समृद्धिको दिशामा कमजोर दौड



यतिखेर मुलुकमा स्थिर सरकार छ । सरकार स्थिर भएकाले बलियो पनि छ । स्थिर र बलियो सरकार हुँदा पनि राजनीतिक गतिविधि तथा विकास निर्माण भने अस्थिर र अराजक ढंगले अगाडि बढिरहेको आभास भएको छ । मुलुकको शासकीय संरचना परिवर्तन भयो तर यति शक्तिशाली सरकार सम्हालेका नेतृत्व वर्गको सोच, चरित्र र क्षमतामा परिवर्तन हुन सकेन ।

सरकारले गरेका प्रायः क्रियाकलापले नेतृत्वको आलोचना भइरहेको अवस्था छ । जताततै भ्रष्टाचार र कमिसनखोरी मौलाएको छ । राष्ट्रिय ढुकुटीमाथि ब्रह्मलुट भएको छ । कामका लागि प्रतिदिन १५ सय युवा बाहिरिँदा सरकार मुकदर्शक भएर बसेको छ । युवाशक्तिलाई रोकेर स्वदेशमा नै रोजगारीका अवसर सृजना गर्ने सरकारले योजना बनाउन सकेको छैन ।

स्थिर र बलियो सरकार हुँदा पनि यसले मुलुकलाई समृद्धिको दिशातिर अगाडि बढाउन सकेन । यसको लागि खाका कोर्न पनि सकेको देखिँदैन । स्थिर र बलियो भनिएको सरकारले दिन–प्रतिदिन अवसर गुमाइरहेको छ । किनिकि अहिलेको मुलुकको शासन प्रणाली, सरकार र शासकीय संरचनासमेत विकास निर्माण एवम् समृद्धिका लागि उपयुक्त अवसरको रुपमा रहेको छ । राष्ट्रपतीय प्रणाली, संसदीय पद्धति, संघीय र गणतान्त्रिक शासन व्यवस्थासँगै कम्युनिस्टको दुई तिहाइको सरकार भएको अवसरमा पनि मुलुकले समृद्धि पाएन भने यो भन्दा ठूलो आशा गर्ने ठाउँ रहन्न ।

विगतलाई हेर्दा माओवादी जनयुद्धका कारण नेपालमा ठूलै संकट आइप¥यो । माओवादी सहमतिमा आएर निर्वाचन भए पनि समयमै संविधान बन्न नसक्दा झनै अन्योल सृजना भएको थियो । त्यसै बेला आएको भूकम्पले झनै संकट निम्त्यायो । भूकम्पले निम्त्याएको संकटको सामना गर्न नपाउँदै भारतले गरेको नाकाबन्दीले यहाँ झन् संकटमाथि संकट आइलाग्यो । क्रमशः आइपरेका यस्ता संकटलाई पार लगाउँदै हामी अहिलेको अवस्थामा आइसकेका छौं ।

यस अवस्थामा आइपुग्दा मुलुकले स्थिर र बलियो सरकार पाएको छ । तर जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । बलियो छ भन्दैमा सरकारले आफ्नो दुनो सोझ्याउनपट्टि मात्र लाग्नुहुँदैन । सरकारले गलत गर्नेलाई कारबाही र सही गर्नेलाई प्रोत्साहन गर्न सक्नुपर्छ । सबैतिरबाट अब विकासका लागि ढोकाहरु खुलिसकेका छन् । विगतका संकटहरुले चेतना जागिसकेको छ ।

अब ती खुलेका ढोकाभित्र पसी विकासको मूल फुटाउन मात्र बाँकी छ । संविधान बनेर प्रायः कार्यान्वयनमा समेत आइसकेकाले यो अवसरको सदुपयोग गरियोस् । सरकार समृद्धिको दिशातिर तीव्रगतिमा दौडियोस् ।

प्रतिक्रिया दिनुहोस्