खेलमा एक वर्षमा भएका उपलब्धिहरु



फिरोज राजोपाध्याय
युवा तथा खेलकुद मन्त्रालयले गत वर्ष चैतदेखि हालसम्म गरी १ वर्षमा खेलकुदमा गरिएका कार्यहरु सार्वजनिक गरेको छ । यही साता भएको उपलब्धिहरुको विवरण मन्त्रालयले पत्रकार सम्मेलन गरी पेश ग¥यो । खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले कतिपय कानुन जटिलता, सिमीत श्रोत, साधन, दक्ष जनशक्तिको अभाव बावजुद वर्तमान सरकारले खेलकुद क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएकोे दावी गर्नुभयो ।

मन्त्री विश्कर्माले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको खेल परिसर, सातैवटा प्रदेशमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरका रंगशाला, प्रत्येक स्थानीय तहमा खेलग्राम निर्माण गर्नुका साथै भुकम्पबाट क्षतिग्रस्त दशरथ रंगशाला एवं अन्य रंगशालाको तीब्र पुनःनिर्माण भइरहेको जानकारी गराउनुभयो । १ वर्ष खेलकुदमा भएका प्रमुख उपलब्धिको विवरण यसप्रकारको रहेको छ ।

भौतिक पूर्वाधारः
—काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आगामी २ वर्ष भित्र सम्पन्न गरिने लक्ष्य ।
—प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण कार्य शुरु ।
—काठमाडौंको दशरथ रंगशालाको पुननिर्माण कार्य ८० प्रतिशत पुरा भएको ।
—चालू आ.ब. मा देशका विभिन्न स्थानमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्य भइरहेको ।
— अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर निर्माणको लागि भक्तपुरमा १०००–१५०० रोपनी जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको ।
—१३औं सागका लागि सातदोबाटोस्थित कराँते र तेक्वान्दोको आधुनिक कभर्ड हल निर्माण कार्य सम्पन्न ।
—पोखराको बहुउद्देश्यीय कभर्डहल, आर्चरी, ह्यान्डबल कोर्ट निर्माण कार्य सम्पन्न ।

प्रतियोेगिता, प्रशिक्षण र प्रोत्साहन
—अन्तर्राष्ट्रियस्तरका ३ वटा प्रतियोगिता र राष्ट्रिय स्तराका विभिन्न प्रतियोगिता आयोजना भएको ।
—सबै जिल्लाहरुमा गरी १५ हजार खेलाडीलाई प्रशिक्षण प्रदान गरिएको ।
—१ सय जना खेलाडीलाई वैदेशिक प्रशिक्षक प्रदान गरिएको ।
—ओलम्पिक गेम्समा सहभागि ५९ जना खेलाडीलाई जनही मासिक भत्ता ३ हजार उपलब्ध गराएको ।
— एसियन गेम्समा पदक प्राप्त गर्ने १२ खेलाडीलाई तथा सागमा स्वर्ण विजेता ८५ जना खेलाडीलाई जनही ५ हजारका दरले मासिक भत्ता उपलब्ध गराएको ।
—खेलाडीहरुलाई सामाजिक सुरक्षाका लागि बीमाको व्यवस्था गरिएको ।
—फुटबल, कराँते, जिमन्यास्टिक, मोडर्न पेन्टाथोलनको विवाद समाधान गरेको ।
—युएईमा ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका १६ खेलाडीलाई जनही ५ लाख नगद पुरस्कार प्रदान गरिएको ।
—फुटबलका २० जना खेलाडीलाई जनही ३ लाख प्रदान गरिएको ।
—इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा रजत पदक प्राप्त गर्ने पाराग्लाइडिङको पुरुष टोलीका ५ खेलाडीलाई जनही ५÷५ लाख दिइएको ।
—पाराग्लाइडिङ संघलाई ५ लाख र प्रमुख प्रशिक्षकलाई ३ लाख तथा सहायक प्रशिक्षकलाई १ लाख ५० हजार नगद दिइएको ।
—विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई ५ लाख नगद पुरस्कार दिइएइको ।

प्रतिक्रिया दिनुहोस्