म्याद गुज्रिएको किटनासक औषधी बिक्री गर्ने उधोगी रिहा



कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जका उद्योगी श्यामकुमार तुल्स्यान ४ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत पर्साले माग दावी गरेको धरौटी रकम तिरेर तुल्स्यान छुटेका हुन् ।उनी कृषि प्रायोजनका लागि आवश्यक पर्ने किटनासक विषादी, भिटामिन, जैविक मल उत्पादन गर्ने किसान एग्रो केमिकल्स उद्योगका सञ्चालक हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको संयुक्त अनुगमन टोलीले २८ फागुनमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ छपकैयास्थित उद्योगको गोदाममा छापा मारेकोे थियो । त्यस क्रममा गोदाम भनिए पनि त्यही ठाउँबाट उद्योग चलाएको पाइएको थियो । साथै सार्वजनिक हित प्रतिकुल हुनेगरी गतिविधि सञ्चालन गरेको पाइएपछि प्रशासनले उनलाई नियन्त्रणमा लिएको थियो ।

हिरासतमै रहेको बेला मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि तुल्स्यानलाई उपचारका लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।प्रहरीले अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गराइ कारबाही प्रक्रिया अघि बढाएको थियो ।अनुसन्धानका लागि समय अपुग भएपछि अदालतमा पेश गर्दा दोस्रो पटक थप पाँच दिनको म्याद पाएको थियो ।पछिल्लो पटक थपिएको म्याद बाँकी रहँदै अनुसन्धान पूरा भएको दावी गर्दै प्रशासनले बुधबार तुल्स्यानलाई अदालतमा पेश गरेको थियो ।

अदालतले तुल्स्यानसँग ४ लाख धरौटी माग दावी गरेको थियो । धरौटी बुझाएर रिहा भएपछि पनि तुल्स्यान बुधबार राति वीरगन्ज हेल्थ केयरमा उपचारका लागि गएका थिए ।भारतको दिल्लीमा नियमित स्वास्थ्योपचार गराउँदै आएका उनलाई अस्पतालका चिकित्सकले थप उपचारका लागि उतै जान सुझाव दिएको अस्पताल स्रोतले जनाएको छ ।छापा मार्ने क्रममा उद्योगको गोदाममा म्याद गुज्रेको किटनाशक औषधिको पाउचमा मिति सच्याउने, अनुगमन टोलीले साइनबोर्ड नराखेको, नापतौलका प्रमाणपत्र फेला नपरेको, गोदामबाट समान बिक्री गर्ने गरिएको तर इजाजत नभएको, तयारी बस्तु तथा म्याद नाघेका बस्तु एकै ठाउँमा राखिएको र गोदाममा रिप्याकिङ गर्ने गरेको पाएपछि प्याकिङ गर्ने कोठा र गोदाममा टोलीले शिलबन्दी गरी आवश्यक अनुसन्धान शुरु गरेको थियो ।

वीरगन्ज महानगरपालिका २४ रामगढवामा किसान एग्रो केमिकल्स उद्योग सञ्चालनमा छ । २०५४ फागुन ५ गते घरेलु तथा साना उद्योग कार्यालय बारामा कृषि पैदावारमा लाग्ने विभिन्न किसिमका औषधि तथा जैविक मल उत्पादन गर्ने उदेश्यले ४६ लाख २० हजार ६ सय ६७ रुपैयाँको लागतमा उद्योग स्थापना गरिएको थियो ।

तर पछि त्यसलाई रामगढवामा सारिएको थियो ।उद्योगले २०५८ सालमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जसँग लिएको स्थायी लेखा नम्बर लिँदा प्याकिङ मेटोरियल सम्बन्धी कारोबार, कीटनाशक औषधि उत्पादन गर्ने भनी उल्लेख छ ।प्रशासनले उद्योगी तुल्स्यानमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर’ अन्र्तगत ‘सार्वजनिक हितविरुद्धको कसुर’को मुद्दा चलाएको छ ।मुलुकी अपराध संहिताको दफा १०९ मा झुक्यानमा पारी कुनै वस्तु बिक्री वितरण गर्न नहुनेः व्यवस्था छ ।

जसमा कसैले खाद्य पदार्थ बाहेक कमसल वस्तुलाई असल वस्तु हो भनी वा एक वस्तुलाई अर्को वस्तु हो भन्ने भान पारी वा कुनै वस्तुमा त्यस्तो वस्तुको गुणस्तर घट्ने गरी मिसावट गरी बिक्री गर्न वा कुनै वस्तुमा रहेको लेवल साट्न वा म्याद नाघेको वस्तु बिक्री गर्न पाइदैन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्