२५ वर्षपछि काभ्रे गोल्डकपः ट्राईब्रेकरमा आयोजक टिम विजयी



मोतीराम तिमल्सिना, काभ्रे ।
जिल्लामा २५ वर्ष पछि आयोजना गरिएको काभ्रे गोल्डकप विहिबारबाट धुलिखेलमा शुरु भएको छ । गोल्डकपको उद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेल खेल आयोजक काभ्रे जिल्ला फुटबल संघ र ए डिभिजनको फ्रेण्डस क्लव बीच भएको थियो । निर्धारित समयको ९० मिनेटमा दुबै टिमले २–२ गोल गरेका थिए । ट्राईब्रेकरमा आयोजक काभ्रे जिल्ला फुटबल संघले ३ गोल ग¥यो भने फ्रेन्डस क्लवको शुन्य गोल भयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले धुलिखेलको खेल मैदानको पूर्वाधार निर्माणका लागि डिपिआर तयार गरिएको बताए ।

पूर्वाधार निर्माणसँगै खेल मैदानलाई ब्यवस्थित बनाउन एन्फा तथा अन्य संघ संस्थासँगको समन्वयमा काम भईरहेको बताए । काभ्रे जिल्लाको एक मात्र राष्ट्रिय स्तरको खेल मैदान धुलिखेल मात्रै हो । २०५६ सालमा उनै ब्याञ्जु उपप्रमुख भएको बखत सिन्धुली बर्दिवास सडक निर्माणका क्रममा जापानिज सरकारले धुलिखेलमा खेल मैदान निर्माणका लागि सहयोग गरेको थियो । ब्याञ्जुकै संयोजकत्वमा निर्माण भएको खेल मैदानलाई विभिन्न क्षेत्रबाट सहयोग भएको थियो । ब्याञ्जुले नगरको खेलकुदको विकासका लागि मेयर कप, विद्यालय तथा कलेज स्तरीय प्रतियोगिताका साथै वडा स्तरीय खेल मैदान निर्माण, खेलाडीहरुको विमा, प्रशिक्षकहरु तयार गर्ने बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा एन्फाका उपाध्यक्ष विरबहादुर खड्काले धुलिखेलमा तालिम सेन्टर तथा खेल मैदान निर्माणका लागि सहयोग पु¥याउने बताए । फुटबल संघका बरिष्ठ उपाध्यक्ष निरोज श्रेष्ठ, उपाध्यक्ष महेश कर्माचार्य लगायतले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । अध्यक्ष विकास श्रेष्ठले प्रतियोगिताले जिल्लाको विकासका लागि थप सहयोग पुग्ने बताएका थिए ।

प्रतियोगितामा राष्ट्रिय स्तरका टिमहरु सहभागि भई ठुलो धनराशी खर्च गरेर फुटबलको आयोजना गरिएको छ । प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लब सहभागि भएका छन् भने आयोजक जिल्ला सहित छिमेकी जिल्ला फुटबल संघहरु समेत गरी १० टिम सहभागि भएका छन् ।

सहभागि क्लवहरुमा संकटा क्लव, नेपाल आर्मी क्लव, एपिएफ क्लव, जावालाखेल क्लव, फ्रेण्डस क्लव, प्ले फर अत्तरिया स्पोर्टस क्लव कैलाली सहभागि भएका छन् । त्यस्तै काभ्रे जिल्ला फुटबल संघ, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ समेत गरी १० वटा टिम सहभागि भएको प्रथम काभ्रे गोल्डकपका मुख्य संयोजक एवं काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष निरोज श्रेष्ठले बताए ।

फुटबलको माध्यमबाट जिल्लाको प्रचार प्रसार एवं प्रर्वद्धन गर्दै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्ने उदेश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए । प्रतियोगितामा विजयी हुने टिमले नगद ४ लाख रुपैया प्राप्त गर्नेछ भने दोश्रो हुनेलाई २ लाख रुपैया प्रदान गरिनेछ । प्रतियोगिता चैत्र १७ गतेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्