लुटमा ब्रह्मलुट



रविकिरण निर्जीव

लुटको धन फुपूको श्राद्ध, सित्तैमा प्राप्त धनको चरम दुरूपयोग। कति मार्मिक र सार्थक नेपाली उखान !

लुट, लुटपाट र लुटपिट गर्ने वीरहरू आफ्नो कर्तुत भ्याएपछि आफन्तको काखमा पुगेर लुटपुटिन्छन्।

भारतीय डाँकाहरूको लुटपाट दृष्टिगोचर नभए पनि मायाराम महतोको बरौजी ग्रामको साल अठारको लुटपाट आँखाको पर्दामा टालिइरह्यो।

बाँची बसिरहेकाले आफ्नै देशको लुट मात्र होइन ब्रह्मलुटसमेत देखें। त्यो ब्रह्मलुटको प्रतिविम्ब गाउँ र शहर जताजतै सयर गरेर घुमिरहन्छ, एउटा मात्र होइन, बथानै, स्यालका बथानजस्ता, मुखभरि निरीह हरिणहरूको रगत लत्पत्याएर।

देख्छु। आँखा बिझाएर भत्झती पोल्छन्। कुरूप अनुहारहरू मतिर नेत्र प्रक्षेपण गर्छन्। तर म न प्रतिवाद गर्न सक्छु, न त प्रतिक्रिया। मेरो मनभित्रको ब्रह्मले भन्छ– ‘प्रतिकार गर्न सक्तैनस् भन्देखी प्रतिवाद गर्। ब्रह्म भनेका बाबुआमा हुन्, आज्ञापालन गर् !

‘वारकमान्डरहरू’ले उद्घोष गरे, निर्धा–निमुखहरूलाई आश्वस्त गरे– ‘तिमीहरूलाई वार होइन, पार गर्छांै, तिमीहरू वारमा आओ। दासता र दमनको जिन्दगीबाट उठाउँछौं, उचाल्छौं, तिमीहरू हुल बनेर आओ। पेट दापेर भोक थिच्न पर्दैन अब तिमीहरूले। तिमीहरूले कुकुरहरूझैँ गल्लीहरूमा कठ्याङ्ग्रिएर सुत्न पनि पर्दैन। तिमीहरूले खोल्साहरूको गन्धे पानी पछ्यौरामा छानेर पिउन पनि पर्दैन। तिम्रा मुखहरू टालिँदैनन्, आँखाहरू सिइँदैनन्। तिमीहरूका सुखका सपनाहरूलाई तिम्रै आँगनहरूमा खसाल्छौं। अन्न वर्षाउँछौं, वस्त्र वर्षाउँछौं, हाम्रा अस्त्रहरू समाओ। वारमा आओ, वारमा सुत, वारमा उठ, सुख लुट, शान्ति लुट। जुट, स्वप्नदर्शी हो ! वारमा जुट।’

आश्वासनको सम्मोहनमा लठ्ठिएर ‘पुतलीहरू’ ह्वारहार्ती वारमा आए। नआउनेहरू बारका घोचा समाएर क्वारक्वार्ती तिनीहरूलाई हेरिरहे। कस्तो अचम्मसित तिनको मन लुटे, कस्तो आश्चर्यसित तिनको बुद्धि भुटे ? पुतलीहरू ‘बाजहरू’सँग चरम निर्ममताका साथ लडे। गर्नु विध्वंश गरे। बनाउनकै लागि तिनीहरूले भत्काउनसम्म भत्काए। न्यानोकै लागि तिनीहरूले गाउँहरू पनि जलाए। आगोकै लागि तिनीहरूले अड्डाहरू पोले। जानी–जानी तिनीहरूले बन्दुक पट्काए, खुकुरी चलाए। नजानी–नजानी तिनीहरूले मनुष्य–देहहरूमा आगो झोसे, घाँटीमा डोरी कसे, नेत्रहरूमा झिर खोपे, उदरहरूमा सुइराहरू रोपे। बाजहरू पनि पुतलीहरूको संहारमा अरिङ्गाल भएर ओइरिए। तिनीहरू उन्मत्त भएर जो पायो त्यहीका तनहरूमा सुँड गाडे, बिख छाडे।

हो, पुतलीहरूले निर्मायाका साथ लडे। शक्ति सञ्चयको सन्तुलन राख्तै अगाडि बढे। ग्रामीण सामन्तका बडेमाका महल ढले, देहाती जमिनदारी शोषणका हबेली गले। शहरी गगनचुम्बी दरबारभित्रका समृद्धशालीहरू भयले जले।

वार चलाउनु थियो र एउटा निर्दिष्ट मुक्ति र सुखदायक गन्तव्यमा पुग्नु थियो, त्यसैले पार्टीका सपोर्टर र सदस्यहरूका जेबीहरू रिक्त भए पनि लेबी उठाए, वार चलाउनु थियो र स्याउ, सुन्तला र आँपहरू फलाउनु थियो, त्यसैले गरिबहरूका ट्याङ्क, धनीहरूका ब्याङ्क लुटे। वार चलाउनु थियो, उद्योग बढाउनु थियो र व्यापार बिजिनेसलाई बलशाली छिमेकीहरूको मुठ्ठीबाट फुकाउनु थियो, त्यसैले तिनीहरूका हाकिमहरूलाई फन्दामा पारी–पारी चन्दा असुले। बुद्धि कमाउनेहरूलाई पनि छोडेनन्, कौडी कमाउनेहरूलाई पनि छोडेनन्। अठारसाले लुटलाई बिर्साए, तीससाले विख्यात ‘मनी हाइज्याक’ भन्दा पनि हाई लेबलमा पुगे।

ल, लुटे, भैगयो, क्यास लुटे तर तिनीहरूले कहाँ क्यासमात्र लुटे र! तिनीहरूले त धान, गहुँ र उवा पनि लुटे। गाई र गोरु लुटे, घोडा र घोडी लुटे। तिनीहरूले हाटसिजाबाट राँगा र भैसी लुटेर जुविथा पुर्याई काटेर खाए, तिनीहरूले बुडुबाट भेडा–च्याङ्ग्रा लुटेर नाग्मा पुर्याए र बाँडेर भ्याए। लङ्कूको सुनचाँदी चिलखाया पुर्याएर बाँडे, कोइली चरीका गाग्री–ताउला गेंला पुर्याइछाडे। तिनीहरूले ओखरपाटका लिउ–फेरे ओखरभिट्टा लगेर भ्याए। तिनीहरूले वल्लो गाउँको ऐश्वर्य पल्लो गाउँमा सारे। तिनीहरूले ‘मोडेल लुट’ गरे। ब्रह्मलुट गरे। जो–जो लुट र ब्रह्मलुट शैलीका अनजान थिएँ। ती–ती धेरै दिनपछि पश्चात्तापले फत्फती गले।

अतीतका लुटहरूमा ब्रह्मलुट कहाँ भयो र ? लुटे तर फुपूको श्राद्ध गरेनन्। आमाको श्राद्ध गरे, दिदीको जुठो बारे। यी विवेकी लुटबाहेक आवेगी लुट पनि हुन्थे तर लुट–सामग्रीहरू दीनहीनका हातहातै पुग्थे। तर वारनायक र तिनका सहायकहरूले त लुट–सामग्रीहरू, लुट–धनहरू लुट हीरा–मोतीहरू बूढी बाख्रो र बेत बसेको भैंसीको मासु बाँडेझैँ सालाहरूलाई, साढुहरूलाई, मातृ–भदाहरूलाई र आ–आफ्ना आशका डोरीहरूमा झुन्डिएका दासहरूलाई बाँडे। यो ब्रह्मलुटलाई मेरो ब्रह्म लाटीले पाकेको केरा हेरेझैँ हेरिरहन सक्तैन। ऊ बारबार भन्छ– वारमा उठेको पैसाको लेखा माग, वारमा लुटेको वैभवको लेखा माग, लुटमाथि ब्रह्मलुट भएको ऐश्वर्यको हिसाब माग। विष्णु, कृष्ण, महेश्वरहरूलाई चुप लगाउन सक्छु, मुख टाल्न सक्छु तर ब्रह्मको मुख थुन्न सक्तिनँ। ऊ डक्ल्याएर भन्छ– ‘बोल, मुख खोल, कि तँ पनि ब्रह्मलुटको नालीमा लुटपुटिएको छस् ? बोक्सी बोलेझैँ पटापट बोल्।’ ‘म गाईप्राणी के बोल्नु !’ भन्छु तर ब्रह्म गाई गधा हुन सक्तैन ? भनेर खाऊँलाझैँ गर्छ।

सदरमुकाममा सालको सालेको पातमा अटाउने माटो थिएन, आज एक बिघा सुनौलो माटो बन्यो, राजधानीमा साढु पाँचतारे होटलमा झाडु लगाउँथे, आज उनी त्यसै होटलका स्वामी बने, मातृ–भदाले हाकिमचोकमा गगनचुम्बी हार्डवेयर खोल्यो, वृन्दासले घरकै आसपासको नामुद अस्पतालको फिप्टी पर्सेन्ट शेयर किन्यो, सुनदासले सुर्वण शहरबीचको विशाल बोर्डिङ एकलौटी गर्ने भनेर मोल छिन्यो, उनले दरौंदीमा होलसेल पसल खोले, यिनले चरांैदीमा मसल मसाज सेन्टर खोले, कोही मममा भुले, कोही मदिरामा झुले।

यी ब्रह्मलुटका ‘ओपन टे«जरहरू भए। वार कमान्डर र तिनका चरणदासहरूका ‘हिडन ट्रेजरहरू’ देखिँदैनन्, हिडन भइहाले। ती केवल चर्चा र पर्चामा मात्र आउने गर्छन्।

लुट र ब्रह्मलुटका आम्दानी–खर्चका लेजरहरू दूधले धुने भनेर ग्वाला धनिक तुलाचनलाई अडिटर नियुक्त गरियो। उनी अँगेनामा दूधको भदालो कुरेर बसिरहे, दूधको साक्षी बिरालो। उनलाई बर्खास्त गरेर, दरखास्त नपरे पनि, वैद्यराजलाई पुनः नियुक्ति दिइयो। उनले लुट र ब्रह्मलुटका भ्यागुता र चेपागाँडाहरूलाई देखे पनि एउटालाई पनि समातेर जालीमा हाल्न सकेनन्।

‘हिक्मतदार’का प्रयोक्ता र बेला–बेलाका राज्यका प्रवक्ता वार–कमान्डरहरूको दकसले सदा लगलग कामिरहन्छन्। ‘गर्दन दाता’ र ‘गर्दनछेदक’ हिजआज डबल बेड खालि भए पनि सिङ्गल बेडमा टाँसिएर सुत्छन्।

वार–कमान्डरहरू रारा सरोवरदेखि ढुन्मुनिएर बुङ्मतीमा पौडिन आइपुग्छन्। वार–कमान्डरहरूका फोक्साहरूले सास फेर्नेहरू, उनीहरूको औंलाको इशारामा नृत्य गर्नेहरू, उभिएको छु भनेर झुक्नेहरू ख्वामित कमान्डरको वेतन र सितन खाएर बाँचिरहेका छन्। ऊ दिन ख्वामितलाई ‘रक्तधोकेबाज’ भन्ने ‘राजकुमार’ यी दिन उनैको गद्दामा लाज–सर्म निलेर सुतिरहेका छन्। ख्वमितको सती जाने सारा वीरबहादुर र सूरवीरहरू आफ्नो खती भएको देख्दैनन्, बरु गति भएको देख्छन्। ख्वामितको खातिरदारी गर्दैमा उनीहरूको समय कट्छ, बेला टर्छ।

लुटको पैसो ब्रह्मलुट भएर टुकुचामा मिसिएको देख्दा शहीद, बेपत्ता परिवार र अपांगहरू ‘छि ⁄ जनसङ्ग्रामका फ्रन्टवाकरहरू ⁄’ भन्छन् र भुँइमा थुकेर त्यसलाई कुल्चिन्छन्।

हो, पुतलीहरूले निर्मायाका साथ लडे। शक्ति सञ्चयको सन्तुलन राख्तै अगाडि बढे। ग्रामीण सामन्तका बडेमाका महल ढले, देहाती जमिनदारी शोषणका हबेली गले। शहरी गगनचुम्बी दरबारभित्रका समृद्धशालीहरू भयले जले।

प्रतिक्रिया दिनुहोस्