कलाको गला



रश्मी थापा
बोले हुन्न र ? बोलको एल्बममार्फत नेपाली लोक संगीतको क्षेत्रमा प्रवेश गरेकी गायिका कला पंगेनीको सांगीतिक यात्राले करिब एक दशक पार गरिसकेको छ। सानैदेखि गायनमा रुचि राख्ने कलाले गायनको औपचरिक सुरुआत भने २०६५ सालतिर मात्र गरेकी हुन्।

हालसम्म उनका दर्जनौं गीत बजारमा आइसकेका छन् भने उनले पछिल्लो समय आफ्नै गीतकार पति दुर्गा पंगेनीको शब्दमा चर्चित गायक पशुपति शर्मासँग गाएको देशभक्तिपूर्ण गीत जोगाउनु छ कालापानी बचाउनु छ सुस्ता चर्चामा रहेको छ। विदेशिन बाध्य नेपाली युवाको कथा व्यथा बोकेको यस गीतले राष्ट्रिय भावले ओतप्रोत विधाको कान्तिपुर म्युजिक अवार्ड, इपिक नेपाल म्युजिक अवार्ड, नेसनल बुस्टर अवार्ड र पावर न्युज म्युजिक अवार्ड जितेको छ।

उनको पहिलो अवार्ड भने विन्ध्यवासिनी म्युजिक अवार्ड हो। २०७३ सालमा गुन्द्री तानेर बोलको गीतबाट कलाले सर्वोत्कृष्ट लोक गायिका विधाको अवार्ड चुमेकी थिइन्। स्याङ्जा जिल्लाको मालु टुनीबोट गाविसमा बाबु यज्ञराज र आमा ज्ञानकला बस्यालकी कान्छी छोरीका रूपमा जन्मिएकी कलाले स्थानीय सार्वजनिक उच्च माध्यमिक विद्यालयबाट स्कुले शिक्षा पूरा गरेकी हुन्। ‘म सानोमा स्कुलमा हुने विभिन्न गायन प्रतियोगितामा भाग लिन्थें र फस्ट प्राइज जित्थें। स्कुल बाहिर हुने अन्य प्रतियोगितामा पनि म नै विजेता हुन्थें। जसले गर्दा मैले भाग लिने कार्यक्रममा अन्य साथी भाग लिन हिच्किचाउथे’, कलाले सम्झिइन्– ‘हामीले भाग लिए पनि आखिरमा जित्ने त कलाले नै हो भन्थे। बच्चैदेखि धेरै गीत गाउने भए पनि म गायिका नै बन्छु भन्ने लक्ष्यचाहिँ थिएन। तर स्कुलमा सर म्यामहरूले तिमी अन्य क्षेत्रमा नलाग्नू गायनमा लाग्दा राम्रो हुन्छ भन्नुहुन्थ्यो।’

एसएलसीपश्चात् कलाको दुर्गासँग विवाह भयो। विवाहपश्चात् गृहस्थीमै व्यस्त भएकाले कला औपचारिकरूपमा संगीतमा आउन सकिनन्। ‘जब छोराछोरी अलि ठूला भए, मैले आफ्नो बोले हुन्न र?, माया मारेर र रुन्न कहिले नि गरी तीन वटा गीत समावेश गरेर एल्बम निकालें। श्रीमान् दुर्गा पंगेनी र परिवारको सहयोग र हँैसलाका कारण म यो क्षेत्रमा अँएँ र अहिले यो स्थानमा छुु’, कला भन्छिन्– ‘अरू बिहेपछि गायनबाट हराउँछन्। मचाहिँ बिहेबारीपछि गायनमा आएँ।’

हाल मेला महोत्सवका स्टेज कार्यक्रममा व्यस्त रहेकी कला ठाउँअनुसारका दर्शक र रोजाइ हुने भएकाले दर्शकको मनस्थितिअनुसारका गीत संगीत प्रस्तुत गर्नुपर्ने बताउँछिन्। ‘कुनै ठाउँमा संगीत बज्नासाथ दर्शक रमाउने र नाच्ने गर्नुहुन्छ भने कुनै कुनै ठाउँमा दर्शकहरू रहर भए पनि नाच्न गाउन लाज मान्ने गर्नुहुन्छ। हामीले गीत गाउँदा पनि कहाँका दर्शक कस्तो गीत संगीतमा रमाउनुहुन्छ भन्ने बुझेर आफ्नो प्रस्तुति दिनुपर्ने हुन्छ’, कलाको ठम्याइ छ– ‘एउटा कलाकार स्टेजसम्म पुग्नु गाह्रो कुरा हो भने माइक समाएर दर्शकलाई खुसी पार्न सक्नु झन् गाह्रो कुरा हो। केही नयाँ कलाकार साथीले स्टेजमा आफ्नो गाउने पालो आएपछि मुटु ढुकढुक हुन्छ भन्नुहुन्छ। तर म भने सानैदेखि स्टेजमा गाइरहेका कारण दर्शकको अगाडि गएर गाउँदा डर र असहज महसुस भने भएन। लगानी गर्न सकियो भने एल्बम निकाल्नु ठूलो कुरा होइन। तर, स्टेजसम्म पुगेर दर्शकलाई मनोरञ्जन दिएर खुसी पार्न सक्नुचाहिँ ठूलो कुरा हो।’

गन्धर्व संगीत विद्यालयबाट संगीतको ज्ञान लिएकी कलाले करिब एक सयको हाराहारीका गीतमा स्वर दिएकी छिन्। कलालाई स्टेजको यात्रा तय गरिदिने गीत भने काले मोराले बोलको तीज गीत हो। त्यसो त हामी चेली, पच्चीस हजार, सादा जीवन उच्च विचार, तारा मै जस्तै होलाकी संसार, पापी घरैमा, चिटिक्कै मलाई सुहायोजस्ता तीज गीत उनका चर्चित तीज गीत हुन्।

त्यस्तै रोइला गीत टेक टेक अखोटे लौरो, म त पुरुष मान्छे, चुड्का भाकाको गुन्द्री तानेर तथा झ्याउरे गीत नदेखाउ है छायाँ, मनको दियो, मुहार हसिलोे, पन्चेबाजा गीत मन बिगार्ने रानी तथा शिरमा ढाका टोपी, जवानीको जोश, निष्ठुरीले मन फेरेउ नि, मगर भाषामा नमस्तेलाई झोर्ले जस्ता लोक दोहोरी गीतमार्फत उनी लोक पारखीको मनमा बस्न सफल भएकी छिन्। त्यस्तै उनको पछिल्लो पटक गाएको डान्सिङ नम्बर आगो बालिदिने पनि चर्चामा छ। आफूले अधिकांश गीत पति दुर्गा पंगेनीको शब्दमा गाएको कलाले बताइन्।

हरिदेवी कोइराला तथा पुरुषोत्तम न्यौपानेका गीत सुन्दा आफूमा गीत संगीतप्रतिको मोह बढ्दै गएको कला बताउँछिन्। ‘हरिदेवी कोइराला दिदी र पुरुषोत्तम दाइका गीत एकदमै सुन्थें। सायद उहाँहरूकै गीत सुनेर होला कलाकार बन्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाहीं लाग्थ्यो। हरिदेवी दिदीले धेरै विरहका गीत गाउनुहुन्थ्यो। जुन पछिल्लो समयमा निकै काम सुन्न पाइन्छ’ –कलाले भनिन्।

बाटोमा हिँडिरहँदा आफूले गाइरहेका गीत सुन्दा निकै खुसी लाग्ने बताउँछिन्। ‘गाउँघरमा छोरी गीत गाएर हिँड्दा बिग्रिन्छन् भन्ने चलन हुन्छ। तर, मेरो ममी बाबाको चाहना भने छोरीले गीत गाएर नै अगाडि बढोस् भन्ने हुन्थ्यो। गाउँमा माइकिङ गर्दै आज यी कलाकारको कार्यक्रम रहेको छ भन्दै हिँड्दा त्यसमा कलाकार कला पंगेनी भनेको सुन्दा निकै खुसी लाग्छ भन्नुहुन्छ आमा’ –उनले खुसी व्यक्त गरिन्। आफू गायन क्षेत्रमा लागेको समयदेखि हालसम्म यस क्षेत्रमा धेरै परिवर्तन आएको बताउँछिन् कला।

‘अहिले धेरै चेन्ज छ। पहिलेको त एक प्रतिशत पनि छैन। गीतका शब्दमा पनि फरकपन छ। पहिले लोक कलाकार भनेपछि दौरा सुरुवाल, गुन्यु चोली लगाएर हिँड्ने चलन थियो। तर, अहिले त्यो चलन हराइसकेको छ। कमाइको हिसाबले पनि पहिले एल्बम बिक्रीबाट कमाइ हुन्थ्यो भने अहिले युट्युब र मेला महोत्सवबाट कमाइ हुन्छ। ‘नेपाली भाषा एवं संस्कृति अतिक्रमणको चपेटामा परेको देख्दा निराश हुन्छु। तर, गीत संगीतको फेरिंदो स्वरूप र बढ्दो व्यावसायिकताले कलाकारलाई जीवनयापनमा सघाउँदै गएकामा भने मलाई खुसी लाग्छ’, कला भन्छिन्– ‘जसरी मैले हरिदेवी दिदीलाई सझिन्छु, त्यसै गरी हाम्रा गीत पनि पछिका पुस्ताले सम्झने खालका होऊन्। दुई दिनका लागि हिट हुनलाई अनावश्यक शब्द प्रयोग गरेर भिडियोमा खेल्दा एक महिना हिट होइन्छ तर टिकाउ हुन्न, त्यस्तो नगरौं भन्छु।’

कलालाई स्टेजको यात्रा तय गरिदिने गीत भने काले मोराले बोलको तीज गीत हो। त्यसो त हामी चेली, पच्चीस हजार, सादा जीवन उच्च विचार, तारा मै जस्तै होलाकी संसार, पापी घरैमा, चिटिक्कै मलाई सुहायोजस्ता तीज गीत उनका चर्चित तीज गीत हुन्।

प्रतिक्रिया दिनुहोस्