित मानसिकताबाट मुक्त गराई विशुद्ध कलाकार संघ बनाउने, कलकार तथा प्राविधिकको जीवन सुरक्षाका लागि जीवन बीमा योजनालाई सक्रियताका साथ लागू गर्ने, कलाकारहरूको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारको जीवन निर्वाहका लागि उचित योजना ल्याउने र योजना कार्यान्वयन गर्न सक्रियतापूर्वक पहल गर्ने पनि जनाएका छन्।

त्यसै गरी संघको वर्तमान महासचिव रहेकी अभिनेतृ लामिछानेले कलाकारहरूको हक हित र अधिकारका लागि सधैं सपर्पित हुँदै संघलाई सशक्तरूपमा अगाडि बढाउन पहल गर्ने जनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्